News Portal

भेरी नगरपालिकाका सबै विद्यालय आईतबार देखि खुल्ने

५७८ पटक

भेरी नगरपालिकाका सामुदायिक तथा संस्थागत सबै विद्यालयहरु आगामी आईतबार देखि खुल्ने भएका छन् । नगर शिक्षा समितिको बुधबार बसेको बैठकले गरेको निर्णय अनुसार आईतबार देखि नगरपालिकाका सबै विद्यालयहरु संचालन हुने भएका हुन् ।

विश्व व्यापी कोभिड–१९ को संक्रमण बढ्दै गएपछि गत बैशाख १८ गतेदेखि बन्द गरिएका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई आईतबार देखि संचालन गर्ने शिक्षा समितिले निर्णय गरेको नगर शिक्षा तथा खेलकुद शाखा प्रमुख अमृत बहादुर पुनले जानकारी दिएका छन् । कोरोना संक्रमणको दर घटदै गएपछि विद्यालय खुलाउने निर्णय गरिएको शाखा प्रमुख पुनको भनाई रहेको छ । आइतवार देखि भेरी नगरपालिका सवै विद्यालयहरुमा भौतिक उपस्थितिमा पठनपाठन संचालन गर्ने शिक्षा समितिले निर्णय गरेको छ ।

नगर शिक्षा समितिको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यालय संचालन सम्बन्धी कार्यढाँचा–२०७७ अनुसारको मापदण्ड तथा प्रक्रिया पालना गरि विद्यालय संचालन गर्ने निर्णय गरेको छ । कार्यढाँचामा सवै शिक्षक र विद्यार्थीहरुले अनिवार्य मास्क लगाउनु पर्ने, जोर विजोर प्रणाली अपनाएर भएपनि भौतिक दुरी कायम गर्नु पर्ने लगायतका प्रावधान राखिएको छ ।

पटक–पटक रोकिदै आएको कक्षा ११ र १२ को परीक्षा यही भदौ ३० गतेबाट संचालन हुने भएको छ । भदौ ३० देखि असोज ८ गतेसम्म कक्षा ११ र १२ को परिक्षा संचालन गरिने विद्यालयमा अन्य कक्षाको पठन पाठन भने प्रभावित हुने भएको छ । लामो समयपछि विद्यालय संचालन हुने भएपछि विद्यार्थी, अविभावकहरु खुशी भएका छन् ।

प्रतिकृया दिनुहोस्