Hamro Sanchar

महोत्सवको तेस्रो दिन कुलेन्द्र र पूर्णकलाले तताए जाजरकोट

डिजिटल संचार संवाददाता प्रकाशित : २०७९/९/१३ गते
जाजरकोट

चौथो जाजरकोट महोत्सवको तेस्रो दिन चर्चित लोकप्रिय गायक कुलेन्द्र बिश्वकर्मा र पूर्णकला विसीले जाजरकोटलाई तताएका थिए । गायक विश्वकर्मा र गायिका विसीको कर्णप्रिय आवाजमा लोकप्रिय गीतहरु गायपछि जाजरकोट तातिएको थियो । गायक गायिकाको गीतलाई सुनेर दर्शकहरु महोत्सव मुल आयोजक समारोह समितिको स्टेजतर्फ झुमिएका थिए ।

गायक, गायिकाका गीतहरुमा आर्कषित युवा–युवति, महिला–पूरुषहरु स्टेज नजिक पुगेर छमछमी नाँचेका थिए । गायक, गायिकाको प्रस्तुतीले महोत्सवको रमाईलोपनलाई झल्काई रहेको थियो । चर्चित गायिका तथा कार्यक्रम प्रस्तोता शोभा त्रिपाटीको उद्घोषणले महोत्सवको साँस्कृतिक कार्यक्रममा नयाँ रौनक ल्याएको थियो । त्रिपाटी गायिका र कार्यक्रम संचालिका मात्र नभएर मोडेल र डान्सर पनि हुन् । कार्यक्रम संचालनसंगै उनले विच–विचमा डान्स पनि गर्ने गरेकि थिईन् ।

महोत्सवको तेस्रो दिन तथा साँस्कृतिक महोत्सवको दोस्रो दिन आज लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा, गायिका पूर्णकला विसीसंगै गायक शक्ति चन्द, गायिका शोभा अधिकारी, देवी थापा, जयबहादुर रावल लगाएतका कलाकारहरुले साँस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । “कर्णाली समृद्धिको आधार, पर्यटनको विकास र पूर्वाधार ।” भन्ने मुल नारा सहित आयोजना गरिएको महोत्सवको ‘कृषि उत्पादन व्यवसायिकरण, कला संसकृति, वातावरण संरक्षण र पर्यटन प्रवद्र्धन हाम्रो अभियान, आत्मनिर्भर, स्वाभिमानी, स्वच्छ, सुन्दर र समुन्नत जाजरकोटको निर्माण ।’ भन्ने सहायक नारा रहेको छ । ५ करोडको व्यापार प्रवद्र्धन गर्नुको साथै एक लाख भन्दा बढि दर्शकहरुलाई अबलोकन गराउने लक्ष्य राखेको चौथो जाजरकोट महोत्सव पुष १७ गतेसम्म संचालन गरिने उद्योग बाणिज्य संघ, जाजरकोटले जनाएको छ । महोत्सवको मुख्य दिन पुस १४ गते वा भोली चर्चित गायक रामजी खाँन, गायिका शान्तिश्री परियारको प्रस्तुती रहने महोत्सव मुल आयोजक समारोह समितिले जानकारी दिएको छ ।


Tagged
प्रतिकृया दिनुहोस्