Hamro Sanchar

जाजरकोटमा ४१ वटा वनमा आगलागी

बद्री पन्त प्रकाशित : २०७७/१२/३० गते
जाजरकोट

जाजरकोटका ३८ सामुदायिक वन र तीन वटा राष्ट्रिय वनमा आगलागी भएको छ । जिल्लाका अधिकांश सामुदायिक र राष्ट्रिय वन डढेलोले सखाप पारेको छ ।

डढेलोको कारण वन क्षेत्र यतिवेला उजाड भएको निमित्त डिभिजन प्रमुख चित्रन शर्माले बताए । वनमा लागेको आगलागीको बिवरण संकलन तथा जानकारी लिन कर्मचारी आगलागी भएको क्षेत्रमा खटाइएको निमित्त डिभिजन प्रमुख शर्माले जानकारी दिएका छन् ।

जिल्लामा कति हेक्टर क्षेत्रफल वनमा आगलागी भयो भन्ने बिषयमा डिभिजन वन कार्यालयले तथ्याङ्क लिने काम गरीरहेको शर्माले बताए । प्रारम्भिक विवरण अनुसार एक हजार २ सय बढी हेक्टर वन क्षेत्रमा आगलागी भएको अनुमान गरिएको शर्माले बताएका छन ।

जाजरकोटमा २ सय ९० सामुदायिक वन रहेका छन् । स्थानीयको असावधानीका कारणले वन क्षेत्रमा बर्षेनी आगलागीका घटना भइरहेका छन । आगलागीका कारण छेडागाड नगरपालिकामा १२ वटा, शिवालय गाउँपालिकामा ९ वटा, जुनीचाँदे गाउँपालिकामा ५ वटा, कुशे गाउँपालिकामा १ वटा, भेरी नगरपालिकामा ३, बारेकोट गाउँपालिकामा ३ वटा र नलगाड नगरपालिकामा ५ वटा सामुदायिक वन तथा तीन वटा राष्ट्रिय वनमा आगलागी भएको छ । लामो खडेरीसँगै सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लाग्ने क्रम रोकिएको छैन ।

दैनिक दर्जन ठाउँमा डढेलो लागिरहेको छ । वनमा जथाभावी डढेलो नलगाउँन आग्रह गर्दा पनि रोक्न नसकेको शर्माको भनाइ छ । चैतयता डढेलो बढेको छ । स्थानीयले राम्रो घाँस पलाउने भन्दै वनमा डढेलो लगाउने गरेको नलगाड–१० का वडा अध्यक्ष भद्रबहादुर ध्यारले बताए । डाडापाखा आगलागीले सवै काला पहाड बनेका छन् । डढेलोका कारण वन्यजन्तु, दुलर्भ पन्क्षीहरुको बासस्थान नष्ट हुनुको साथै वन्यजन्तु र पन्क्षीले डढेलोमा ज्यान गुमाएका छन् । पालुवा पलाउदै गरेका स–साना वोट बिरुवा जडिवुटी पनि आगोले सखाप पारेको छ ।

गत वर्षको तुलनामा यसवर्ष धेरै वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालयले जनाएको छ । वनमा लागेको आगलागीका कारण चार दिन अघि नलगाड–८ को मंसिरी नलगाड–३ चाउलेचौर, भेरी नगरपालिका–२ डिङ्गाको थामा लगाएतका ठाउँमा घर, गोठ जलेका छन । जलवायु परिवर्तन र लामो समय खडेरी तथा सुक्खा भई धेरै आगलागी हुने गरेको वन कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्