News Portal

वर्डभिजन इन्टरनेशनलले जुम्लाका ४ सय २० नागरिकलाई खाद्यन्न वितरण

५०६ पटक

वर्डभिजन इन्टरनेशनलले जुम्लाका तिन वटा स्थानीय तहका ४ सय २० जना नागरिकलाई खाद्यन्न वितरण गरिएको छ । आर्थिक रुपमा कमजोर भएका नागरिकलाई खाद्यन्न राहत वितरण गरिएको हो । तिला तातोपानी, गुठीचौर, पातारासी गाउँपालिका र चन्दननाथ गाउँपालिकाका ४ सय २० जना घरपरिवारलाई खाद्य सामाग्री सहितको राहत वितरण गरिएको छ ।

वर्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किडार्क) नेपाल जुम्लाको साझेदारीमा संचालित कभर–२ आयोजनाले कोभिड–१९ को संक्रमणबाट प्रभावित घरधुरीका सदस्यहरुलाई खाद्यन्न वितरण गरिएको किर्डाक नेपाल जुम्ला जिल्ला संयोजक रेशमवहादुर शाहीले जानकारी दिएका छन् । कोरोना संक्रमणको प्रभावले प्रभावित तथा ज्याला मजदुरीको कामबाट प्रभावित घरपरिवारलाई खाद्यन्न वितरण गरिएको संयोजक शाहीले जानकारी दिए ।

नेपाल सरकारको मापदण्ड अनुसार राहतको प्याकेज वितरण गरिएको संयोजक शाहीको भनाई रहेको छ । प्रतिपरिवारलाई ३० किलो सोना मन्सुली मसिनो चामल, ३ किलो दाल, २ किलो चिनी, २ लिटर तेल, २ किलो नुन र ४ वटा साबुन वितरण गरिएको शाहीले बताए ।

प्रतिव्यक्ति ३ हजार २ सय ८७ रुपैया ५६ पैसा बराबरको खाद्य सामाग्री सहितको राहत वितरण गरिएको छ । ४ सय २० घरपरिवारलाई १३ लाख ८० हजार ८१३ रुपैया बराबरको खाद्य सामाग्री सहितको राहत वितरण गरिएको किर्डाक नेपाल जुम्लाका फिल्ड कार्यक्रम प्रबन्धक भेष बहादुर रावलले बताए ।

किडार्क नेपाल जुम्लाले वर्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा जुम्लाका नागरिकको जीविकोपार्जनमा सहयोग गर्दै आएको छ । कोरोना प्रभावित घरधुरीको व्यवसाय पुर्नस्थापनाको लागि, कृषि पेशालाइ प्रवद्र्धन गर्दै आएको परियोजनाले जिविकोपार्जनको लागी राहत सामाग्री तथा खाद्यन्न वितरणमा झण्डै ४ करोड खर्च गरिसकेको छ ।

वर्डभिजन इन्टरनेशनल नेपाल र किडार्क नेपालको साझेदारीमा संचालित क्रियाकलाप तथा राहत वितरणको कार्यक्रम निरन्तर चलिरहने जिल्ला संयोजक शाहीले जानकारी दिएका छन ।

प्रतिकृया दिनुहोस्