Hamro Sanchar

कविता– बा ! म छोरा बन्न सकिनँ

भवानी रावल शाही प्रकाशित : २०८०/५/२८ गते
भेरी नगरपालिका–७, जाजरकोट

बा ! म छोरा बन्न सकिनँ
मेरो आगमन,तिम्रो सौभाग्य भन्न सकिनँ
किनकी , मलाई भेउ थिएन,
म पैदा हुँदा तिमीभित्र पीडा थियो वा गौरव ?
गन्ध थियो वा शौरभ ? जेहोस् ,
तिम्रा सुविचार पराजित गर्ने
पिताभावमा सन्देह भर्ने
त्यस्ता सामाजिक खेलको
कहिल्यै मोहरा बन्न सकिनँ
त्यसैले, बा ! म छोरा बन्न सकिनँ ।

मेरो ध्येय हो,
समाजले जेन्डरको अर्थ बुझोस्
लैङ्गिक समानताको आवाज उठोस्
पुत्र तृप्तिमा आमाहरु नमरुन््
सामाजिक विभेदले गर्भपात नगरुन्
यस्तै जागरणको अभियान बन्ने
विभेदरहित समाज मेरो शान भन्ने
तर, सकिनँ
आफूभित्रको चेतना खोतल्न
छोराप्रतिको आमसोच बदल्न
यसर्थ , बा ! म छोरा बन्न सकिनँ ।

जब मेरो पुरुषार्थले
कामीयाबीको झिनो भ¥याङ चढेँ
अभिलाषाका पदचापहरु
लक्ष्य चुम्न अघि बढे तब,
शुभेच्छुकहरुले पनि
मेरो कर्ममा छोराको उपमा दिए
तिम्रो पुत्रहिनतामा वंशको अपुताली दर्साए
तब मैले म तिम्रो सुपुत्री भन्न सकिनँ
त्यसैले बा ! म तिम्रो छोरा बन्न सकिनँ ।

अब एउटै आकाङ्क्षा छ ,
मभित्र बुबामा हुने वीरता होस्
आमाको जस्तै धीरता रहोस्
सन्तानमा हुनुपर्ने शूरता जागोस्
बाँकी सन्दर्भ विज्ञानका थियो
तिम्रो इच्छाले तथ्य मासीएन
समाजको धृष्टताले विज्ञान बदलिएन
एक्स, वाइसँग मेरो साइनो रहेन
त्यसैले, मेरा बा अपुत्र भन्न पनि सकिनँ
बा ! म तिम्रो छोरा बन्न सकिनँ ।

प्रतिकृया दिनुहोस्