News Portal

कुशेमा ६ हजार ४ सय बालबालिकालाई स्वःअध्ययन शैक्षिक सामाग्री बितरण

८१८ पटक

कुशे गाउँपालिकामा ६ हजार ४४४ जना बालबालिकालाई स्वः अध्ययन शैक्षिक सामाग्री वितरण गरिएको छ । बाल विकास केन्द्र देखि कक्षा–५ सम्म अध्ययनरत ६ हजार ४४४ जना बालबालिकालाई स्वः अध्ययन शैक्षिक सामाग्री वितरण गरिएको हो ।

कुशे गाउँपालिकाको पहलमा पहाडी क्षेत्र विकास अभियान र सेभ द चिल्ड्रेनको साझेदारीमा कुशे गाउँपालिकामा संचालित सहयात्रा र अबसर परियोजनाले बाल विकास केन्द्रदेखि कक्षा–५ सम्म अध्ययनरत ६ हजार ४४४ जना बालबालिकालाई स्वः अध्ययन शैक्षिक सामाग्री वितरण गरिएको कुशे गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख जनक बहादुर शाहले जानकारी दिएका छन् । विश्व व्यापी कोभिड–१९ को संक्रमणलाई रोकथाम, नियन्त्रण तथा उपचारमा सहजता पैदा गर्न गरिएको बन्दाबन्दीबाट पढाई प्रभावित बालबालिकाहरुको लागि वितरण गरिएको स्वः अध्ययन शैक्षिक सामाग्रीले शिक्षण सिकाईमा टेवा पुर्याउने शाखा प्रमुख शाहले विश्वास व्यक्त गरेका छन् ।

जुम्लाको सिमानासंग जोडिएको कुशे गाउँपालिकामा विद्युत, सञ्चार, ईन्टरनेटको अभाव रहेको बताउदै शाखा प्रमुख शाहले कोरोना भाईरसको संक्रमण फैलिए पश्चात शैक्षिक संस्थाहरु बन्द भएको बताए । शैक्षिक संस्थाहरु बन्द भएपछि बालबालिकाहरुले सहज रुपमा अध्ययन गर्न नपाएको बताउदै शाखा प्रमुख शाहले गाउँपालिका र परियोजनाको संयुक्त पहलमा स्वः अध्ययन शैक्षिक सामाग्री वितरण गरिएको बताए ।

लामो समयसम्म अध्ययन गर्नबाट प्रभावित भएका बालबालिकाहरुको लागि नेपाल सरकारले तय गरेको पाठ्यक्रममा आधारित स्वः अध्ययन अभ्यास पुस्तिकासंगै अन्य शैक्षिक सामाग्रीहरु वितरण गरिएको शाखा प्रमुख शाहले जानकारी दिए । वितरण गरिएका स्वःअध्ययन पुस्तिकाबाट ६ हजार ४४४ जना बालबालिकाहरुले आफ्नै घरमा बसेर शिक्षण सिकाई गरिरहेको शाहले बताए ।

वितरण गरिएका स्वःअध्ययन शैक्षिक सामाग्रीहरुको प्रभावकारी प्रयोग र बालबालिकाहरुको सिकाईलाई उन्नत बनाउन सम्बन्धित वडाका अध्यक्ष सहितका जनप्रतिनीधि, शिक्षक र गाउँपालिकाबाट निरन्तर रुपमा अनुगमन गरिने शाखा प्रमुख शाहको भनाई रहेको छ ।

गाउँपालिका भित्र रहेका सबै विद्यालयहरु हाल संचालन गर्ने निर्णय गरिएको भएतापनि वितरण गरिएका स्वः अध्ययन शैक्षिक सामाग्रीले बालबालिकाहरुलाई घरमा अध्ययन गर्ने बानीको विकास गराउने अबसर परियोजनाको कार्यक्रम संयोजक दिक्षा भाटले विश्वास व्यक्त गरेकी छन् ।

प्रतिकृया दिनुहोस्