News Portal

जाजरकोटमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको भवन सिलान्यास

यसै आर्थिक बर्षदेखि नलगाड हाईड्रोपावरको निर्माण कार्य सुरु हुन्छ :– पूर्वमन्त्री बस्नेत

१३४९ पटक

भेरी नगरपालिका–३ स्यालापाखा राताचौरमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको भवन सिलान्यास भएको छ । पूर्व वन तथा वातावरण मन्त्री तथा प्रतिनीधि सभा सदस्य शक्ति बहादुर बस्नेतले बुधबार जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको भवन सिलान्यास गरेका हुन् ।

नेपाल सरकारको स्वामित्वमा रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले औषधीजन्य जडीबुटीको उत्पादन, संकलन तथा प्रशोधन गर्नुको साथै बजारीकरण गर्दै आएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले जानकारी दिए । लिमिटेडले जाजरकोटको राताचौरमा ८ करोडको लागतमा कार्यालय भवन, जडीबुटी प्रशोधन केन्द्रका भौतिक संरचना निर्माण गर्नुको साथै औषधीजन्य जडीबुटी उत्पादन गर्ने जग्गाको ब्यबस्थापन गर्ने लक्ष्य रहेको महाप्रबन्धक कार्कीले भनाई राखेका थिए । लिमिटेडले जाजरकोटमा जटामसी, तेजपत्ता, टिमुर लगाएतका औषधिजन्य जडीवुटीको उत्पादन गर्नुको साथै प्रशोधन गरेर बजारीकरण गर्ने कार्कीले बताएका थिए । जाजरकोटमा लिमिटेडले बार्षिक १० करोडको कारोबार गर्ने लक्ष्य राखेको जानकारी दिदै महाप्रबन्धक कार्कीले नेपाल सरकारले गाँजा खेतीलाई कानुनी मान्यता दिएमा लिमिटेडले जाजरकोटमा गाँजा उत्पादन गर्नुको साथै गाँजालाई प्रशोधन गरेर सिल्पिङ्ग ट्याब्लेट, पिङ्किलर जस्ता औषधीको उत्पादन गरेर बजारीकरण गर्ने बताएका थिए ।

वनबाट काठजन्य उद्योग संचालन गरेर, जडीबुटी तथा गैरकाष्ठको व्यापार गरेर, कार्वनको कारोबार गरेर, वन्यजन्तुको पालन गरेर, पर्या पर्यटनको माध्यामबाट लाभ हासिल गर्न सकिने बताउदै जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका अध्यक्ष तथा नेपाल सरकारका सह–सचिव डा. सिन्धु प्रसाद डुङगानाले वन्यजन्तुमा कस्तुरी पालनको श्रोत केन्द्र र जडीवुटी उत्पादन तथा प्रशोधन केन्द्र गरी दुई वटा कार्यक्रम जाजरकोटमा संचालन भई रहेको भनाई राखेका थिए । बिगतमा घाटामा गएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड पूर्वमन्त्री बस्नेतको भिजनमा सक्रिय भएपछि हाल नाफामा जान सफल भएको डा. डुङगानाको भनाई रहेको थियो । जाजरकोटमा स्थापना भएको जडीवुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले जाजरकोटलाई मात्र नभएर कर्णाली प्रदेशकै आर्थिक समृद्धीमा योगदान गर्नेमा डा. डुङगानाले बिश्वास दिलाएका थिए ।

कर्णालीको प्रतिपक्षी भनेको गरिबी र कम्जोर शिक्षा रहेको बताउदै पूर्व वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले जल, जमिन, जडीबुटी र पर्यटनको सहि सदुपयोगले कर्णालीको सुन्दर भबिश्यलाई मुखरित गरेको बताए । कर्णाली प्रदेशका सबै नदीनालामा त्यतिकै बगेर खेर गईरहेको जलबाट विद्युत उत्पादन गर्नुपर्ने बताउदै पूर्वमन्त्री बस्नेतले जिराको भाउमा बिक्री हुदै आएका जडीवुटीलाई कर्णाली प्रदेशमै प्रशोधन गरेर हिराको भाउमा विक्री गर्नुपर्ने भनाई राखेका थिए । नक्सामा वन क्षेत्र देखाईएका ठुला पाटन तथा घाँसे मैदानहरुमा बहुँमुल्य जडीवुटी तथा बिश्व बजारसंग प्रतिष्पर्दा गर्न सकिनेगरी फलफुल खेती गर्नु पर्ने कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पूर्वमन्त्री बस्नेतले भनाई राखेका थिए । पहिलेका मान्छेहरु खाना नपाएर रोगी हुने गरेको भएता पनि अहिलका मान्छेहरु बढि खाएर सुगर, प्रेसरका रोगी हुने गरेको बताउदै पूर्वमन्त्री बस्नेतले अहिलेका दीर्घ रोगीहरुले प्राकृतिक चिकित्सा प्रणालीलाई अबलम्बन गराउन कर्णालीलाई पर्यटन औद्योगिक क्षेत्रमा विकास गराउन सकिने बताए ।

जाजरकोट जिल्लाको समग्र विकास गतिले सन्तुलन कायम गरिरहेको बताउदै पूर्वमन्त्री बस्नेतले भेरी करिडोर त्रिदेशिय राजमार्गले उत्तर दक्षिणलाई जोडेको बताए । मध्यपहाडी लोक मार्गले पूर्व पश्चिमलाई जोडेको जानकारी दिदै पूर्वमन्त्री बस्नेतले लम्बिनी–रारा राजमार्गले कर्णाली प्रदेशका सबै जिल्लालाई काठमाडौंसंग जोड्न जाजरकोट जिल्लालाई गेट वे मा राखेको बताए । ४१७ मेघावाट विद्युत उत्पादन क्षमता रहेको नलगाड हाईड्रोपावरको निर्माण कार्यलाई यस आर्थिक बर्षबाट निर्माण कार्यको सुरुवात गराउने पूर्वमन्त्री बस्नेतले बिश्वास दिलाए । जाजरकोट जिल्लाका सबै पालिकामा संचार सुविधालाई विस्तार गर्न टेलीफोन टावर निर्माण कार्यको जिम्मा लिएका निर्माण कम्पनीलाई परिवर्तन गरेर निर्माण कार्य भईरहेको बताउदै पूर्वमन्त्री बस्नेतले आगामी असोज महिनासम्म जिल्ला सबै पालिकामा संचार सेवा बिस्तार हुने बताए । जिल्लामा प्राविधिक शिक्षाको बिकास गर्न जाजरकोट बहुँ प्राविधिक शिक्षालय संचालन भएको बताउदै पूर्वमन्त्री बस्नेतले स्वास्थ्य सेवालाई व्यवस्थित गर्न ५० शैयाको अस्पताल भवन निर्माणको काम युद्ध स्तरमा अगाडी बढेको बताए । पालिका स्तरीय अस्पताललाई व्यवस्थित गर्न जिल्लाका सबै जनप्रतिनीधि र राजनैतिक दलका प्रमुखहरु लागि पर्नु पर्ने बस्नेतले बताए ।

कालाभुरको ग्राफाईड खानीको अध्ययन भई रहेको जानकारी दिदै पूर्वमन्त्री बस्नेतले बारेकोटको फलाम खानी, नलगाडको तामा खानी, कुशे, छेडागाड र जुनीचाँदेको बहुँमुल्य रत्नपत्थर प्रशोधन केन्द्रको लागि खानी विभागसंग छलफल भईरहेको भनाई राखेका थिए । आर्थिक विकासका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत जिल्लामा सुन्तला र मौरी जोन संचालन आईरहेको जानकारी दिदै पूर्वमन्त्री बस्नेतले यस बर्षदेखि ओखर जोन संचालनमा संचालन हुने जानकारी दिए । वन तथा वातावरण मन्त्रालयबाट जिल्लामा टिमुर जोनको कार्यक्रम संचालन भईरहेको पूर्वमन्त्री बस्नेतले जानकारी दिए । जाजरकोटमा स्थापना भएको जडीवुटी उत्पादन तथा प्रशोधन केन्द्रले जाजरकोट जिल्लाको मात्रै नभएर कर्णाली प्रदेशकै आर्थिक समृद्धीमा टेवा पुर्याउने पूर्वमन्त्री बस्नेतले विश्वास व्यक्त गरेका थिए ।

जडीवुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालय भवनको निर्माण कार्य २०७९ जेठ ११ गते सम्पन्न गर्ने गरी ज्ञान ज्योती बिल्डर्स प्राली कोटेश्वर–१३ काठमाडौँले जिम्मा लिएको बताईएको छ । भवन सिलान्यास समारोहमा नलगाड नगरपालिकाका प्रमुख टेक बहादुर रावल, भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्ती, नेकपा माओवादी केन्द्र जाजरकोट अध्यक्ष ढकवीर राना, नेपाली कांग्रेसका प्रतिनीधि खम्ब जंग शाह, नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाहले शुभ कामना मन्तव्य राखेका थिए भने, जिल्ला समन्वय समिति, जाजरकोटका प्रमुख मन बहादुर रावलले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिकृया दिनुहोस्