News Portal

बदलिएको पिपलचौरको जनता प्राथमिक विद्यालय

८१४ पटक

नलगाड नगरपालिका–४ पिपलचौरको जनता प्राथमिक विद्यालय कुनैवेला रेडियो, टेलिभिजन, अनलाईन र पत्रिकामा प्रकाशित हुने समाचार स्रोतको खानी थियो । बगरको छेउमै भएको विद्यालय भवन बाढीले बगाएपछि उक्त विद्यालय मिडियामा खुवै छायो ।

नेपाली बीबिसी सेवादेखि सगरमाथा टेलिभिजनमा जनता प्रावि पिपलचौरको समाचार धेरै पटक प्रसारण भएको थियो । खरको छानो भएको गोठमुनी पढाई पुरागरी रहेका विद्यार्थीहरुको बेन्चमुनी नदीजस्तै पानी बगिरहेको दृष्य धेरै पठक टेलिभिजनको पर्दामा हेर्न पाईएको थियो । विद्यालयको अबस्था राष्ट्रिय तथा अन्तराष्ट्रियकरण भएतापनि विद्यालय भवन निर्माणका लागि भने, तत्कालिन जिल्ला शिक्षा कार्यालयले स्रोत व्यवस्थापन सकेको थिएन ।

बाल विकास केन्द्रदेखि कक्षा ५ सम्मको पढाई भइरहेको विद्यालयको कक्षा कटौती गरेर कक्षा ३ सम्मको पढाई संचालन गर्ने अनुमति दिईएको थियो । उक्त विद्यालयलाई आबासिय स्रोत विद्यालय संचालन गर्न नलगाड नगरपालिकाले २०७६ को शैक्षिक सत्रदेखि आर्थिक श्रोत व्यवस्थापन गर्न थालेको छ । नगरपालिकाको बार्षिक ५ लाख अनुदानमा नलगाड नगरपालिका भित्रकै हात, खुट्टा नभएका, कान नसुन्ने २६ जना अपाङ्ग बालबालिकाहरुको पढाई पुरागर्न विद्यालयले आबासिय व्यवस्थापन गर्दै आएको छ । बाल विकास केन्द्रदेखि कक्षा ३ सम्म ४६ जना विद्यार्थी संख्या रहेको विद्यालयको आबासिय पक्की भवन निर्माणमा कर्णाली प्रदेश सरकारको ६३ लाख र नगरपालिकाको ६० लाख गरी १ करोड २३ लाख लागतमा गरिएको बोलपत्र आह्वानमा घटिघटाई ७८ लाखमा भवन निर्माण कम्पनीले चार कोठे एक र शौचालय सहितको अपाङ्गमैत्री तीन कोठे गरी दुई वटा पक्की भवन निर्माण भएको छ । अपाङ्गमैत्री उक्त भवनमा २६ जना बालबालिकाले आबासिय रुपमा आफ्नो पढाई पुरा गरिरहेका छन् । उनीहरुको खाना, लत्ता, कपडा देखि लिएर पढाईका लागि आबश्यक पर्ने शैक्षिक सामाग्रीहरुको व्यवस्थापन नगरपालिकाले गर्दै आएको छ । उक्त विद्यालयको दिर्घायुका लागि नगरपालिकाले विशेष कक्षा सञ्चालन सम्वन्धी कार्यविधि–२०७८ पारित गरि कार्यान्वयनमा ल्याएको छ ।

उक्त आबासिय स्रोत विद्यालयमा अध्ययनरत अपाङ्ग बालबालिकाहरुको पढाई व्यवस्थापनमा मद्दत पुग्नेगरी अक्ष्यकोष स्थापना गर्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर सिंहले एक लाख एक हजार १११ रुपैया सहयोग गरेका छन् । आफ्नो जन्म दिनको अबसरमा अधिकृत सिंहले विद्यालयलाई उक्त सहयोग हस्तान्तरण गरेका थिए ।

बिषेश स्रोत कक्षामा अध्ययनरत बालबालिकाहरुको पढाई लेखाईका लागि आबश्यक पर्ने किताब, कापी, कलम लगाएतका शैक्षिक सामाग्री, खाना तथा खाजा, लत्ताकपडाको व्यवस्थापनमा मद्दत पुग्नेगरी अक्ष्यकोष स्थापना गर्न आफुले सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत सिंहले जानकारी दिएका थिए । शारिरिक रुपमा अपाङ्ग भएर विद्यालय पहुँच भन्दा बाहिर रहेका बालबालिकाहरुको आधारभुत शिक्षा सुनिश्चित गर्न संचालन गरिएको बिशेष स्रोत कक्षाको दीर्घकालिन महत्व रहेको प्रमुख प्रशासकीय अधिकृत सिंहको भनाई रहेको छ ।

उक्त विद्यालयको भवन सोमबार उद्घाटन गरिएको छ । एक विशेष कार्यक्रमको आयोजना गरेर नगर प्रमुख टेक बहादुर रावलले रिवन काटेर भवन उद्घाटन गरेका थिए । उक्त भवन उद्घाटन कार्यक्रममा विद्यालयको तर्फबाट नगरप्रमुख रावल र नगरउपप्रमुख बालकुमारी बस्नेतले दोसल्ला ओराएर प्रमुख प्रशासकीय अधिकृत सिंहलाई सम्मान गर्नुको साथै लोक सेवा आयोगको कार्यालयमा सरुवा भएका अधिकृत सिंहलाई मायाको चिनो हस्तारण गरिएको थियो ।

आमा–बुवा तथा अविभावक नभएका बेसहारा अपाङ्ग बालबालिकाहरुको आधारभुत तहको पढाई पुरा गर्न संचालन गरिएको बिशेष स्रोत कक्षाको अक्ष्यकोष स्थापना गर्न अधिकृत सिंहले सहयोग गरेको एक लाख एक हजार १११ रुपैयाले अध्यकोष स्थापना गर्न कोशेढुङ्गा सावित हुने विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष राममाया शाही हमालले भनाई राखेकी थिईन् । भौतिक पूर्वाधार अभावमा संचालन गरिएको बिशेष स्रोत कक्षाको भौतिक संरचना बनिसकेको छ अध्यक्ष शाही हमालले भनिन्–आगामी दिनमा श्रोत कक्षा शिक्षक दरबन्दीको व्यवस्थापन गर्दै जानुको साथै जिल्लाका सबै पालिकामा रहेका बेसहारा, अपाङ्ग बालबालिकालाई केन्द्रित गरेर आधारभुत तहको पढाईलाई पुरा गर्ने योजना रहेको छ ।

प्रतिकृया दिनुहोस्