News Portal

शेर बहादुर अधिकारीको अन्तिम श्रद्धान्जली पशुपती आर्यघाटमा

हिन्दु संस्कार अनुसार काजक्रिया नगरी शोक सभाको आयोजना

२५४६ पटक

लोक साहित्य सर्जक एवं गायक शेर बहादुर अधिकारीको अन्तिम श्रद्धान्जली बिहिबार पशुपती आर्यघाटमा गरिएको छ । कोभिड–१९ को संक्रमणबाट मृत्यु भएका अधिकारीको अन्तिम श्रद्धान्जली पशुपती आर्यघाटमा गरिएको हो ।

लोक साहित्य, सर्जक, गायक एवं शिक्षक अधिकारीको पशुपती आर्यघाटमा अन्तिम श्रद्धान्जली जाजरकोटी सेवा समाज काठमाडौंले गरेको थियो । उक्त श्रद्धान्जली सभामा प्रतिनीधि सभा सदस्य तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेत, राष्ट्रिय सभा सदस्य माया प्रसाद शर्मा, भैरव सुन्दर श्रेष्ठ, पूर्वमन्त्री तथा प्रतिनीधि सभा सदस्य सत्य पहाडी, पूर्व साँसद तथा नेकपा (एमाले) का केन्द्रिय सदस्य गोविन्द विक्रम शाह, नेकपा (एमाले) का केन्द्रिय सदस्य निरज आचार्य लगाएतका जिल्लाका नेता तथा सर्वसाधारणहरु सहभागी भएका थिए ।

बिलक्षण प्रतिभाका धनी अधिकारीको निधनले जाजरकोट जिल्लालाई अतुलनिय क्षेती भएको श्रद्धान्जली सभामा सहभागी नेताहरुले भनाई राखेका थिए । अधिकारीको निधनप्रति दुःख व्यक्त गर्दै नेताहरुले अन्तिम श्रद्धान्जली अर्पण गरेका थिए । सभामा अधिकारीका शोकाकुल परिवार र आफन्तजनप्रति नेताहरुले सम्बेदना व्यक्त गरेका थिए । अन्तिम श्रद्धान्जली सभाको संचालन जाजरकोटी सेवा समाज काठमाडौंका सदस्य टक बहादुर घर्ती (मुनाल) ले गरेका थिए । जाजरकोटी सेवा समाज काठमाडौंका सल्लाहाकार अधिकारीको अन्तिम श्रद्धान्जली सभामा छोरी सावित्री अधिकारी, शोभा अधिकारी, छोरा अर्जुन अधिकारी, महेश अधिकारी र हेमराज अधिकारी सहभागी भएका थिए ।

अन्तिम श्रद्धान्जली सभा पश्चात नेपाल शिक्षक महासंघ केन्द्रीय अर्थ उप–महाचिव अधिकारीको लासलाई पशुपती आर्यघाटमा दाहसंस्कार गरिएको थियो । प्रगशिल विचार राख्दै आएका अधिकारी भौतिकवादी दृष्टीकोणका प्राज्ञिक व्यक्तित्व हुन् । भौतिकवादी दृष्टीकोणमा बिश्वास राख्दै आएका अधिकारीका छोरा छोरीले हिन्दु परम्परा अनुसार कपाल फाल्ने, १३ दिनसम्म नुन नखाएर क्रिया नबस्ने निर्णय गरेका छन् । हाम्रो बुवाले कला, साहित्य र शिक्षालाई मात्र नभएर विचार र दृष्टीकोणलाई पनि उच्च प्राथमिकतामा राख्नु भएको थियो अधिकारीका छोरा महेश अधिकारीले भने–‘बुवाकै ईच्छा अनुसार हामीले बुवाको क्रिया नगर्ने निर्णय गरेका छौं, काज क्रिया गर्नमा लाग्ने खर्चलाई सारदा स्मृती सामाजिक उत्थान प्रतिष्ठानमा राखेर समाज सेवामा लगानी गर्ने छौं ।’ महेश अधिकारीले दिएको जानकारी अनुसार सारदा स्मृती सामाजिक उत्थान प्रतिष्ठानको आयोजनामा कार्की व्याङ्क्वेटमा सनिवार अधिकारीको शोक सभा तथा चियापान कार्यक्रमको आयोजना गरिएको छ ।

तीन हप्ता पहिला कोभिड–१९ संक्रमित अधिकारीलाई सिभिल अस्पतालमा उपचार गरिएको थियो । उपचारकै क्रममा सिभिल अस्पतालमै अधिकारीको बुधबार राती मृत्यु भएको थियो । जाजरकोटको छेडागाड नगरपालिका–९ पजारुका मानसिंह अधिकारीका सुपुत्र शेर बहादुर अधिकारीको जन्म २०१८ साल माघ १५ गते भएको थियो । उनको जीवन संगिनी सारदा शाही (अधिकारी) क्यान्सर रोगले विगत चार बर्ष पहिला मृत्यु भैसकेको थियो । पहिले देखि शिक्षण पेशाा गर्दै आएका अधिकारी २०६३ सालमा मावि स्थायी शिक्षक भएर बिरेन्द्र मावि जुङ्गाथापाचौरमा पोष्टिङ्ग भएका थिए । छेडागाड नगरपालिका–३ दशेरामा रहेको ज्ञानकुञ्ज क्याम्पसको संस्थापक प्रमुख अधिकारी अखिल नेपाल शिक्षक संगठन, जाजरकोटका पुर्व अध्यक्ष हुन् । हाल अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय सदस्य अधिकारी नेपाल शिक्षक महासंघको केन्द्रीय अर्थ उप–महासचिब थिए । रेडियो नेपाल र विभिन्न टेलिभिजन स्टुडियोमा पुगेर जाजरकोट जिल्लामा गाईने लोक भाका, डेउडा र ठाडी भाकाका दर्जनौं गीतहरु रेकर्डिङ्ग गराई सकेका अधिकारीले जाजरकोटको लोक साहित्य पुस्तक प्रकाशन गरिसकेका छन् । गीत, गजल, कविता, कथा, निबन्ध जस्ता विभिन्न विदामा कलम चलाउदै आएका अधिकारीका एक दर्जन भन्दा बढि कृतिहरु प्रकाशनको क्रममा रहेको उनको पारीवारिक श्रोतले जनाएको छ । यही आउदो दशैको अबसरमा प्रकाशन गर्न लागिएको कृति छापाखानामा पुगेको बताईएको छ । सारदा स्मृती सामाजिक उत्थान प्रतिष्ठानले अधिकारीले प्रकाशनको लागि तयारी गरेका सबै कृतिहरुलाई क्रमश प्रकाशन गर्दै जाने महेश अधिकारीले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्