News Portal

स्थानीय सरकार संचालन सम्बन्धि जाजरकोटमा अभिमुखीकरण सम्पन्न

२९६ पटक

जाजरकोटमा स्थानीय सरकार संचालन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँ तथा नगरपालिकाका अध्यक्ष÷उपाध्यक्ष, नगर प्रमुख÷उपप्रमुख र वडाअध्यक्षहरुको क्षमता विकासका लागि आयोजित अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भएको हो ।

कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अन्तरगत रहेको प्रदेश सुशासन केन्द्र र जिल्ला समन्वय समिति जाजरकोटद्धारा आयोजित अभिमुखीकरण कार्यक्रम दुई दिनसम्म संचालन गरिएको थियो । बुधबारदेखि सुरु गरिएको अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भएको थियो । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तरगत उक्त अभिमुखीकरण कार्यक्रम संचालन गरिएको थियो । वडाअध्यक्षहरुलाई केन्द्रित गरेर संचालन गरिएको अभिमुखीकरण कार्यक्रम जिल्ला सदरमुकाम खलंगा स्थित जिल्ला समन्वय समितिको सभा हलमा संचालन गरिएको थियो ।

अभिमुखीकरण कार्यक्रममा वडाअध्यक्षहरुले गर्ने सिफारिसहरु÷प्रमाणिकरण, अधिकार क्षेत्रका विषयमा प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेले सहजीकरण गरेका थिए । वडाअध्यक्षहरुले गर्ने ३५ प्रकारका सिफारिस, पञ्जीकाकरण व्यवस्थापनका विषयमा वडाअध्यक्षहरुले राखेका सबै जिज्ञासाहरुको सम्बोधन प्रजिअ न्यौपानेले गरेका थिए । स्थानीय तहको योजना तर्जुमा प्रकृया र स्थानीयतहको भुमिका, उपभोक्ता समिति र टोल विकास संस्था गठन तथा परिचालन, सामाजिक सुरक्षा भत्ता र व्यक्तिगत घटना दर्ता व्यवस्थापन, वडा कार्यालयको राजश्व व्यवस्थापन, विकासका अन्तरसम्बन्धित बिषयहरुको कार्यान्वयनमा वडा समितिको भुमिका, दर्ता, चलानी, पत्र ब्यबहार तथा फाईलिंग र जिन्सी व्यवस्थापन लगाएतको कार्यालय व्यवस्थापन सम्बन्धि वडाअध्यक्षहरुलाई जिल्ला समन्वय अधिकारी विष्णु प्रसाद जैसीले सहजीकरण गरेका थिए । बैठकको अबधारणा, बैठक व्यवस्थापन, निर्णय मस्यौदा, प्रतिवेदनको अर्थ, महत्व, विशेषता तथा वडाबाट पेश गरिने प्रतिवेदनका विषयमा वडाअध्यक्षहरुलाई जिल्ला समन्वय समिति सदस्य खडक विसीले सहजीकरण गरेका थिए । सर्जिमिन मुचुल्काको अबधारणा, सर्जिमिन मुचुल्का तयार गर्दा ध्यान दिनुपर्ने कुराहरुको विषयमा प्रहरी नायव उपरिक्षक सन्तोष रोकाले वडाअध्यक्षहरुलाई सहजीकरण गरेका थिए । स्थानीय तहको काम, कर्तव्य, अधिकार, वडा समिति र वडाअध्यक्षको काम, कर्तव्य, अधिकार, वडा सचिवको काम, कर्तव्य, अधिकार, सिफारिस सम्बन्धिको जानकारी, सार्वजनिक खरिद सम्बन्धि प्रदेश सुशासन केन्द्रमा कार्यरत शाखा अधिकृत युवराज न्यौपानेले वडाअध्यक्षहरुलाई सहजीकरण गरेका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख काली बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको अभिमुखीकरण कार्यक्रमको समापनमा प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपाने, जुनीचाँदे गाउँपालिकाका अध्यक्ष वेदबहादुर शाही, छेडागाड नगरपालिका उप–प्रमुख चन्द्रबहादुर थापा, भेरी नगरपालिकाका उप–प्रमुख सिता जैसीले आ–आफ्नो भनाई राखेका थिए । अभिमुखीकरण कार्यक्रमले वडाअध्यक्षहरुको क्षमता विकासमा कोशेढुङ्गा सावित हुने कार्यक्रम समापनको क्रममा जिल्ला समन्वय प्रमुख काली बहादुर खत्रीले भनाई राखेका थिए । औपचारिक कार्यक्रमको संचालन जिल्ला समन्वय समितिका सदस्य खडक विसीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्