News Portal

राष्ट्रिय जनगणना–२०७८ को पहिलो चरणमा जाजरकोटमा ६० जना सुपरीवेक्षक परिचालन

७१६ पटक

राष्ट्रिय जनगणना–२०७८ को पहिलो चरणमा घरपरिवार सुचिकरण गर्न जाजरकोट जिल्लामा ६० जना सुरपरीवेक्षक परिचालन गरिएको छ । राष्ट्रिय जनगणना–२०७८ को पहिलो चरणको काम घरपरिवार सुचिकरण गर्न जिल्लामा ६० सुरपरीवेक्षक परिचालन गरिएको हो ।

६० जना सुपरीवेक्षक परिचालन गरेर जिल्लामा जनगणनाको पहिलो चरणको कामको सुरुवात गरिएको जिल्ला जनगणना अधिकृत जनक बोहराले जानकारी दिएका छन् । पहिलो चरणमा सुपरीवेक्षकले घरको विवरण, परिवारको विवरण, घरमूलीको नाम, अस्थायी रुपमा बसोवास गर्ने व्यक्तिको संख्या, कृषि प्रचलन, पशुपंक्षीको विवरण, बैंक खाता, ऋण, अनुदान पाए नपाएको लगायतका २० प्रश्नको उत्तर सोधेर फाराम भर्नुको साथै प्रत्येक जनगणना घरमा कोड लेख्ने काममा सुपरीवेक्षकहरु लागीपरेको अधिकृत बोहराको भनाई रहेको छ ।

पहिलो चरणको जनगणना गर्नका लागि जिल्लाका ७ वटा पालिकाका ७७ वटा वडामा गत भाद्र ३० गतेदेखि ६० जना सुपरीवेक्षक परिचालन गरेको जानकारी दिदै अधिकृत बोहराले उक्त कार्य यहि असोज १८ गतेसम्म संचालन हुने जानकारी दिएका छन् । पहिलो चरणको जनगणनामा सोधिएका २० प्रश्नहरुको सहि जवाफ दिन जिल्लाबासी सबैलाई अनुरोध गर्दै अधिकृत बोहराले दोस्रो चरणको जनगणना आगामी कातिक २५ गतेदेखि मंसिर ९ गतेसम्म संचालन हुने जानकारी दिएका छन् ।

आगामी कातिक २५ गतेदेखि मंसिर ९ गतेसम्म गरिने मुख्य जनगणनामा सुपरिवेक्षकहरुले ल्याएको सुचिकरणका आधारमा प्रत्येक जनगणना क्षेत्रमा १ जना गणकलाई खटाईने अधिकृत बोहराले बताएका छन । जिल्ला भरी २१४ जनगणना क्षेत्र रहेको जानकारी दिदै अधिकृत बोहराले एक जनगणना क्षेत्रमा १ गणकलाई मुख्य जनगणनामा खटाईने बताएका छन् । जाजरकोट जिल्लामा ३६ हजार ५ सय ८२ घर परिवार रहेको अनुमान गरिएको अधिकृत बोहराले बताएका छन् ।

राष्ट्रिय जनगणना–२०७८ ले राष्ट्रिय आवधिक बिकास लक्ष्य तथा दिगो बिकास लक्ष्यको अनुगमन र मुल्यांकणसंग सम्बन्धित सामाजिक, जनसांख्यिक र आर्थिक सूचकहरुको लागि सूचना प्रदान गर्ने बताईएको छ । नयाँ संरचना अनुसार देश संघीय, प्रादेशिक र स्थानीय तह गरी तीन स्तरका सरकारका लागि विभिन्न क्षेत्रगत नीति निर्माण र योजना तर्जुमाको लागि उच्च गुणस्तरको जनसंख्या र आवासको तथ्याङ्कलाई राष्ट्रिय जनगणना–२०७८ ले समयमै उपलब्ध गराउने लक्ष्य लिएको छ । राष्ट्रिय जनगणना २०७८ ले जनसंख्याको गतिशीलता र सामाजिक विशेषताहरू सहित भएको परिवर्तन अनुसारका नीतिहरु निर्माण गर्न, विकास कार्यक्रम तथा योजना तर्जुमामा मद्दत गर्ने विश्वास लिईएको छ । साथै राष्ट्रिय जनगणना–२०७८ ले दिगो विकास लक्ष र ‘जनसंख्या र विकासको अन्तराष्ट्रिय सम्मेलन’ बाट पास भएका कार्यान्वयनका एजेन्डाहरुलाई सूचना उपलब्ध गराउने एक महत्वपूर्ण साधनको रुपमा लिन सकिने बताईएको छ ।

नेपालमा पहिलो राष्ट्रिय जनगणना बिक्रम सम्बत १९६८ सालमा गरिएको थियो । नेपालमा पहिलो आधुनिक जनगणना बिक्रम सम्बत २००९–११ सालमा सम्पन्न भएको थियो । जसमा करीब ८० लाख जनसंख्याको गणना गरिएको थियो भने, पछिल्लो बिक्रम सम्बत २०६८ सालमा सम्पन्न गरिएको जनगणनामा २ करोड ७० लाख जनसंख्याको गणना गरिएको थियो ।

प्रतिकृया दिनुहोस्