Hamro Sanchar

बडालेक बिमानस्थल र भेरी नगर सभाको छोटो चर्चा

दीपबहादुर घर्ती प्रकाशित : २०७८/३/२३ गते
जाजरकोट

यही असार १० र ११ गते भेरी नगरपालिकाको नवौं नगरसभा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको नवौं नगरसभाले केही नविनतम नीतिगत निर्णयहरु पास गरेको छ । सभाले आगामी आर्थिक बर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम र बजेटलाई एकमतका साथ पास गरेको छ । नवौं नगर सभाले पास गरेका सबै नीति तथा कार्यक्रम र बजेट बहुँमत र अल्पमतका आधारमा नभएर सर्वसहमतबाट पास गरिएको नीति तथा कार्यक्रम र बजेट हो । नवौं नगरसभा सम्पन्न भएको हप्ता दिन बित्न नपाउदै सर्बसहमतले पास भएको नगरपालिकाको नीति तथा कार्यक्रम र बजेटका बिषयमा गरिएका सतही टिक्का टिप्पनी र अस्वस्थ बहसलाई स्वस्थ, मैत्रीपूर्ण र सहज बनाउन यो लेखलाई केन्द्रित गरिएको छ ।

कृषि रोजगार प्रवद्र्धन, पशुपन्छी विकास, सहकारी, युवा शिक्षा तथा खेलकुद विकास, महिला बालबालिका तथा जेष्ठ नागरिक, पुर्वाधार विकास, खानेपानी तथा सरसफाई, सिंचाई तथा नदी नियन्त्रण, शहरी पूर्वाधार, संस्थागत विकास तथा सुशासन जस्ता बिषयगत क्षेत्रमा जोड दिएको सम्पन्न नगरसभाले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको छ । विश्वव्यापी कोरोना भाईरसको संक्रमणलाई रोकथाम, नियन्त्रण तथा उपचारमा जोड दिएको नगरसभाले जनस्वास्थ्य सुरक्षा सामाग्री, परिक्षण तथा उपचार स्वास्थ्य सामाग्री र औषधि खरिद तथा व्यवस्थापनको लागि प्रयाप्त बजेटको व्यवस्था गरिएको छ ।

भेरी नगरपालिका–७ स्याली बजारमा १५ शैयाको नगर अस्पताल स्थापना गर्नुको साथै नगर सभाले पास गरेको बिनियोजन ऐनले पूर्वाधार निर्माणको लागि ५० लाख बजेट बिनियोजन गरेको छ । खलंगामा आँखा अस्पतालको भवन निर्माणका लागि १५ लाख बजेट बिनियोजन गरिएको छ ।

भेरी नगरपालिका–७ स्याली बजारमा १५ शैयाको नगर अस्पताल स्थापना गर्नुको साथै नगर सभाले पास गरेको बिनियोजन ऐनले पूर्वाधार निर्माणको लागि ५० लाख बजेट बिनियोजन गरेको छ । खलंगामा आँखा अस्पतालको भवन निर्माणका लागि १५ लाख बजेट बिनियोजन गरिएको छ । बिगतका बर्षहरुमा झै आगामी बर्षका लागि पनि “बालबालिकासंग मेयर कार्यक्रम” र “महिलासंग उपमेयर कार्यक्रम” लाई निरन्तरता दिने नीति पास गरेको नगरसभाले रणनैतिक महत्वको हवाई यातायातलाई सुलभ बनाउन नेपाल सरकारसंगको समन्वय तथा सहकार्यमा भेनपा–१ को बडालेकमा एयरर्पोट निर्माणको कामलाई अगाडी बढाउने नीति पास गरेको छ । बडालेक एयरपोर्ट निर्माण गर्ने नीति कुनै मत विभाजन भएर नभई एकमतले पास भएको नीति हो । बडालेक एयरपोर्ट निर्माणको बिषयमा अनेकौं बिरोध, टिक्काटिप्पनी, प्रतिक्रिया र चर्चाहरु भईरहेका छन् । बडालेक बिमानस्थल निर्माणको बिषयलाई लिएर कतिपय विद्वान, बौद्धिक जगतको नाँभी चुडिएको होला जस्तोगरी खरो बिरोध गर्न थालेका छन् भने, आफुलाई सुरवीर ठानेका कतिपयले गलामा लागेको सुर्केपासो जस्तै सम्झेर बेतुकको आलोचना गर्ने मुर्खता गरिरहेका छन् ।

यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयसंगको समन्वय र सहकार्यमा हालसम्म नगर क्षेत्रभित्र संचालन अनुमति नदिएको ई–अटो रिक्सालाई संचालनमा ल्याउन नगर सभाले नीति पास गरेको छ । नवौं नगरसभाबाट पास भएको कोरोना संक्रमणको दोस्रो लहरलाई रोकथाम तथा नियन्त्रण गर्न सरकारले गरेको निषेधाज्ञाले प्रभावित भएका नगरपालिकाका सबै करदाताहरुलाई आगामी असोज मसान्त भित्रै कर बुझाउनेहरुलाई बार्षिक करमा १० प्रतिशत छुट गर्ने नीति पास भएको छ । त्यसको कुनै चर्चा हुन सकेको छैन् । बार्षिक १० प्रतिशत कर छुट पाउने नीतिको चर्चा परिचर्चा मात्र होईन् । नगरपालिकाका सबै करदाताहरुले खुशीयाली मनाउनु पर्ने हैन र ? हालसम्म नगर क्षेत्रभित्र संचालन अनुमति नपाएको ई–अटो रिक्सा संचालन गर्न पाउने नीतिको लगानीकर्ताहरुले तारिफ गर्नुपर्ने हैन र ?

बार्षिक १० प्रतिशत कर छुट पाउने नीतिको चर्चा परिचर्चा मात्र होईन् । नगरपालिकाका सबै करदाताहरुले खुशीयाली मनाउनु पर्ने हैन र ? हालसम्म नगर क्षेत्रभित्र संचालन अनुमति नपाएको ई–अटो रिक्सा संचालन गर्न पाउने नीतिको लगानीकर्ताहरुले तारिफ गर्नुपर्ने हैन र ?

बडालेक बिमानस्थलको बिषयलाई लिएर आलोचना गर्नमा समय खर्च गरिरहेकाहरुले नगरसभा सम्पन्न गर्नका लागि पुरा गर्नुपर्ने सात वटा चरणहरुको राम्रोसंग जानकारी लिन आबश्यक छ । नगरसभाका सात चरणमा के कस्तो भुमिका र काम गर्नुपर्छ भन्ने बिषयको जानकारीले पनि अहिले बजारमा सृजना भएका भ्रम र अन्यौलतालाई स्पष्ट गर्न मद्दत गर्ने यो पंतिकारको बुझाई रहेको छ । नगरसभाको पहिलो चरणमा संघ तथा प्रदेश सरकारबाट बित्तिय हस्तान्तरणको खाका एवं बजेट कार्यक्रम तर्जुमा मार्गदर्शन निर्माण गर्ने गरिन्छ । दोस्रो चरणमा बिषय (क्षेत्र) गत बजेट सिमा मार्गदर्शन तथा प्राथमिकिकरणका आधारहरु स्वीकृत गरी वडा स्तरमा पुर्याउने काम गरिन्छ । तेस्रो चरणमा बस्ती तथा टोल स्तरमा आयोजना तथा कार्यक्रम छनौट गरिन्छ । चौथो चरणमा वडा स्तरीय आयोजना तथा कार्यक्रमहरुको प्राथमिकिकरण गरिन्छ । पाँचौ चरणमा बजेट तथा कार्यक्रम तर्जुमा समितिले आयोजना तथा कार्यक्रम स्वीकृतिका लागि नगर कार्यपालिकामा सिफारिस गरिन्छ । छैटौं चरणमा नगर कार्यपालिकाको बैठकबाट बजेट तथा कार्यक्रम स्वीकृत गरिन्छ । सातौं चरणमा नगरसभाबाट बजेट, नीति तथा कार्यक्रम स्वीकृत गरिन्छ । उक्त सात चरणलाई पुरा गरेर नगरसभाले बडालेक बिमानस्थल निर्माणको नीति मात्र पास गरेको छ । नगर सभाबाट पास गरिएको नीति अनुरुप बडालेक बिमानस्थल निर्माण सम्बन्धि नत कुनै ठोस कार्यक्रम बनाएर बजेट बिनियोजन  गरिको छ । नत कहि कतै बन्दै गरेका योजनाहरुको बजेट कटौती गरेर बडालेक बिमानस्थल निर्माणमा खर्च गर्न सकिने नीति पास भएको छ ।

शैलीहिन तरिकाले गरिएको बिरोधले नगरसभाको तेस्रो चरणमा बस्ती तथा टोल स्तरमा छनौट गरिने आयोजना तथा कार्यक्रमको पद्धतिलाई अस्वीकार गर्नु हो । योजना तथा कार्यक्रम छनौटमा बस्ती तथा टोलबाट प्रतिनिधित्व गरेका प्रतिनीधिहरुले बडालेक बिमानस्थल निर्माणको बिषयलाई छनौटगरी सिफारिस गरिएको नीति तथा कार्यक्रमलाई नगरसभाले प्राथमिकरण गरेको हो । बडालेक बिमानस्थल निर्माणको बिषयलाई नगरपालिकाको सुन्य बजेटमा संघीय सरकारसंगको समन्वय र सहकार्यमा निर्माण कार्य अघि बढाउन सभाबाट पास भएको नीति तथा कार्यक्रमले जति कन्याए पनि चिलाई नमर्ने कसैका लागि काउँछो सावित किन भएको छ ? यसको अन्तरबस्तु आगामी दिनहरुले बताउदै जालान् ।

पर्यटन विकासको नारा जाजरकोटको राजनीतिमा लगाईने पहिलो नारा हो । मुन्दमुक्त भाषणको शब्दजाल भएको छ । हामी जाजरकोटीहरुले “सुनलाई सिरानीमा राखेर, नुनको खोजीमा भौतारिएका छौं ।”, औषधीजन्य बहँुमुल्य जडिवुटीहरु “जिराको भाऊमा बेचेर, हिराको भाउमा किनि रहेका छौं ।” भन्ने त गरिरहेका छौं । तर, पर्यटन बिकासमा ध्यान कसैले दिन सकेका छै्रनौं । पर्यटन बिकासको गुरुयोजना निर्माण, आयोजना बिस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) रिपोर्ट निर्माण, पूर्वाधार बिकास, कला र संस्कृतिको संरक्षण, सम्बद्र्धन र विकास जस्ता पर्यटन विकासका पक्षहरुमा हामीले जोड दिन सकिरहेका छैनौं ।

जाजरकोट पर्यटन विकासको प्रचुर सम्भावना बोकेको जिल्ला हो । जिल्लाका तमाम रमणिय पाटन क्षेत्रहरुमा झण्डै ५० भन्दा बढि प्रजातिका बहुमल्य जडिवुटीहरुले बाह्य पर्यटकहरुको आकर्षणलाई बढाउन सकिन्छ । विश्वकै दुलर्भ रेडपाण्डा, कस्तुरी, चितुवा लगाएतका वन्यजन्तु र सुनगिद्ध, चिरकालिज, जलेवा लगाएतका पन्छीले बाह्य पर्यटकहरुलाई लालाहित बनाउन सकिन्छ । विश्वकै उत्कृष्ट काईनाईट लगाएतका विभिन्न प्रजातिका बहुमुल्य रत्नपत्थर, फलाम खानी जस्ता बहँुमुल्य खनिजले जाजरकोटलाई पर्यटनको विश्व बजारमा पुर्याउन सकिन्छ । जिल्लाका विभिन्न ठाउँमा प्रसस्तै मात्रामा पाईने भीरमौरीको महले बाह्य पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ । झण्डै ६ किलो मिटर लम्बाई रहेको नलगाड हाईड्रोवारको जलशयले बाह्य पर्यटकहरुलाई मात्र नभएर आन्तरिक पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ । नलगाड हाईड्रोपारको जलशयले नेपालको चलचित्र उद्योगलाई आकर्षित गर्ने मात्र नभएर ठुलो योगदान गर्न सक्ने अनुमान गरिएको छ ।

पर्यटन बिकासका बिषयमा छलफल तथा बहस गर्दा हामीले कपिलबस्तुको लुम्बिनीलाई मुगुको रारा तालसंग जोड्न पर्यटन मार्गको सर्किटलाई जाजरकोट जिल्लाको मध्य भागबाट अगाडी बढाई रहेका छौं । जिल्लाको पश्चिम छेडाचौरदेखि पूर्व तल्लु बगरसम्मको दक्षिण भाग सबै छोएर गएको त्रिदेशिय राजमार्ग भेरी करिडोरबाट भारतको उत्तरप्रदेशमा रहेको केदारनाथ र मुक्तिनाथलाई डोल्पाको त्रिपुरासुन्दरी मन्दीर, शे–फोक्सुण्डो ताल, विश्वकै उच्च मानवबस्ती धो–ताक्सी र ‘कु’ गाउँसंग जोड्न खोजी रहेका छौं । पूर्वको चित्रेभन्ज्याङ्गदेखि पश्चिमको झुलाघाटसम्मको मध्यपहाडी लोकमार्गबाट जाजरकोटलाई सिङ्गो नेपालसंग जोड्न खोजी रहेका छौं ।

हामीले जाजरकोट दरबार, शिवालय मन्दीर, भेरेको मालिका मन्दीरलाई सुर्खेतको बुलबुले, काँक्रेबिहार, देउती बज्यै, दैलेखको श्रीस्थान, नाँगस्थान, पादुकाको ज्वाला, गरी, जुम्लाको चन्दननाथ, भैरवनाथ, सल्यानको खैराबाङ्गीमाई मन्दीरसंग जोड्ने कुरा गरिरहेका छौं । हामीले हाम्रो जिल्लाको नदैडाँव, ठाकुरजी जस्ता महत्वपूर्ण धामलाई रुकुमको कमल दह, स्यार्पुताल र सल्यानको कुपिण्डेतालसंग जोड्न खोजी रहेका छौं । हामीले जाजरकोटको कराईचुली हिमाललाई जुम्लाको कानजिरुवा, डोल्पाको मुकुट, रुकुमको सिस्ने हिमालसंग जोड्न खोजी रहेका छौं । हामीले रुकुमपूर्वको हुकाम, मैकोटको मगर समुदायको साँस्कृतिलाई जाजरकोटको सिल्पाचौर, चाल्ना हुदै जुनीसंग जोड्न खोजी रहेका छौं । भेरी नदीमा जलयात्राका माध्यामबाट आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न खोजी रहेका छौं ।

जिल्लाको प्रकृति र सँस्कृतिलाई पर्यटनको विश्व बजारमा पुर्याउन बडालेक बिमानस्थलले कसैलाई पनि कुनै हानी नोक्सान गर्ने छैन, मद्दत नै गर्ने छ । डोली बोकेर पैसा कमाउन मुक्तिनाथ र केदारनाथमा पुग्ने युवाहरुले यहि रोजगार पाउने छन् । बडालेक बिमानस्थलले जाजरकोटमा आउने बाह्य पर्यटकहरुलाई स्वभाविक रुपमा आकर्षित गर्ने छ । किन कि ? रुकुमपश्चिमको सल्या र चौरजहारी एयरपोर्टबाट गाडी चेढेर जाजरकोट पुग्नु पर्छ भन्ने सन्देश र जाजरकोटको बडालेकमै हवाईजहाज चढेर पुग्न सकिन्छ भन्ने सन्देशले बाह्य पर्यटकको बुझाईमा आकाश र पताल जतिकै फरक पार्नेछ ।

मनास्लु, अन्नपूर्ण, माछापुच्छे, धौलागिरी हिमालको मनोरम दृष्य अवलोकन गर्न सुरक्षित उडान भर्न सकिने बडालेक एयरपोर्ट हुनेछ । निर्माण कार्य सम्पन्न भएमा उक्त हिमालको दृष्य हेर्न आउने पर्यटकहरुका लागि बडालेक एयरपोर्ट उपयुक्त ट्रान्जिट एयरपोर्ट हुनेछ । जिल्लाको पर्यटन विकासका लागि बडालेकमा एयरपोर्ट मात्र हैन, रिम्नादेखि बडालेक केवुलकार संचालन गर्न आबश्यक छ ।

प्रतिकृया दिनुहोस्