Hamro Sanchar

नयाँ बर्षको अबसरमा कर्मचारीद्धारा मानव सेवा आश्रमलाई नगद सहयोग हस्तान्तरण

डिजिटल संचार संवाददाता प्रकाशित : २०७७/१२/३१ गते
सुर्खेत

सेवाकालिन तालिममा सहभागी कर्मचारीहरुले मानव सेवा आश्रम सुर्खेतलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । नयाँ बर्ष–२०७८ सालको शुभ–कामना आदान प्रदान गर्ने क्रममा तालिममा सहभागी कर्मचारीहरुले आश्रमलाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।

संघीय कार्यालयमा कार्यरत रापअं प्रथम र द्धितीय श्रेणीका र प्रदेश तथा स्थानीय तहमा कार्यरत सहायक स्तर पाँचौ र चौथो तहका कर्मचारीहरुको नयाँ बर्ष २०७८ सालको शुभ–कामना सहित तालिमका ३१ जना कर्मचारीले २२ हजार नगद आश्रमलाई हस्तान्तरण गरेको देबबहादुर बुढाले जानकारी दिएका छन । मानव सेवा आश्रमका सहायक व्यवस्थापक संजिता गौतमलाई आर्थिक सहयोग हस्तान्तरण गर्दै शुभ–कामना आदान पदान गरिएको वुढाले जानकारी दिए ।

खुल्ला आकाश मुनि, सडक जीवन विताउन बाध्य भएका अनाथ, अपाङ्गता भएका, अशक्त, असहाय तथा सहयोगापेक्षी नागरिकहरुको ब्यबस्थापन गर्दै आएको मानव सेवा आश्रमलाई मद्दत गर्ने उदेश्यले कर्मचारीहरुले सहयोग गरेका हुन् । सहयोगापेक्षी मानवको उद्धार, उपचार, पालन पोषण, संरक्षण तथा पारिवारिक पुनर्मिलनको व्यवस्थापनमा आश्रमलाई सहयोग गर्न आफुहरुले खल्तीबाट उठाएर नगद सहयोग गरेको बुढाले जानकारी दिए । उक्त मानव सेवा आश्रमले अनाथ, असहाय, मानसिक सन्तुलन गुमाएका र मागेर जीवन निर्वाह गरिरहेका ७४ जनाको खाना, बास, स्वास्थ्य उपचार र मनोपरामर्श सेवा दिदै आएको छ ।

कर्णाली प्रदेशको सुर्खेत बिरेन्द्रनगरमा यहि चैत ८ देखि संञ्चालन भएको सेवा प्रवाहका लागि कार्यालय कार्यविधी तथा व्यवस्थापन विषयक ४० दिने सेवाकालिन तालिमका सहभागीहरु मध्ये विहानी समूहका सहभागीहरुले आश्रमलाई आर्थिक सहयोग गरेका छन् । नयाँ बर्षको अबसरमा तालिमका सहभागीहरुले भोजको लागि जम्मा गरेको रकमबाट भोजबाट बचेको नगद मानव सेवा आश्रम सुर्खेतलाई हस्तान्तरण गरिएको बुढाको भनाई रहेको छ । सहयोग रकम हेर्दा सानो भएता पनि सामूहिक निर्णयबाट गरिएको उक्त सहयोगले थप सहयोग जुट्न सक्ने बिश्वास लिईएको छ । उक्त सहयोगले सडक पेटीमा पुगेका नागरिकहरुको उद्धार, उपचार, पालन पोषण संरक्षण तथा पारिवारिक पुनर्मिलनको व्यवस्थापन मद्दत पुग्ने बिश्वास गरिएको छ ।

प्रतिकृया दिनुहोस्