Hamro Sanchar

विभिन्न कार्यक्रमको आयोजना गरेर जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको दोस्रो बार्षिकोत्सव

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/१०/१२ गते
जाजरकोट

जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको दोस्रो बार्षिकोत्सव समारोह सम्पन्न भएको छ । दुई दिने समारोहमा भुकम्पपछि जाजरकोटी सम्पदाहरुको पुर्ननिर्माणमा हाम्रो दायित्व बिषयक बक्तित्वकला र डेउडागीत प्रतियोगिता, जाजरकोट दरबारको चित्रकला प्रतियोगिता, कृषि मेला, औद्योगिक प्रदर्शनी, मौलिक संस्कृतिक प्रस्तुती, सम्मान लगाएतका कार्यक्रमको आयोजना गरेर प्रतिष्ठानको दोस्रो बार्षिकोत्सव समारोह सम्पन्न भएको हो ।

संस्था दर्ता ऐन–२०३४ अनुसार जिल्ला प्रशासन कार्यालय, जाजरकोटमा दर्ता भएको दुई बर्ष पुरा भएको अबसरमा प्रतिष्ठानले दोस्रो बार्षिकोत्सव समारोहको आयोजना गरेको थियो । समग्र जिल्लाका सम्पदा संरक्षणमा योगदान गर्ने उदेश्य राखेर गठन तथा दर्ता गरिएको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको दोस्रो बार्षिकोत्सवमा कृषि विकास कार्यालय, जाजरकोटले कृषि मेला प्रदर्शनीको आयोजना गरेको थियो भने, उपभोक्ता हित संरक्षण कार्यालय, जाजरकोटले औद्योगिक प्रदर्शनी तथा प्रतियोगिताको आयोजना गरिएको थियो । कृषि तथा औद्योगिक प्रदर्शनी मेलामा फलफुल, कन्दमुल, तरकारी, मौरीको मह, नेपाली हाते कागज, अल्लोको धागोबाट बनाइएका विभिन्न कपडाहरु, सुइटर लगाएतका हातबाट बनाइएका विभिन्न सामाग्रीहरु प्रदर्शनी गरिएको थियो ।

प्रतिष्ठानको दोस्रो बार्षिकोत्सव समारोहमा आयोजित जाजरकोट दरबार सम्बन्धिको चित्रकला प्रतियोगिता र भुकम्पपछि जाजरकोटी सम्पदाहरुको पुर्ननिर्माणमा हाम्रो दायित्व बिषयक बक्तित्वकला प्रतियोगितामा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले भाग लिएका थिए भने, डेउडागीत प्रतियोगितामा स्थानीय महिला तथा पूरुषहरुले भाग लिएका थिए ।

कुशे गाउँपालिकाको खाँडो, नलगाड नगरपालिकाको ख्याली, शिवालय गाउँपालिकाको मारुनी, जुनीचाँदे गाउँपालिकाको डेउडा, बारेकोट गाउँपालिकाको लहरे पैसेरु, छेडागाड नगरपालिकाको मयुर नाँच प्रदर्शन गरिएको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको दोस्रो बार्षिकोत्सव समारोहका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य माया प्रसाद शर्मा रहेका थिए भने, विशेष अतिथि प्रमुख जिल्ला अधिकारी सुरेश सुनार रहेका थिए । अन्य अतिथिहरुमा लब्धप्रतिष्ठीत व्यक्तिहरु रहेका थिए । त्यसैगरी प्रतिष्ठानको बार्षिकोत्सव समारोहमा जाजरकोट जिल्लाकी अन्तराष्ट्रिय भलिवल खेलाडी कामना विष्ठलाइ जाजरकोटी तारा सम्मान गरिएको थियो । विष्ठलाइ दोसल्ला, माला र सम्मान पत्रसंगै नगद प्रदान गरेर सम्मान गरिएको थियो । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको दोस्रो बार्षिकोत्सव समारोहमा कर्णाली प्रदेश सरकार र जिल्लाका विभिन्न पालिकाले आर्थिक सहयोग गरेको बुझिएको छ ।


Tagged ,
प्रतिकृया दिनुहोस्