News Portal

सडक डिभिजनद्धारा जाजरकोटमा ६ किलोमिटर माटो कटिङ्ग

७९० पटक

सडक डिभिजन कार्यालय चौरजहारीले जाजरकोटमा ६ किलोमिटर माटो कटिङ्ग गरेको छ भने, १ दशमलब ५ किलोमिटर सडक ग्राभेल गरेको छ । रुकुमपश्चिमको चौरजहारीमा रहेको सडक डिभिजन कार्यालयले आर्थिक बर्ष २०७७÷०७८ मा जाजरकोट जिल्लामा सडकको उक्त काम सम्पन्न गरेको हो ।

आर्थिक बर्ष २०७७÷०७८ को बार्षिक प्रगति समिक्षा गर्दै सडक डिभिजन कार्यालय चौरजहारीले जाजरकोट जिल्लाको नलगाड झिम्रिखोलामा २ वटा बेलीब्रिज निर्माण गरेको बताएको छ । लुम्बिनी केशव शाह जेभी निर्माण सेवाद्धारा निर्माण गरिएका उक्त २ वटा बेलीब्रिजको कामलाई कार्यालयले भौतिक प्रगति तर्फ सय प्रतिशत देखाएको छ भने, वित्तिय प्रगति तर्फ ९९ प्रतिशत देखाएको छ । भेरी करिडोर अन्तरगत पासागाड–रिम्न सडकको कालोपत्रे गर्ने कामको भौतिक प्रगति ५५ प्रतिशत भएको छ भने, वित्तिय प्रगति ४३ दशमलब ५७ प्रतिशत भएको कार्यालयले जनाएको छ । दिवा–यति बिल्डर्स जेभीद्धारा पासागाड–रिम्ना सडकको कालोपत्रे गर्ने काम भईरहेको छ ।

खड्क किष्ण निर्माण सेवाद्धारा निर्माण कार्य भईरहेको लिर्ता–कार्कीगाउँ, मछाईना–पाँचकाटिया सडकको काम भौतिक प्रगति ७५ प्रतिशत र वित्तिय प्रगति ७३ प्रतिशत भएको कार्यालयले जनाएको छ । केएसके निर्माण सेवाद्धारा निर्माण कार्य भईरहेको मोर्क–शिवालय रोडको भौतिक प्रगति ७५ प्रतिशत र वित्तिय प्रगति ६३ प्रतिशत भएको कार्यालयले जनाएको छ । ४ वटा पिसमा ठेक्का खोले छेडा–जाजरकोट सडक खण्डको काम सम्पन्न भएको कार्यालयले जनाएको छ । अनुग्रह निर्माण सेवाद्धारा निर्माण कार्य सम्पन्न भएको ठेक्का नम्बर ७७–१३ को भौतिक र वित्तिय प्रगति १०० प्रतिशत भएको कार्यालयले दावी गरेको छ । त्यसैगरी मालिका बस्नेत कन्ट्रक्सनद्धारा निर्माण कार्य सम्पन्न गरिएको ठेक्का नम्बर ७७–४४ को भौतिक र वित्तिय प्रगति १०० प्रतिशत भएको छ । कार्यालयले दिएको जानकारी अनुसार लक्कि निर्माण सेवाद्धारा निर्माण कार्य सम्पन्न भएको ठेक्का नम्बर ७८–०६ को भौतिक प्रगति १०० प्रतिशत भएको छ भने, वित्तिय प्रगति ९९ प्रतिशत भएको छ । चौरजहारी बिल्डर्स सेवा एण्ड सप्लायर्सद्धारा निर्माण कार्य सम्पन्न भएको ठेक्का नम्बर ७८–०१ को भौतिक प्रगति १०० प्रतिशत भएको छ भने, वित्तिय प्रगति ९९ प्रतिशत भएको छ ।

आर्थिक बर्ष २०७७÷०७८ मा कार्यालयले जाजरकोट जिल्लामा २ वटा बेलीब्रिज निर्माण गरेको छ भने, १ दशमलब ५ किलोमिटर सडक ग्राभेल गरेको छ । ६ किलोमिटर सडकको माटो कटिङ्ग गरेको छ । संघ र प्रदेश सरकारको बजेट कार्यान्वयन गर्दै आएको सडक डिभिजन कार्यालय चौरजहारीले जाजरकोट जिल्लामा पासगाड–रिम्ना सडकको कालोपत्रे गर्ने काममा जग्गा बिवादले काम गर्न समस्या पैदा भएको बताएको छ भने, पहिरोको उच्च जोखिमले खलंगा–पाँचकाटिया सडकको राङसी खण्डमा एलामेन्ट परिवर्तन गर्नुपर्ने बताएको छ ।

संघको बजेट कार्यान्वयन गर्न रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट र डोल्पा जिल्ला, प्रदेश सरकारको बजेट कार्यान्वयन गर्न रुकुमपश्चिम, जाजरकोट, डोल्पा, सल्यान र सुर्खेत जिल्ला कार्यक्षेत्र भएको कार्यालयमा आर्थिक बर्ष २०७८÷०७९ मा जाजरकोट जिल्लाको लागि रारा–मुगु राजमार्गको स्वीकृत १० करोड बजेटको ठेक्का व्यवस्थापन गरी निर्माण कार्य सुरु भईसकेको कार्यालयले जनाएको छ । पाँचकाटिया–चाल्ना, व्याउलीढुङ्गा–जुम्ला सडकको स्वीकृत ३ करोडको लागत अनुमानको प्रक्रियामा रहेको कार्यालयले जनाएको छ । जाजरकोट–छेडा, चाँदे–टोप्ला सडकको स्वीकृत ३ करोडको लागत अनुमानको प्रक्रियामा रहेको कार्यालयले जानकारी दिएको छ । त्यसैगरी रारा राजमार्ग अन्तरगत स्वीकृत १३ करोडको लागत अनुमानको प्रक्रियामा रहेको कार्यालयले बताएको छ ।

प्रतिकृया दिनुहोस्