Hamro Sanchar

तीन महिना पछि पुग्ने सर्कुलरबाट निर्देशित माओवादी कार्यकर्ता भर्चुअल लाइभबाट निर्देशित

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/५/१६ गते
जाजरकोट

जनयुद्ध कालमा तीन महिनापछि पुग्ने सर्कुलरबाट निर्देशित जाजरकोट जिल्लाका माओवादी कार्यकर्ता सनिबार भर्चुअल लाइभबाट निर्देशित भएका छन् । देशव्यापी “जनतासंग माओवादी–विशेष रुपान्तरण अभियान ।” को उद्घाटन कार्यक्रममा भर्चुअल लाइभबाट देशभरीका माओवादी कार्यकता निर्देशित भएका हुन् ।

अभियान उद्घाटन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले देशका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडाहरुमा कार्यरत कार्यकर्ताहरुलाई भुर्चअल लाइभबाट निर्देशन गरेका थिए । चन्द्रागिरी नगरपालिकाको वडा नं. २ बाट पार्टी अध्यक्ष प्रचण्डले भर्चुअल लाइभबाट देशभरीका कार्यकर्तालाई निर्देशन गरेका हुन् ।

तीन महिनासम्म संचालन गरिने “जनतासंग माओवादी–विशेष रुपान्तरण अभियान ।” ले जनसम्बन्धलाई सुदृढ गर्न केन्द्रित हुने अध्यक्ष प्रचण्डले बताएका थिए । अभियानले सामाजिक न्याय, सुशासन, विकास र समृद्धिको अभियानलाई जनतासंग जोड्न मद्दत गर्ने छ प्रचण्डले भनेका थिए–“यो अभियान धेरै परसम्म जानेछ, यो तीन महिने अभियान लगतै पार्टी विधान सभामा जानेछ, विधान सभा लगतै हामी पार्टीको विशेष महाधिबेशनको तयारीमा जानेछौं ।” यो अभियानले देश, राज्य र पार्टीलाई सुद्धिकरण गर्नेछ भन्ने मैले विश्वास गरेको छु, अध्यक्ष प्रचण्डले भनेका थिए ।

विगत जनयुद्ध कालमा तीन महिनापछि प्राप्त हुने सर्कुलरका माध्यामबाट प्रचण्डद्धारा निर्देशित हुदै आएका जाजरकोटका ७७ वटै वडाका कार्यकर्ताहरु सनिवार भर्चुअल लाइभबाट निर्देशित भएका छन् । तीन महिनापछि प्राप्त हुने सर्कुलरबाट निर्देशित भएर जुम्ला जिल्ला सदरमुकाम आक्रमणमा सहभागी हुन तयार हुने, देशका विभिन्न आक्रमण र भिडन्तहरुमा ज्यान गुमाउन तयार हुने जाजरकोटका कार्यकर्ताहरु भर्चुअल लाइभबाट निर्देशित भएपछि फेरी नयाँ रुपमा प्रस्तुत हुने नागरिक समाज जाजरकोट संयोजक राजेन्द्र विक्रम शाहको भनाई रहेको छ । तीन महिनापछि प्राप्त भएको सर्कुलरबाट निर्देशित जाजरकोटका माओवादी कार्यकर्ता चाखुरेको लेकमा हिऊमा पुरिएर कयौले ज्यान गुमाएको र कयौ कार्यकर्ता जुम्ला जिल्ला सदरमुकाम आक्रमणमा सहभागी भएको स्मरण गर्दै संयोजक शाहले भर्चुअल लाइभको माध्यामबाट पार्टी अध्यक्ष प्रचण्ड देशभरीका कार्यकर्तासंग जोडिन सफल हुनुले नयाँ आशा, विश्वास र भरोसा पलाएको बताए ।

जाजरकोट जिल्लाको भेरी नगरपालिका–१ को अभियान नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले उद्घाटन गरेका छन् । मन्त्री बस्नेतले पिपेमा रहेको बागेश्वरी आधारभुत विद्यालयकाे कम्पाउण्ड सरसफाई गर्नुको साथै वडा स्तरमा खटिएका अभियान टोली तथा पार्टी कार्यकर्तालाई सम्बोधन गरेर अभियान उद्घाटन गरेका छन् । त्यसैगरी वडा नं. २ को अभियान पार्टी केन्द्रिय सदस्य तथा जाजरकोट जिल्ला ईन्चार्ज बशन्त कुमार शर्माले बाहुनथानमा उद्घाटन गरेका छन् । पार्टी कार्यकर्ता र अभियान टोलीलाई सम्बोधन गरेर ईन्चार्ज शर्माले वडाको अभियान उद्घाटन गरेका हुन् । वडा नं. ३ र ४ को अभियान पार्टी स्थायी कमिटी सदस्य काली बहादुर मल्लले उद्घाटन गरेका छन् । पार्टी कार्यकर्ता र अभियान टोलीलाई सम्बोधन गरेर मल्लले वडाको अभियान उद्घाटन गरेका हुन् । छिप्रेनामा खानेपानी ट्याड्डी वरिपरी र गोरेटो बाटो सरसफाई तथा मर्मत गरेर वडाको अभियान उद्घाटन गरिएको भेरी नगरपालिकाको वडा नं. ५ का ईन्चार्ज आभाष सिंहले जानकारी दिएका छन् ।

त्यसैगरी विद्यालय कक्षा कोठा र घर आँगन सरसफाई गरेर अभियानको उद्घाटन गरिएको नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका उपाध्यक्ष तथा अभियान अवधिको लागि जुनीचाँदे गाउँपालिकाको ईन्चार्जको जिम्मेवारी समालेका ढकबीर रानाले जानकारी दिएका छन् । त्यसैगरी नलगाड नगरपालिका– ४ को अभियान (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा जाजरकोट जिल्ला संयोजक टेक बहादुर रावलले पार्टी कार्यकर्ता र अभियान टोलीलाई सम्बोधन गरेर उद्घाटन गरेका छन् । वडा नं. ८ मा शहिद परिवारलाई सम्मान गरेर वडाको अभियान उद्घाटन भएको पत्रकार हेमन्त केसीले जानकारी दिएका छन् ।

कुशे गाउँपालिकाको वडा नं. ३ मा बाजागाजा सहितको सभा गरेर वडा स्तरको अभियान उद्घाटन गरिएको पत्रकार दिपेन्द्र शर्माले जानकारी दिएका छन् । बारेकोट गाउँपालिकाको वडानं २ र ४ मा बाटो मर्मत गर्नुको साथै दरी खेल सहितको सभाको आयोजना गरेर अभियानको उद्घाटन गरिएको (माओवादी केन्द्र) को केन्द्रिय सदस्य तथा बारेकोट ईन्चार्ज काली चलाउनेले जानकारी दिएकी छन् ।

अहिलेसम्म प्राप्त जानकारी अनुसार जाजरकोटका ७७ वटै वटामा विभिन्न कार्यक्रमको आयोजना गरेर नेकपा (माओवादी केन्द्र) ले अभियान उद्घाटन गरेको छ ।


Tagged
प्रतिकृया दिनुहोस्