Hamro Sanchar

राष्ट्रिय परिचय–पत्रका लागि जाजरकोटमा चार हजार बढीको विवरण दर्ता

बद्री पन्त प्रकाशित : २०७७/१२/३० गते
जाजरकोट

जाजरकोट जिल्लामा राष्ट्रिय परिचय–पत्रका लागि चार हजार बढी नागरिकको विवरण संकलन तथा दर्ता भएका छन । जिल्ला प्रशासन कार्यालयबाट गत साउनदेखि सञ्चालन भएको कार्यक्रममा नागरिकले आफ्नो विवरण दर्ता गराएका हुन ।

सदरमुकामबाटै परिचय–पत्रको विवरण दर्ता गर्ने काम भईरहेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले जानकारी दिएका छन । जिल्लाका सबै पालिकाका वडातहसम्म अभियान सन्चालन गर्न मन्त्रालयबाट परिपत्र आएको छैन प्रजिअ देवकोटाले भने–‘परिपत्र आएमा घुम्ती शिवीर सन्चालन गरेर राष्ट्रिय परिचय–पत्रका लागि विवरण दर्ता शिविर सन्चालन गरिने छ ।’ जिल्ला प्रशासन कार्यालयबाट दैनिक ३० देखि ४० को हाराहारीमा परिचय–पत्र दर्ता गर्ने काम भई रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

राष्ट्रिय परिचय–पत्र दर्ता गर्ने काम पालिकाबाटै हुनु पर्ने बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहको भनाई रहेको छ । गाउँमा यसबारे कुनै जानकारी छैन अध्यक्ष शाहले भने–‘जाजरकोटका ७ वटै स्थानीय तहबाट नागरिकको विवरण दर्ता कार्य गर्दा राम्रो हुन्छ ।’ राष्ट्रिय परिचय–पत्र दर्ता गर्न स्थानीय सरकारले के गर्नु पर्छ हामी तयार छौं, अध्यक्ष शाहले भने । जिल्लाका सबै पालिकाका वडा तहमा गएर राष्ट्रिय परिचय–पत्रका लागि विवरण संकलन तथा व्यक्तिगत घटना अद्यावधिकगरी अभियानको रुपमा सन्चालन हुनु पर्ने कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतको भनाइ रहेको छ ।

नागरिकहरूको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहु उपयोगी प्रमाण–पत्र राष्ट्रिय परिचय–पत्रको रुपमा सरकारले सबै नागरिकलाई दिने लक्ष्य राखेको छ । उक्त कार्यलाई सरकारले प्राथमिकताका साथ सञ्चालन गरीरहेको भएता पनि कोभिड–१९ ले प्रभावित बनाउने देखिन्छ ।

प्रतिकृया दिनुहोस्