News Portal

एमसिसीका विरुद्ध जाजरकोटमा नेकपा (एकीकृत समाजवादी) को विरोध प्रदर्शन

७२८ पटक

अमेरिकी सहयोग परियोजना (एमसीसी) का विरुद्ध नेकपा (एकीकृत समाजवादी) जाजरकोटले विरोध प्रदर्शन गरेको छ । जिल्ला सदरमुकाम खलंगामा नेकपा (एस) ले जनसंगठनहरु मार्फत आईतबार दिउसो बिरोध प्रदर्शन गरेको हो ।

अमेरिकाले एमसीसी संसदबाट अनुमोदन गर्न दबाब दिइरहेका बेला एकीकृत समाजवादीले आफु निकट मोर्चा र संगठनहरु मार्फत विरोध प्रदर्शन गरेको हो । जिल्ला सदरमुकाम खलंगामा दिउसो २ बजे पार्टी कार्यालयबाट सुरु गरिएको विरोध प्रदर्शन ठाँटी, गैरीखाली, जिल्ला समन्वय समितिको सभाहल हुदै ठाँटीमा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेकपा एकिकृत समाजवादी कर्णाली प्रदेश कमिटी सदस्य तथा जिल्ला उपाध्यक्ष कमान खड्काले एमसिसि सम्झौता राष्ट्रिय हितमा नभएको भनाई राखेका थिए । कुनै पनि हालतमा एमसिसी स्वीकार गर्न नसकिने बताउदै उपाध्यक्ष खड्काले सम्झौता लागू गराउन अमेरीकाले नेताहरुलाई धम्की दिएकोमा आपत्ति जनाएका थिए । अमेरिकी स्वार्थ पूरा गर्न नेपाली जनता तयार नभएको बताउदै खड्काले आफुहरु टाउकोमा कफन बाँधेर एमसिसी विरुद्धको आन्दोलनमा होमिएका तर्क गर्नुको साथै एमसिसीको अगाडी घुँडा नटेक्न नेताहरुलाई चेतावनी दिएका थिए ।

कार्यक्रममा समाजवादी निकट अनेरास्ववियू, युवा संघ नेपाल, अनेमसंघ (समाजवादी), नेपाल दलित मुक्ति संगठन, समाजवादी प्रेस संगठन नेपाल लगायतका भातृ संगठनका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । कोण सभालाई उपाध्यक्ष खड्का, कृषक महासंघका केन्द्रीय सदस्य प्रेम गौतम, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य भरत शर्मा, अनेरास्ववियू नेता प्रदिप खड्का लगाएतका नेताले सम्बोधन गरेका थिए ।

प्रतिकृया दिनुहोस्