News Portal

भेरीको पानी गाग्रीमा बोकेर खानुपर्ने बाध्यताबाट मुक्ती पाए भुरचौर बासीले

भुरचौरको लिप्ट खानेपानी आयोजना सम्पन्न गर्नलाई एक करोड भन्दा बढि बजेटको आबश्यकता

११६० पटक

भेरी नदीको पानी गाग्रीमा बोकेर खानुपर्ने बाध्यताबाट भुरचौर बासीले मुक्ती पाएका छन् । लिप्ट खानेपानी योजना सफल भएपछि भेरीको पानी गाग्रीमा बोकेर खानुपर्ने बाध्यताबाट भुरचौर बासीले मुक्ती पाएका हुन् ।

भेरी नगरपालिका–१० भुरचौरमा मानव बस्ती कति सालमा बसेको हो भन्ने कुरा त्यहाँको बुढापाका कसैलाई पनि जानकारी छैन् । ढाई सय घरधुरी रहेको भुरचौरका बासिन्दाहरुले बाह्रै महिना भेरी नदीको पानी गाग्रीमा बोकेर खाने गर्दथ्ये । तीन सय मिटर भन्दा टाडा उकालो र भीरालो दुरी पार गरेर भेरी नदीको पानी गाग्रीमा बोकेर खादै आएका भुरचौर बासी यतिवेला लिप्ट खानेपानी योजनाको सफल परीक्षण पछि खुशीले गदगद भएका छन् ।

कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको ६० लाख बजेटमा भेरी नदीको किनारबाट भुरचौरको टपमा खानेपानी पुर्याउन सफल भएको उपभोक्ता समितिका अध्यक्ष बीर बहादुर शाहीले जानकारी दिए । भेरी नदीको किनारबाट १९४ मिटर उचाईमा सोलार र विद्युतबाट चल्ने मल्टि पम्पिङ्ग सेटबाट पानी चढाउन सफल भएका छौं अध्यक्ष शाहीले भने–‘६५ एमएमको जिआई पाईपमा ४०० लम्बाई दुरीमा प्रति सेकेण्ड ५ लिटर क्षमता भएको पानी पुर्याउन सफल भएका छौं ।’

बाह्रै महिना भेरी नदीबाट गाग्रीमा बोकेर खाने गरेको पानीबाट मानव स्वास्थ्यमा लाग्ने झाडापखाला, रुघाखोकी लगाएतका रोगबाट बच्नुको साथै भुरचौरबासीले पानी बोक्नका लागि खर्चिने समयलाई उत्पादनशिल अन्य काममा लगानी गर्ने अध्यक्ष शाहीले भनाई राखे । यस बर्ष आएको ६० लाख बजेटबाट विद्युतको टासफर्म जडान गर्नुको साथै, जमिनको सतहदेखि १० मिटर गराई भएको ईनार निर्माण, वरिपरि तारजाली, जिआई पाईप खरिद तथा जडान गर्ने काम सम्पन्न भएको अध्यक्ष शाहीले बताए ।

पानी भर्न भेरी नदीमा पुगेका कयौंले ज्यान गुमाउनु परेको बताउदै स्थानीय कर्णबहादुर शाहीले लिप्ट खानेपानी योजना सफल हुनुले भुरचौर बासीले मुक्ती पाएको बताए । आज भन्दा दुई बर्ष पहिला भुरचौरका थेपो कामीका ८ बर्षिय छोरा पानी भर्न नदी पुगेका नरबहादुर नेपालीलाई भेरीले बगाएको शाहीले बताए । ४ बर्ष पहिला पानी भर्न नदीमा जादा १५ बर्षका कृष्ण खत्रीलाई भेरीले बगाएको थियो शाहीले भने, ६–७ बर्ष पहिले १२ बर्षका कर्ण बहादुर विकलाई नदीले बगाएको थियो ।

जिल्लाकै मैदानी तथा उत्पादनशिल जमिन रहेको भुरचौर खानेपानी र सिचाईको अभावमा सहि प्रयोगमा आउन नसकेमा खोपानी, सिंचाई तथा उर्जा विकास कार्यालय, जाजरकोट प्रमुख ज्वालाराज शाहीले दुःख व्यक्त गरेका छन् । पञ्चायतकाल देखि सुरु गरिएको भुरचौर सिंचाई आयोजनाले हालसम्म पूर्णता पाउन नसकेको बताउदै प्रमुख शाहीले तत्काल खानेपानी समस्यालाई समाधान गर्न बहुँबर्षिय आयोजनाको रुपमको भुरचौर लिप्ट खानेपानी योजना छनौट गरिएको प्रमख शाहीले बताए । उक्त खानेपानी योजनालाई सम्पन्न गर्न एक करोड भन्दा बढि बजेटको आबश्यकता रहेकोे प्रमुख शाहीले जानकारी दिएका छन् ।

भुरचौरको टपमा एक लाख लिटरको पानी टंकी निर्माण गर्नुको साथै २५० घरधुरीको घर–घरमा पाईप लाईन विस्तार गर्नुको साथै खानेपानी धारा निर्माण गर्ने काम अझै बाँकी रहेको कार्यालय प्रमुख शाहीले जानकारी दिएका छन् । उक्त आयोजनालाई दीगो बनाउनुको साथै उपभोक्ताहरुले नियमित रुपमा तिर्नुपर्ने विद्युत महसुललाई कम गर्न मर्मसम्मार कोषको आबश्यकता रहेको जानकारी दिदै कार्यालय प्रमुख शाहीले दुई वटा पम्पिङ्ग सेटको व्यवस्था गरिएको जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्