News Portal

जीप दुर्घटनाबाट ज्यान गुमाउने १२ जनाप्रति श्रद्धान्जली व्यक्त गर्दै छेडागाडले निकाल्यो शोक वक्तव्य

छेडागाडमा एक दिन सार्वजनिक सेवा प्रवाह बन्द

१९४ पटक

सोमबारको जीप दुर्घटनामा परी ज्यान गुाउने १२ जनाप्रति छेडागाड नगरपालिकाले श्रद्धान्जली व्यक्त गरेको छ । मंगलबार एक शोक बक्तव्य जारी गर्दै नगरपालिकाले जीप दुर्घटनामा परी ज्यान गुमाउने १२ जनाप्रति श्रद्धान्जली अर्पण गरेको हो । दुखद घटनाबाट १२ जनाले ज्यान गुमाएको पीडाको क्षणमा नगरपालिकाले मंगलबार एक दिन सार्वजनिक सेवा प्रवाहलाई बन्द गर्ने घोषणा गरेको छ । नगरपालिका भित्र रहेका सम्पूर्ण सरकारी, नीजि तथा गैरसरकारी कार्यालयहरु मंगलबार बन्दगरी सेवा प्रवाहको कामलाई रोक्न शोक वक्तव्य मार्फत सबैलाई अनुरोध गरिएको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत गंग बहादुर रोकायद्धारा जारी गरिएको शोक वक्तव्यमा भनिएको छ–‘कहाली लाग्दो दुर्घटनाबाट अनाहकमा १२ जनाले ज्यान गुमाउनु परेको यस दुखद घटनाले छेडागाड नगरपालिकाको सम्पूर्ण परिवार स्तब्ध भएको छ । साथै यस दुखद दुर्घटनाबाट ज्यान गुमाउनु हुने सम्पूर्ण मृतआत्माहरुको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति गहिरो सम्वेदना प्रकट गर्दछौं ।’

छेडागाड नगरपालिका–४ र ५ को सिमाना स्थित भीरबाटीमा सोमबार कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको थियो । बिरामी बोकेर उपचारको लागि थलह स्थित नगर अस्पताल तर्फ जादै गर्दा उक्त जीप भीरबाटीमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा छेडागाड नगरपालिका–५ का जैकुरा वुढा, नैनसरा अधिकारी, राम बहादुर बुढा, निशा अधिकारी, दिपक अधिकारी, देवीसरा बुढा, अमर अधिकारी र जयमान अधिकारी रहेका छन भने, छेडागाड–६ का बीर बहादुर खत्री रहेका छन् । त्यसैगरी गाडी चालक दैलेख भगवतिमाई गाउँपालिका–२ का मान बहादुर रावत, सोही गाउँपालिका–३ का बीरेन्द्र केसी र अमर बहादुर खड्का सहित १२ जनाले उक्त दुर्घटनाबाट ज्यान गुमाउनेमा परेका छन् ।

प्रतिकृया दिनुहोस्