News Portal

छेडागाड–११ बालमैत्री वडा घोषणा

११४९ पटक

छेडागाड नगरपालिका–११ नम्बर वडा बालमैत्री वडा घोषणा भएको छ । बालमैत्री स्थानीय शासनले गरेको कानुनी व्यवस्था अनुसार ११ नम्बर वडालाई आईतबार छेडागाड नगरपालिकाले बालमैत्री वडा घोषणा गरेको हो ।

बालबालिका सम्बन्धि सेवा प्रवाह र संस्थागत विकास सम्बन्धिका ५१ वटा सुचकहरु पुरा गरीसकेको ११ नम्बर वडालाई कर्णाली प्रदेशकै पहिलो बालमैत्री वडा घोषणा गरिएको छेडागाड नगरपालिकाका प्रमुख लाल बहादुर महताराले बताए । देश यतिवेला विकास र समृद्धीको दिशामा अगाडी बढिरहेको बताउदै नगर प्रमुख महताराले देश विकास र समृद्धीमा बालमैत्री स्थानीय शासन संचालनले मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए । विकास र समृद्धीको लागि दक्ष जनशक्तिको आबश्यक पर्ने बताउदै नगर प्रमुख महताराले देशले खोजे जस्तै दक्ष जनशक्ति उत्पादन गर्न बालमैत्री स्थानीय शासन संचालन कोशे ढुङ्गा सावित हुने भनाई राखेका थिए ।

पाँचतारा युवा संरक्षण मञ्च, जाजरकोट र सेभ द चिल्ड्रेनद्धारा छेडागाड नगरपालिमामा संचालित सहयात्रा र अबसर परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा ११ नम्बर वडालाई बालमैत्री वडा घोषणा गर्न सफल भएको बताउदै नगर प्रमुख महताराले पाँचतारा युवा संरक्षण मञ्च, जाजरकोट र सेभ द चिल्ड्रेनलाई हार्दिक धन्यवाद दिएका थिए । परियोजनाको सहयोगमा ५ बर्षसम्म गरिएको अथक प्रयासबाट ११ नम्बर वडालाई बालमैत्री वडा घोषणा गर्न सफल भएको बताउदै नगर प्रमुख महताराले अब क्रमश नगरपालिकाका सबै वडालाई बालमैत्री वडा घोषणा गर्ने कार्यक्रम रहेको जानकारी दिएका थिए । नगरपालिकाको समग्र विकास र समृद्धीको लागि अगाडी बढाईएको यस अधियानमा अनवरत रुपमा लागिपर्ने नगरपालिकाका सबै जनप्रतिनीधि, कर्मचारी, अभियान्ता सबैप्रति नगर प्रमुख महताराले कृतज्ञता व्यक्त गरेका थिए ।

नेपालको संविधान २०७२ को धारा ३९, उपधार १० ले गरेको व्यवस्था, बाल अधिकार सम्बन्धि महासन्धी–१९८९, स्थानीय स्वायत्त शासन–२०५५, बालबालिका सम्बन्धि ऐन–२०४८, बालबालिका सम्बन्धि राष्ट्रिय नीति–२०६९, स्थानीय सरकार संचालन ऐन–२०७४, दीगो विकास लक्ष्य–२०१६–२०३०, नेपाल सरकारको पन्ध्रो राष्ट्रिय योजना, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका–२०७८ ले गरेको व्यवस्था अनुसार छेडागाड नगरपालिकाले १० नम्बर वडालाई बालमैत्री वडा घोषणा गर्न सफल भएको पाँच तारा युवा संरक्षण मञ्च जाजरकोटका अध्यक्ष छवी पन्तले भनाई राखेका थिए । गाउँ तथा नगरपालिकाले लिएका नीतिहरुलाई पुरा गर्न विकास साँझेदार निकायको तर्फबाट पाँच तारा युवा संरक्षण मञ्च सदैव तयार रहेको अध्यक्ष पन्तले भनाई राखेका थिए । अध्यक्ष पन्तले कर्णाली प्रदेशकै पहिलो बालमैत्री वडा घोषणा गर्न सफल भएकोमा नगरपालिका र वडा कार्यालय प्रति आभार प्रकट गर्दै धन्यवाद दिएका थिए ।

भेदभाव रहित, बालबालिकाको सर्वोतम हित, बालबालिकाको दीर्घ जीवन र विकास, बालबालिकाहरुको विचार र भावनाको कदर जस्ता बाल अधिकार महासन्धीका सिद्धान्तमा रहेर बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताका ५१ वटा सुचकहरु पुरा गरेर बालमैत्री वडा घोषणा गर्न सफल भएकोमा नगरपालिका र वडाका जनप्रतिनीधि, कर्मचारी, शिक्षक अविभावक, अभियान्ता सबैलाई सेभ द चिल्ड्रेनका प्रतिनीधि दिल वरले धन्यवाद दिएका थिए ।

“बाल बचाऊ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण सहभागीता । – बालमैत्री वडा घोषणा र निरन्तरता हाम्रो प्रतिवद्धता ।” भन्ने मुल नारा सहित बालमैत्री वडा घोषणा कार्यक्रममा बाजागाजा, नारा जुलुस सहितको र्याली प्रदर्शन गरिएको थियो भने, सिङगारु, लहरे पैसेरी लगाएतका झाँकीहरु प्रदर्शन गरिएको थियो । साथै बालबालिकाहरुले विभिन्न प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।

बालमैत्री वडा घोषणा कार्यक्रममा छेडागाड नगरपालिकाका उपप्रमुख सरिता वली, निमित्त प्रमुख प्रशासकीय अधिकृत गंग विवश आरसी, वडा अध्यक्ष महेन्द्र बहादुर शाही, गोपाल नेपाली, नेकपा (माओवादी केन्द्र) का भद्र बहादुर महर, नेपाली काँग्रेसकी गिता शाही, नेकपा एमालेका शान्त प्रशाद न्यौपाने, बाल मावि झाँप्राका प्रअ कमलराज बस्नेत, विव्यस अध्यक्ष दिल्लु विटालु, नगर बाल अधिकार समिति सदस्य कर्ण बहादुर कार्की, वडा बालमैत्री स्थानीय शासन समिति सदस्य वीरमान रावत, वडा बाल संरक्षण समिति सदस्य जयलाल जैसी, महिला स्वयमसेविका विमला कार्की थापा, वडा बाल संजाल अध्यक्ष रविना गिरीले आ–आफ्नो भनाई राखेका थिए । वडा अध्यक्ष चक्र बहादुर सिंहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

छेडागाड नगरपालिकाले आईतबार नै वडा नं. १० लाई पूर्ण सरसफाईयुक्त वडा घोषणा गरेको छ । नगरपालिकाले बालमैत्री वडा, पूर्णसरसफाईयुक्त वडा र बालबालिका सतप्रतिशत विद्यालय भर्ना वडा घोषणा अभियानलाई संगसैगै अगाडी बढाएको छ ।

प्रतिकृया दिनुहोस्