News Portal

शिक्षामा दलित बालबालिका पहुँच बिस्तार गर्न जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

१९४ पटक

जाजरकोट
दलित बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्न जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सदरमुकाम खलंगामा बिहिबार उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ केन्द्रिय कार्यालय काठमाडौं र Save the children को संयुक्त साझेदारीमा संचालित नेपाल छात्रवृत्ति कार्यक्रमले उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । जिल्लामा शिक्षाका क्षेत्रमा काम गर्ने विभिन्न निकाय तथा सरोकारवालाहरुसंग दलित बालबालिकाहरुको शिक्षामा पहुँच विस्तार गर्न नीतिगत ब्यवस्थापको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाको भुमिका विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो ।

उक्त अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्तीले NNDSWO ले विगत ११ वर्ष देखि दलित समुदायका बालबालिकाहरुको शैक्षिक उन्नयनको लागि गरेको कामको प्रशंसा गरेका थिए । आगामी दिनमा दलित बालबालिको शैक्षिक विकासमा NNDSWO संग नगरपालिकाले निरन्तर सहकार्य गर्ने नगरप्रमुख घर्तीले प्रतिवद्वता व्यक्त गरेका थिए । पाँच जना विपन्न हलिया बालबालिकाले उक्त छात्रवृत्ति कार्यक्रमबाट पढिरहेको बताउदै हलिया मुक्त समाजका अध्यक्ष डम्बर नेपालीले हलियाका बालबालिकाको कोटा थप्नु पर्ने माग गरेका थिए । शैक्षिक कार्यक्रमको अनुगमन बढाउनु पर्ने बताउदै सहभागीहरुले अभिभावक सचेतनाका गतिविधि संचालन गर्नुपर्ने, आयआर्जनको क्षेत्रमा पनि काम गर्नु पर्ने माग राखेका थिए ।

अन्तरक्रिया कार्यक्रमबाट जिल्लाका सबै बिद्यालयमा संयुक्त रूपमा अनुगमन गर्ने, बिद्यालय बाहिर रहेका बालबालिकाको एकिन तथ्याङ्क लिएर सबैका लागी शिक्षा भन्ने कुरालाई समन्वय र सहकार्य गरि दलित समुदायका बालबालिकाहरुको पहुँच अभिवृद्धि गर्ने साँझा निर्णय गरिएको संस्थाका जिल्ला कार्यक्रम अधिकृत कृष्ण तिरुवाले जानकारी दिए । नेपाल छात्रवृत्ति कार्यक्रमबाट जिल्लामा १२० जना बालबालिकालाई छात्रवृत्ति प्रदान गरिरहेको कार्यक्रम अधिकृत तिरुवाले बताए ।

संस्थाका जिल्ला सदस्य सुनिता सुनारको अध्यक्षतामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा भेरी नगरपालिका प्रमुख चन्द्र प्रकाश घर्ती, भेरी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष बसन्त प्रसाद शर्मा, कुशे गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष हरि बहादुर सिंह, भेरी नगरपालिकाका शिक्षा शाखा प्रमुख अमृत बहादुर पुन, Save the children का वरिष्ठ कार्यक्रम संयोजक अनन्त विक, गैरसरकारी सस्था महासंघका जिल्ला अध्यक्ष सहदेव बस्नेत, पहाडी क्षेत्र विकास अभियानका कार्यक्रम ब्यवस्थापक भीम बहादुर केसी, महिला अधिकार मञ्चका अध्यक्ष शोभा सिंह, जिल्ला हलिया मुक्त समाजका अध्यक्ष डम्बर बहादुर नेपाली, नेपाल शिक्षक महासंघका अध्यक्ष आशा कार्की लगायतका शिक्षाक्षेत्रमा काम गरिरहेका विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेकोे थियो ।

दलित युवा युवतीहरुको शैक्षिक अवस्था सुधार गर्ने मुख्य लक्ष्य लिएर दलित बालबालिकाहरुलाई लक्षित गरि संचालन गरिएको नेपाल छात्रवृत्ति कार्यक्रम नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जिल्ला शाखा जाजरकोटले विगत ११ वर्षदेखि जिल्लाका भेरी, नलगाड, छेडागाड नगरपालिका र कुशे गाउँपालिका गरी जम्मा ४ वटा स्थानीय तहमा कार्यक्रम संचालन गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्