Hamro Sanchar

छेडागाडका पर्यटकीय स्थल

लालबहादुर महतरा प्रकाशित : २०७७/१२/२९ गते
जाजरकोट

नेपालको राजनैतिक परिवर्तन पश्चात भएको राज्य पुनर्संरचना आयोगको सिफारिसमा जाजरकोट जिल्लाको पश्चिमी क्षेत्रमा रहेका साविकका कार्कीगाउँ, झाप्रा, पजारु, सुवानाउली, दशेरा र साल्मा सहित ६ वटा गाविसको भुगोल र जनसंख्या जोडेर हाल छेडागाड नगरपालिकाको स्वरुप प्रदान गरिएको छ । २८४.२० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यस भुगोमा झण्डै सात हजार घरधुरीका ४० हजार २ सय जनसंख्याले बसोबास गर्दै आएका छन् ।

यस नगरपालिकामा बसोबास गर्नेहरुका आ–आफ्नै धार्मिक मुल्य मान्यताहरु रहेका छन् । जुन समान प्रकृतिका भएपनि संख्यात्मक हिसाबले धेरै रहेका छन् । आन्तरिक पर्यटकीय क्षेत्रका रुपमा मान्यता प्राप्त स्थलहरु धार्मिक संस्कारका रुपमा प्रख्यात छन् । छेडागाड र भेरीको सिमानामा रहेको मछाईना मालिका, सुयाडा मालिका, समाल्थाना मालिका, झिङग्रा कुडिलाग्न, चाल्ने मालिकाहरु अग्लो धुरी क्षेत्रमा रहेका प्रख्यात धार्मिक क्षेत्र तथा पर्यटकीय स्थल हुन् । नगरपालिकाले उक्त चुचुराहरुमा मालिका दैवीय मान्यतालाई व्यवस्थित गर्नुको साथै धार्मिक पर्यटकीय स्थलको विकास गर्ने नीति लिएको छ ।

त्यसैगरी नगरपालिकामा मष्टो संस्कृतिलाई आफ्नो कुल, घराणीय गोत्र प्रथाको कुल मानी पुस्तादर पुस्ता मान्दै र मनाउँदै आएका मष्टा देवताहरुले पनि प्रशंसनीय स्थान ओगटेका छन् । यस क्षेत्रमा प्रख्यात देवता र देवस्थलहरु निम्न अनुसार रहेका छन् ।

१. स्वडारी मष्टो, छेडागाड नगरपालिका–१ स्वडारी ।
२. रमाला बज्यै, छेडागाड नगरपालिका–५ मेहेल्ने ।
३. महाजैसी बाजे, छेडागाड नगरपालिका–९ सेरा ।
४. बाविरा मष्टो, छेडागाड नगरपालिका–८ रुव ।
५. काफ्लाको मष्टो, छेडागाड नगरपालिका–१० काफ्ला ।
६. कौवा–वडु मष्टो, छेडागाड नगरपालिका–९ पजारु ।
७. रुव महाँदेव, छेडागाड नगरपालिका–८ रुव ।

यस्ता थुप्रै देवी देवताहरुको पुजा–आजा गरेर देव प्रसाद लिई आफ्नो जीवन निर्वाहको प्रकृया अगाडी हाक्ने प्रथा छ । विशषगरी भाद्र पूर्णिमा र जेठ पूर्णिमाका दिन विशेष पुजा–आजा र भाकल अनुसारका वलीहरु चढाई ठुला–ठुला जात्राका रुपमा भेला तथा जम्मा हुने गरिन्छ ।

देवलहरुः– पुराना देवलहरु– जो धार्मिक आस्थाका प्रतिविम्बको प्रतिनिधित्व गर्दछन् । तिनको पनि यस नगरपालिकामा वास्तुकलाका रुपमा रही पौराणिक समाजको झझल्को दिई रहेका छन् । साल्मा, अन्दरकोट, झाप्रा, महतरागाउँ, डाडाागाउँ, घोगी, सुवानाउलीमा त्यस्ता स्तुभ तथा देवलहरु रहेका छन् । सन् ९०० देखि १२०० का बिचमा ऐतिहासिक झल्को दिने ती देवल तथा स्तुभहरु मध्ये वडा नं. ८ घोगीमा रहेको देवल प्रख्यात रहेको छ । यसको आसपासमा रहेका ढुङ्गेधाराहरुले पनि त्यस क्षेत्रको पौरानिक वास्तविकताको अध्ययन सन्दर्भलाई व्यवस्थापन गर्दछ । यसको संरक्षण गरि पर्यटन प्रवद्र्धन गर्ने पूर्वाधार निर्माणमा यो नगरपालिका लागिपरेको छ ।

नदि तथा जलाधार क्षेत्रः– छेडागाड नगरपालिकाको बीचमै भएर अविरल बगिरहने छेडागाड, सुवागाड, सरुगाडले पर्यटकलाई पर्खिरहेका छन् । नामी र दामी प्राकृतिक माछाको स्वाद स्मरण गर्न लायक छ । एकपटक खाएपछि नबिर्सिने र निरन्तर लोभ्याउने स्वाद भएको माछाका लागि थलह, बाटुले, मनाघाट, पौजा क्षेत्र प्रख्यात छन् । यी क्षेत्रमा नगरपालिकाले होमस्टे संचालन तथा व्यवस्थापन गर्ने उदेश्य राखेको छ । त्यसैगरी यस नगरपालिका छङछङ्ग गर्ने झरनामा पनि कमसल छैन । वडा नं. ९ को पजारु स्थित ‘भेरी छहरा’ नामले चिनिने झरना पर्यटकीय दृष्टीले निकै अनुकुल झरना हो । उक्त स्थानहरु पर्यटन प्रबद्र्धनमैत्री पूर्वाधारको पर्खाईमा रहेका छन् ।

गुफाहरुः–पर्यटकहरुको मनै लोभ्याउने अनगन्ति आश्चार्यहरु मध्ये गुफाहरु पनि महत्वपूर्ण क्षेत्रका रुपमा रहेका छन् । गुफा संरक्षण, विकास र प्रवद्र्धन गर्न पूर्वाधार निर्माणका काममा नगरपालिका प्रयत्नशिल रहेको छ । छेडागाड नगरपालिका–६ भल्मामा रहेको भोटेदुला गुफा एक आश्चार्यको आकर्षक स्थल हो । उक्त गुफा भित्र रहेका पत्थरमा आफ्सेआफ निर्मित शंख आकारको आकृतिले पर्यटकलाई फेरी पनि जाउँ–जाउँ लाग्ने बनाउने गर्दछ । स्थानीयकाअनुसार गुफाहरुका सन्दर्भमा थरी–थरीका किवदन्ती तथा धार्मिक आख्यानहरु रहेको पाईन्छ ।

जाजरकोट र दैलेख जिल्लाको सिमाना सुयाडा मालिका क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यमा विकास गर्ने उदेश्यले नगरपालिकाले ‘विश्व अखण्डदिप महायज्ञ’ संचालन गर्ने गरी पूर्वाधारहरु निर्माणका कामलाई अगाडी बढाई सकेको छ । मध्येपहाडी पुष्पलाल लोकमार्ग रहेको यस क्षेत्रमा घना जंगल, हरियालि र धार्मिक पवित्रताका हिसावले पनि बिख्यात सुयाडा पर्यटन विकासको बलियो संभावना रहेको छ । पूर्वाधार निर्माणको क्रमिकतालाई सुयाडाले पछ्याई रहेको छ । सुयाडा पर्यटन प्रवद्र्धन, पूर्वाधार व्यवस्थापनको पर्खाईमा रहेको छ ।

(लेखकः–छेडागाड नगरपालिकाका प्रमुख हुन् ।)

प्रतिकृया दिनुहोस्