News Portal

पहिलो पटक जाजरकोटको नलगाडमा कृषक समुहको साधारण सभा सम्पन्न

साधारण सभाले कार्यविधि पास गर्नुको साथै राममाया हमालको अध्यक्षतामा १९ सदस्य संचालक समिति चयन

९४६ पटक

नलगाड नगरपालिकामा जिल्लाकै पहिलो पटक कृषक समुहको साधारण सभा सम्पन्न भएको छ । नगरपालिका स्तरीय शहिद तथा घाईते परिवार उत्थान कृषक समुहको प्रथम साधारण सभा सनिबार सम्पन्न भएको हो ।

सहकारी र संस्थाहरुको नियमित रुपमा साधारण सभा हुने गरेको भएता पनि सनिबार नलगाडमा सम्पन्न भएको कृषक समुहको साधारण सभा जिल्लाकै पहिलो साधारण सभा हो । बिधी र नीतिमा रहेर दीर्घकालिन रुपमा शहिद तथा घाईते परिवार उत्थान कृषक समुहलाई संचालन गर्नको लागि समुहको साधारण सभा सम्पन्न गरिएको संचालक समितिकी अध्यक्ष राममाया शाही (हमाल) ले जानकारी दिईन् । घाईते÷अपाङ्ग, बेपत्ता र शहिद परिवारका सदस्यहरु मात्र रहेको शहिद तथा घाईते परिवार उत्थान कृषक समुहको भिन्न पहिचान दिन साधारणको आयोजना गरिएको अध्यक्ष शाहीले बताईन । शहिद, बेपत्ता तथा घाईते÷आपाङ्गहरुको योगदानबाटै नेपालमा राजनैतिक परिवर्तन सम्भव भएको बताउदै अध्यक्ष शाहीले शहिद, बेपत्ता तथा घाईते÷आपाङ्ग परिवारको व्यवस्थापन गर्ने जिम्मेवारी सरकारकै भएको भनाई राखेकी थिईन् ।

नेपालमा राजनैतिक परिवर्तन पश्चात शहिद, बेपत्ता तथा घाईते÷आपाङ्ग परिवारहरुसंग साक्षत्कार गर्न नपाएको बताउदै कर्णाली प्रदेश सभा सदस्य तथा साँसद कृष्ण शाहले आय आर्जनको लागि घुम्ती कोष स्थापना गर्न कर्णाली प्रदेश सरकारले समुहलाई बीऊ पूँजी दिएर शहिद, बेपत्ता तथा घाईते÷आपाङ्ग परिवारसंग एकाकार हुने अबसर प्रदान गरेको भनाई राखेकी थिईन् । घुम्ती कोषलाई समाजवादी मोडेलमा परिचालन गर्नु पर्ने भनाई राख्दै साधारण सभाको प्रमुख अथिति समेत रहेकी साँसद शाहले सस्तो व्याज दरमा रहेको घुम्ती कोषबाट लाभ हासिल गर्न सबैलाई आग्रह गरेकी थिईन् ।

अनुभव र ज्ञानको अभावमा केही व्यवहारिक कठिनाई भएता पनि समुहका माध्यामबाट आएको घुम्ती कोषलाई सुव्यवस्थित परिचालन गरेरे शहिद, बेपत्ता तथा घाईते÷आपाङ्ग परिवारमा रहेको गरिबी दरलाई घटाउनु कार्यक्रमको मुख्य लक्ष्य रहेको जिल्ला समन्वय समितिका प्रमुख मन बहादुर रावलले भनाई राखेका थिए । राजैतिक परिवर्तन भएता पनि देशमा अझै आर्थिक तथा सामाजिक परिवर्तन हुन बाँकी रहेको बताउदै जिल्ला समन्वय प्रमुख रावलले जनताले अनुभुती गर्ने गरी आर्थिक तथा सामाजिक परिवर्तन गर्न सरकार लागि परेको भनाई राखेका थिए ।

आर्थिक बिकासको महत्वपूर्ण क्षेत्र कृषि भएको बताउदै नलगाड नगरपालिकाका प्रमुख टेक बहादुर रावलले शहिद, बेपत्ता तथा घाईते÷आपाङ्ग परिवारका सदस्यहरुको आर्थिक समस्या समाधान गर्न प्रदेश सरकारले घुम्ती कोषको अबधारणा अगाडी सारेको बताए । उक्त घुम्ती कोषलाई स्पष्ट र पारदर्शी बनाउन स्पष्ट कार्यविधि निर्माण गर्नु पर्नेमा नगर प्रमुख रावलले जोड दिएका थिए ।

शहिद, बेपत्ता तथा घाईते÷आपाङ्ग परिवारको जिवीको पार्जनमा सहजता ल्याउन प्रदेश सरकारले घुम्ती कोष स्थापना गरेको नलगाड नगर उप–प्रमुख बालकुमारी बस्नेतले भनाई राखेका थिईन् । सरकारले अघि सारेको सरकारी, सहकारी र नीजि क्षेत्र गरी तीन खम्बे अर्थ नीतिले मात्र देशको अर्थतन्त्रमा सुधार ल्याउने विस्वास व्यक्त गर्दै उप–प्रमुख बस्नेतले कृषक समुहका रुपमा रहेको शहिद तथा घाईते परिवार उत्थान कृषक समुहलाई सहकारीमा विकास गर्नु पर्नेमा जोड दिएकी थिईन् ।

सहकारी र अन्य संघ÷संस्थाका थुप्रै नियमित साधारण सभाहरुमा आफु सहभागी भएको बताउदै जिल्ला कृषि विकास कार्यालयमा कार्यरत नाप्रास विरेन्द्र अधिकारीले कृषक समुहको साधारण सभामा पहिलो पटक सहभागी भएको बताए । घुम्ती कोष स्थापनाका लागि समुहको खातामा आएको रकमको बील भरपाईलाई सु–व्यवस्थित गर्न नाप्रास अधिकारीले जोड दिएका थिए ।

घुम्ती कोषमा आएका बजेटलाई उपयोग गर्दा घाईते÷अपाङ्ग व्यक्तिले घाँस काट्न नसक्ने बताउदै जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख जर बहादुर भर्कीले कोष संचालन कार्यविधिमा घाईते÷अपाङ्गको बिषयमा स्पष्ट उल्लेख गरिनु पर्ने बताएका थिए । घाईते÷अपाङ्गले भकारो देखि खेतबारीसम्म डोकोमा मल बोक्न नसक्ने बताउदै कार्यालय प्रमुख भर्कीले घाईते÷अपाङ्ग व्यक्तिले घुम्ती कोषबाट लिएको ऋणलाई लगानी गर्ने क्षेत्रहरु निर्धारण गरिनु पर्ने भनाई राखेका थिए ।

प्रथम साधारण सभाको उद्घाटन सत्रमा नेकपा एमालेका प्रतिनीधि सेर बहादुर नाथ, नेपाली कांग्रेसका प्रतिनीधि किशोर मल्ल, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य डम्बर रावत (नविन), नगर कमिटी अध्यक्ष गणेश सिंह (प्रवेश), शहिद तथा घाईते परिवार उत्थान कृषक समुहका सल्लाहाकार ईन्द्र प्रसाद शर्मा (प्रशान्त), नागरिक समाज जाजरकोट संयोजक राजेन्द्र विक्रम शाहले साधारण सभा सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

उक्त प्रथम साधारण सभाले शहिद तथा घाईते परिवार उत्थान कृषक समुह तथा घुम्ती कोष परिचालन कार्यविधि–२०७८ लाई थपघट तथा परिमार्जन सहित पास गर्नुको साथै राममाया शाही (हमाल) को अध्यक्षतामा १९ सदस्य संचालक समिति सर्वसहमत चयन गरेको सचिब गोकर्ण चन्दले जानकारी दिएका छन् । संचालक समितिको उपाध्यक्षमा टिकाराम रावल, सचिबमा गोकर्ण चन्द, सहसचिबमा सिता वली, कोषाध्यक्षमा मनबहादुर खड्का रहेका छन् । उक्त समितिको कार्यअबधि ३ बर्षको लागि हुने बताईको छ । बार्षिक साधारण सभाले बार्षिक आर्थिक कारोबारको लेखाजोखा गर्ने भएको छ भने, तराई बार्षिक साधारण सभाबाट समुहको संचालक समिति चययन गर्नुको साथै विभिन्न विनियम र कार्यविधिहरु पास गर्ने भएको छ ।

बिगत १० बर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन र प्रदेश आन्दोलनका क्रममा घाईते तथा अपाङ्ग भएका, बेपत्ता बनाईएका र शहिद परिवारहरुको आय आर्जनका लागि जिल्ला कृषि विकास कार्यालय मार्फत कर्णाली प्रदेश सरकारको भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले घुम्ती कोष स्थापना गर्न बीउ पूँजीका रुपमा नलगाड नगरपालिकामा ६२ लाख भन्दा बढि बजेट समुहको खातामा पोसपन गरेको कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले जानकारी दिएका छन् । रितपूर्वक समुहको सदस्य बनेका २०७ जना रहेको समुहको खातामा घुम्ती कोष स्थापना गर्न कार्यालयले ६२ लाख भन्दा बढि बजेट हालेको छ कार्यालय प्रमुख अधिकारीले भने–‘कार्यविधि अनुसार हामीले समुहको नाममा खाता खोलेर एक मुष्ट रकम हालेका छौं, ३५ जना भन्दा बढि सदस्य भएको समुहलाई सहकारीमा बदल्न सकिन्छ, उक्त समुहलाई सहकारीमा बदल्न सकेमा धेरै राम्रो हुन्छ भन्ने मैले ठानेको छु ।’

प्रतिकृया दिनुहोस्