Hamro Sanchar

लागुऔषध दुव्र्यसन रोकथाम तथा नियन्त्रण गर्न भेरी नगरपालिका अविभावकसंग

प्रकाशित : २०८१/३/१ गते

जाजरकोट
भेरी नगरपालिका, जाजरकोटले लागुऔषध दुव्र्यसन रोकथाम तथा नियन्त्रण अभियान संचालन गरेको छ । लागुऔषध दुव्र्यसन रोकथाम तथा नियन्त्रण गर्न भेरी नगरपालिकाले अविभावकसंग पुग्ने कार्यक्रम तय गरेको छ । विद्यार्थीहरुको आचरण तथा व्यवहार परिक्षण गर्न भेरी नगरपालिकाले अविभावकसंग अनुशिक्षण कार्यक्रम संचालन गरेको छ ।

टिपीओ नेपालमा कार्यरत मनोसामाजिक विद् मनिसा थापा र काउन्सिलर शान्ति न्यौपानेको सहजीकरणमा बिहिबार भेरी नगरपालिका–७ स्यालीबजारमा अविभावकसंग अनुशिक्षण कार्यक्रम संचालन गरिएको थियो । उक्त अनुशिक्षण कार्यक्रममा सहजकर्ता मनिसा थापाले शाररिक तथा मानसिक सन्तुलनमा भिन्नता ल्याउने पदार्थलाइनै लागु पदार्थ भनिने बताएकी थिईन् । डाक्टरको परामर्शमा सेवन गर्नुलाइ लागुपदार्थको प्रयोग भनिने बताउदै सहजकर्ता थापाले डाक्टरको परामर्श बीना सेवन गर्नुलाइ लागु पदार्थको दुरुपयोग भनिने गरेको बताएकी थिईन् । लागुपदार्थ दुरुपयोगको मात्रा बढ्दै गएमा निर्भरता हुने बताउदै सहजकर्ता थापाले विश्व स्वास्थ्य संगठनले निर्भरतालाइ रोगका रुपमा परिभाषित गरेको बताएकी थिईन । सवल, सक्क्षम नागरिक बन्नाका लागि शारिरिक, मानसिक, सामाजिक र आध्यात्मिक रुपमा स्वस्थ हुनुपर्ने सहजकर्ता थापाले भनाइ राखेकी थिईन् ।

चार प्रकारका लागु पदार्थ हुने बताउदै सहजकर्ता थापाले लठ्ठ पार्ने लागुपदार्थमा रक्सि र ट्व्लेट (औषधि) पर्दछन् सहजकर्ता थापाले भनिन्–“भ्रम पैदा गर्ने लागुपदार्थमा गाँजा, चरेश र नसालु च्याउ पर्दछन् ।” हिरोइन, ब्राउनसुगर लगाएतका लागु पदार्थ रहेको जानकारी दिदै सहजकर्ता थापाले उत्तेजनामा ल्याउने लागुपदार्थमा चिया, कफि, चुरोट रहेको भनाई राखेकी थिइन ।

रक्सिले आत्मा र विवेकमा विभाजन ल्याउने बताउदै टीपिओ नेपालको काउन्सिलर शान्ति न्यौपानेले रक्सिले शरिरिको सन्तुलन गुम्ने, स्मरण शक्तिमा ह्रास आउने, दोधारमा पार्ने, चेतना हराउने, बौद्धिक क्षमता हराउदै जाने बताएकी थिईन् ।

स्वास गनाउने, घरपरिवार भन्दा टाढा बस्न रुचाउने, दैनिक काममा ध्यान नदिने, पढाइप्रतिको रुचीलाइ कम गर्ने, व्यक्तिगत सरसफाइमा ध्यान नदिने, शरिरिबाट अनौठो गन्ध आउने, खाना तथा निन्द्रामा परिवर्तन आउने, तौल घट्दै जाने, परिवारसंग अन्तरक्रिया गर्न नरुचाउने, घर भन्दा बाहिर वा घरभित्रै एकान्त कोठामा बस्न रुचाउने लगाएतका लक्षणहरु लागु पदार्थको कुलतमा फसेका बालबालिकाहरुमा देखापर्ने सहजकर्ता न्यौपानेले भनाई राखेकी थिइन् ।

लागु पदार्थको नियमित सेवनले मुटुको भल्वमा घाऊ बनाउने, विभिन्न प्रकारका सरुवा रोगहरुको संक्रमण हुने, आर्थिक, सामाजिक र पारिवारिक रुपमा विचलनआउने, क्यान्सर, उच्च रक्तचाप, यौन शक्तिमा कमि आउने, दिमागमा समस्या देखिने, पढाईमा असफल हुने लगाएका असरहरु रहेको सहजकर्ता न्यौपानेले भनाई राखेकी थिईन ।

दुई दर्जन भन्दा बढि विद्यार्थीहरुका अविभावकहरुसंग गरिएको अनुशिक्षण कार्यक्रममा विद्यालय शिक्षकहरु पनि सहभागि भएका थिए । वडा अध्यक्ष दिप बहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको अनुशिक्षण कार्यक्रममा नगर शिक्षा शाखामा कार्यरत स्रोत शिक्षक, नगर न्यायिक समितिका सदस्य गौरी बहादुर कार्की लगाएतका व्यक्तिहरुले भनाई राखेका थिए ।

लागुऔषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रण गर्न नगरपालिकाले युवा जागरण तथा परिचालन अभियान संचालन गरेको जानकारी दिदै वडा अध्यक्ष शाहीले आफ्नो वडामा १७ सदस्य दवाव समुह गठन गरिएको भनाई राखेका थिए । लागुऔषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रण सम्बन्धि नगरपालिकाले १४ वटा माध्यामिक विद्यालयमा सडक नाटकको आयोजना गरेको बताउदै वडाअध्यक्ष शाहीले स्कुल समुहका बालबालिकालाइ लागुऔषध दुव्र्यसनीबाट जोगाउन सबैले ध्यान दिनुपर्ने भनाई राखेका थिए ।


Tagged
प्रतिकृया दिनुहोस्