News Portal

भारी हिमपातले जाजरकोटमा लाखौं सुन्तलाका बिरुवा नष्ट

६२७ पटक

दुई दिनसम्मको भारी हिमपातले जाजरकोटमा कलमी गरेका लाखौं सुन्तलाका विरुवा नष्ट भएका छन् । प्लाष्टिक टनेलभित्र ग्राफटिङ्ग गरिएका लाखौं सुन्तला, ओखर, कागति, लगाएत बिभिन्न जातका बिरुवाहरु भारी हिमपातले थिचारिएर नष्ट भएका हुन् ।

बिहिबार देखि सुरुभएको हिमपात शुक्रबारसम्म भएको थियो । दुई दिनसम्म भएको भारी हिमपातले कुशे गाउँपालिका–५ दम्दालामा रहेका व्यवसायिक फलफुल नर्सरीहरुमा लाखौं सुन्तलाका बिरुवाहरु नष्ट भएको जेवी कृषि फर्म उद्योगका प्रोपराईटर जानुका मल्लले जानकारी दिएकी छन् । दुई वटा प्लाष्टिक टनेलमा रहेका ६० देखि ७० हजारसम्म सुन्तलाका विरुवाहरु नष्ट भएको प्रोपराईटर मल्लको भनाई रहेको छ । केहि दिन अगाडी दैनिक १२ सय ज्याला दिएर सुन्तलाका विरुवाहरुमा कलमी गरेका थियौं, दुई दिनसम्मको हिमपातले प्लाष्टिकका टनेल थिचारिएर सबै बिरुवाहरु नष्ट भएका छन् मल्लले भनिन्–‘उक्त हिमपातले हाम्रो जेवी कृषि फर्म उद्योगमा रहेका ६० देखि ७० हजारसम्म बिरुवा नष्ट गरेको छ भने, हरि बहादुर थापा प्रोपराईटर रहेको बाटापाखा हार्बिष्ट कृषि र्फमका ५० देखि ६० हजार बिरुवा नष्ट भएका छन, वीर बहादुर खड्का प्रोपराईटर रहेको प्रगतिशिल नर्सरी उद्योगका ४० देखि ५० हजारसम्म सुन्तलाका बिरुवा नष्ट भएका छन् ।’

प्रो. मल्लले दिएको जानकारी अनुसार शिव बहादुर मल्ल प्रोपराईटर रहेको प्रबीण हिउदे तथा बर्षे फलफुल नर्सरीमा भने हिउले त्यस्तै क्षेति गरेको छ । शक्ति बहादुर वली प्रोपराईटर रहेको कुशे अर्गानिक कृषि फर्ममा रहेका सुन्तलाका विरुवाहरु हिमपातले के कति क्षेति गर्यो भन्ने बिषयमा अहिलेसम्म कुनै जानकारी प्राप्त हुन नसकेको छैन ।

जिल्ला कृषि विकास कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तलाजात फलफुल जोनबाट विभिन्न अनुदान प्राप्त गरेका उक्त नर्सरीहरुका विरुवाहरु हिमपातले नष्ट भएपछि नर्सरी संचालक तथा प्रोपराईटरहरु चिन्तित भएका छन् । नर्सरीका विरुवाहरु हिमपातबाट नष्ट भएपछि हरि बहादुर थापाले प्रहरी मुजुल्काको लागि प्रहरी चौकी पाँचकाटियालाई निवेदन दिएको तर, अहिलेसम्म प्रहरी नर्सरीमा पुगि नसकेको प्रो. मल्लले जानकारी दिएकी छन् ।

प्रतिकृया दिनुहोस्