News Portal

खलंगाको लाखेनाच, लोक पर्व

२०७९ पटक

नाचगान, क्यारिकेचर, र विभिन्न सामाजिक लोक परम्परा र सँस्कृतिहरुको दुरुस्तै झल्को दिने लाखे नाँच जाजरकोटको एउटा महत्वपुर्ण लोक पर्व हो । जाजरकोटका २१ औं राजा उपेन्द्रविक्रम शाहको पालादेखि खलंगामा लाखे नाचको सुरुवात गरिएको हो । राजा उपेन्द्रविक्रमले भक्तपुरबाट जिल्लामा भित्र्याएको नेवार समुदायका गोविन्दमान भडेलले डेढ सय वर्ष अघि सुरु गरेको लाखेनाच सदरमुकाम खलंगाका लागि मात्र नभएर समग्र जाजरकोटकै एउटा मौलिक तथा सामाजिक एकता दर्शाउने पर्व हो । प्रत्येक वर्ष साउन महिनाको कृष्ण त्रयोदशीका दिन गाँठेमंगल पर्व मनाउँदै खलंगामा लाखेनाच सुरु हुने गर्दछ ।

सामाजिक सद्भाव, एकता र मेलमिलापसँगै स्वस्थ मनोरन्जनका लागि जिल्ला सदरमुकाम खलंगामा मात्रै देखाइने लाखेनाच कृष्ण जन्माष्टमीको भोलिपल्टसम्म जारी रहने गरेको छ । गोविन्दमान भडेलले सुरु गरेको लाखेनाचमा सुरुका बेला साधुराम धोवीले निकै कलात्मक र रमाइलो पारामा लाखे नाच्ने गर्थे । साधुरामको लाखेनाच निकै रमाइलो र आकर्षक हुने गरेको वुढापाकाहरुको स्मरणीय अनुभुतिवाट स्पष्ट हुन्छ । साधुरामपछि लाखेको भुमिकामा स्थानीय डोलप्रसाद श्रेष्ठ, भवानीसुन्दर श्रेष्ठ, हुमप्रसाद शाक्यले पनि निकै कलात्मक प्रस्तुती दिन्थे । पछिल्लो समयमा भरत केसीको लाखेनाच सम्झन लायक मानिन्छ । भप्पुहरुको भूमिकामा बालकृष्ण भडेल, नीमबहादुर भडेल, कर्णबहादुर भडेल, क्षेत्रबहादुर श्रेष्ठ, केशवमान भडेल, कृष्ण श्रेष्ठ सल्यानी माइलाले पनि निकै रमाइलो र आकर्षक अभिनय गरेर लाखेनाचलाई रोचक बनाउने गरेका थिए । रमाइलो एवं जोशिलो पारामा ढोल बजाउने पत्थर शाही र राउटेको अभिनय गर्ने दीपबहादुर केसी र राउटेनीको भूमिका गर्ने लेकबहादुर शाहलाई पनि स्थानीय बूढापाकाहरुले सम्झने गरेका छन् । स्मरण गर्न लायक कुरा के छ भने, बर्षेनी हुने लाखेनाचमा आकर्षक एवं कलात्मक तरिकाले राउटेको अभिनय गर्ने भएकाले दीपबहादुर केसीको परिवारलाई नै राउटेको परिवारको नामले स्थानीयहरुले सम्झने गर्दछन् ।

नाचमा लाटीको भूमिका गर्ने शान्तबहादुर श्रेष्ठलाई पनि लाखेनाचको कुरा गर्न बित्तिकै सम्झनेहरु धेरै छन् । कृष्ण जन्माष्टमीको भोलिपल्ट लाखे काट्ने नाचमा श्रीकृष्ण बनेर नाच्ने डम्बरजँग शाह र उनका छोरा भरतजँग शाहलाई पनि स्थानीयहरु निकै आत्मिय रुपमा सम्झने गर्छन् । पछिल्लो समयमा कृष्णजीको भूमिकामा भने बमबहादुर भडेल र महेन्द्र भडेलको अभिनय पनि सम्झन लायक छ ।

अघिल्लो पुस्ताका लाखेनाच सञ्चालकहरुको मृत्यु र निष्क्रियतापछि स्वर्गीय निमबहादुर भडेल (पीलममरा माइला) ले लामो समय लाखेनाचलाई जीवन्त राख्नुको साथै जिल्लाकै पौराणिक सम्पदाको रुपमा जोगाई राख्ने काम गरेका थिए । उनले लाखेनाचको अगुवाइ गर्दासम्म नाच हेर्र्न गाउँहरुबाट मात्र नभएर छिमेकी जिल्ला रुकुम, सल्यानबाट समेत जाजरकोट खलंगामा ठूलो भीड लाग्ने गर्दथ्यो । नाचमा प्रहरीको बर्दीमा कालो चश्मा लगाएर सिटी फुक्दै अभिनय गर्ने निमबहादुरले त्यो बेला गाउने एउटा गीत निकै चर्चित थियो ।

द्वापर युगमा भगवान श्रीकृष्ण र उनका मामा कंशबीच भएको लडाइँको दुरुस्तै झल्को दिने विभिन्न गतिविधिहरु सन्चालन गर्दै खलंगा बजार क्षेत्रभरि लाखेनाच देखाउने गरिन्छ । नाचका क्रममा स्थानीय लोक भाका, भेषभुषा र चालचलन एवं रोपाइँ जात्रा, घोडे जात्रा, गाई जात्रा, राउटे जात्रा, बैरागी जात्रा र अन्य जात्राहरु देखाउँदै समाजका विभिन्न विकृतिहरु माथि खरो व्यंग्य प्रहार गर्ने गतिविधिहरु निकै रोचक छन् ।

लाखे नाचको बेला कंशको प्रतिकको रुपमा डरलाग्दो राक्षसी रुप गरेको लाखे र उसका सिपाहीका प्रतिकका रुपमा विभिन्न काला सेता र अन्य रंग र स्वरुपका मुकुण्डो लगाएका भप्पुहरुको साथै अन्य हाँस्य पात्रहरुको रमाईला र मनोरन्जनात्मक गतिविधिले स्थानीय बस्ति तथा बजारहरुमा छुट्टै रौनक छाउने गर्छ । भप्पुहरुका विभिन्न रुप र नामहरु पनि स्थानीय बस्तिमा प्रचलित छन् । टुरे, सुरे, दारे अर्थात थेप्चे नामका भप्पुहरुले दिने मनोरन्जनलाई केटाकेटीदेखि युवा र प्रौढसम्मका नागरिकहरुले रमाइलो मान्दै सम्झिएर उच्चारण गर्छन् ।

यस्तै तत्कालीन समयमा राजतन्त्र रहेको वेलामा राजाको दीर्घायुको कामना गर्दै निमबहादुर भडेलले लय हालेर गाउने ‘बढ–बढ विदा, हाम्रा श्रीपाँचको, आज्ञा पालन गराँंै ।’ वोलको गीत र यसको तालमा नाच्ने लाखे र भप्पुहरुको नाचले सबैलाई उत्साह र उमंग दिएर रमाइलो अनुभूति दिने गर्दथ्यो । निमबहादुर भडेलले आफ्नै घरायसी कारणले जाजरकोट छोडेपछि लाखेनाच बिस्तारै ओझेलमा पर्दै गयो र यसलाई मौलिक र व्यवस्थित गर्न स्थानीयले चासो नदिएको देखिन्छ । नेवार समुदायमा पछिल्लो पुस्ताका युवाहरुले लाखे नाचको निरन्तरता र संक्षरणमा ध्यान नदिएका कारण लाखे नाच ओझेल परेको देखिन्छ । पहिले निकै मौलिक तरिकाले लाखेनाच नाच्ने गरेपनि पछिल्लो समयमा सबैले बेवास्ता गरेपछि जिल्लाको सम्पत्तिको रुपमा रहेको लाखेनाच हराउने अवस्थामा पुगेको छ । आफ्नो भन्दा बढी अरुको संस्कृति र परम्पराको देखासिकी गर्नाले लोक परम्पराको जगेर्ना गर्न मुस्किल भएको छं ।

मौलिक ढंगले पुस्ता हस्तान्तरण हुन नसकेको लाखे नाँच गएको दुइ तीन वर्ष देखि फेरि विशेष तयारीका साथ मनाउने पहल गरिएको भनिएपनि लोक मौलिकता, स्वस्थ मनोरन्जन र खलंगावासीको उत्साहपुर्ण सहभागिताको अभाव भने खड्केको देखिन्छ । लाखे पर्वलाई जिल्लाकै सम्पत्तिको रुपमा विकास गर्न संस्थागत रुपमा व्यवस्थित पहलको जरुरत देखिन्छ । स्थानीय कला सँस्कृतिको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको पनि भएकोले यसतर्फ भेरी नगरपालिका र अन्य निकायले गम्भीरतापुर्वक सोच्न जरुरी छ । विगतमा निमबहादुर भडेलले जिल्ला छोडेपछि लाखेनाच (पर्व) मा केही उच्छृंखलताहरु देखिन थालेका छन । यसलाइ हटाउन जरुरी छ ।

नाचका लागि नेवार समुदायको पहिलो जिम्मेवारी र सक्रियता जरुरी भएपनि यो हामी सवैको मौलिक पर्वको रुपमा स्थापित भइसकेको हुनाले खिलंगाका सबै स्थानीय जाति र समुदायका मानिसहरुले यस नाचलाई माया र न्यायपुर्ण तरिकाले साथदिन जरुरी छ । पछिल्लो समयमा खलंगा आसपासका ठकुरी, बाहुन, क्षेत्री र दलित समुदायले लाखे नाचमा देखाएको चासो, रुचि र सहभागिता निकै सकरात्मक छ ।

नाचलाइ मौलिक स्वरुप दिन तथा नयाँ पुस्ता हस्तान्तरणको गतिलो जिम्मेवारीवोध गराउनका लागि युवा पुस्ता र अगाडिको पुस्ताका विचमा सहकार्य हुन जरुरी देखिन्छ । लाखेनाच जिल्ला सदरमुकाम खलंगाका नेवार समुदायको मात्र नभएर आम सदरमुकाम बासीको पुरानो चिनारीका रुपमा रहेको लोक सम्पत्ति हो भन्ने कुरा सवैलाइ वुझाउन आबश्यक छ । विगतदेखि वर्तमानसम्म जाजरकोटको निकै लोकप्रिय लाखेनाचलाई लोप हुन नदिन सवैले चिन्ता र चासो लिनै पर्ने देखिन्छ ।

विगतमा स्थानीय नेवार र अन्य समुदायको सामूहिक पहलमा निकै रोचक ढंंगले मनाइने लाखेनाच पछिल्लो चरणमा खल्लो हुँदै गएको छ । जबर्जस्ती रकम माग्ने, उग्रता देखाउने, अभद्र स्वभावका गतिविधिहरु सञ्चालन गर्ने कार्यप्रति स्थानीयले असन्तुष्टि जनाउने गरेका छन् । स्वस्थ मनोरन्जन तथा मौलिकताको प्रदर्शन भन्दा बढी जबरजस्ती बटुवाहरुसँंग रुपैयाँ माग्ने गतिविधिहरु असोभनीय छन् । जुन सुधार गर्न जरुरी छ । जिल्लाको ऐतिहासिक तथा सामाजिक परम्परासँग जोडिएको लाखेनाच (पर्व) लाई सबै मिलेर संरक्षण गर्नुपर्ने सवैको दायित्व हो ।

स्वस्थ मनोरन्जन, मौलिक कला एवं संस्कृति झल्काउने विगतको लाखेनाच हालपनि सोहि अनुसार पर्व मनाउनु राम्रो हुन्छ । युवा पुस्ताले आफ्नो संस्कृति र परम्परालाई भुल्दै गएका कारण जिल्लामा लाखेनाच लगायतका अन्य स्थानीय पर्व तथा परम्पराहरु लोप हुने अवस्था पुगेको देखिन्छ । आगामी दिनमा स्थानीय सवै चाडपर्व र परम्पराहरुलाई युवाहरुले अग्रजहरुबाट ज्ञान तथा अनुभव लिएर संरक्षणको पहल लिनु पर्छ । उचित चासो, चिन्ता र पहल लिन हामीले कन्चुस्याइ गर्यौं भने जिल्लाको लाखेनाच मात्र नभएर अन्य स्थानीय मेला, पर्व, नाच, गीत र संस्कृतिहरु लोप हुदै जाने खतरा बढेको छ ।

भेरी नगरपालिकाको आब २०७५÷०७६ मा सम्पन्न नगर सभाले खलंगामा मनाइने लाखेनाच लगायतका पर्वहरु र जाजरकोट दरबारको संरक्षणका लागि विशेष नीतिगत निर्णय गरिएको छ । उक्त निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्न हामी सवैले पहल गर्नु पर्छ ।

“मौलिक परम्परा र सस्कृति हाम्रा अमुल्य धरोहर हुन सवैले यीनको संरक्षणको पहल गरौं ।”

प्रतिकृया दिनुहोस्