News Portal

नलगाड नगरपालिकाद्धारा ११९ प्रतिशत आन्तरिक राजश्व संकलन

६२८ पटक

नलगाड नगरपालिकाले ११९ दशमलब ९७ प्रतिशत आन्तरिक राजश्व संकलन गरेको छ । नलगाड नगरपालिकाले प्रक्षपन गरिएको लक्ष्य भन्दा १९ दशमलब ९७ प्रतिशत बढि आन्तरिक राजश्व संकलन गरेको हो ।

आर्थिक बर्ष २०७७÷०७८ मा ६५ लाख आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य लिएको नलगाड नगरपालिकाले आर्थिक बर्षको अन्तसम्म ७७ लाख ९७ हजार ७८१ आन्तरिक राजश्व संकलन गरेको थियो ।

नेपाल सरकार र प्रदेश सरकारबाट पुँजीगत अनुदान तर्फ स्वीकृत ३२ करोड ६० लाख ९४ हजार ७३६ बार्षिक बजेटमध्ये २४ करोड ५३ लाख ९५ हजार ९५१ खर्चगरी ७५ दशमलब २५ प्रतिशत वित्तिय प्रगति हासिल गरेको नलगाड नगरपालिकाले जनाएको छ । चालु अनुदान तर्फ स्वीकृत २९ करोड ९७ लाख ३१ हजार ४० बार्षिक बजेटमध्ये २७ करोड ४७ लाख २६ हजार ३८९ खर्चगरी ९१ दशमलब ६ प्रतिशत वित्तिय प्रगति हासिल गरेको नगरपालिकाले बार्षिक प्रगति समिक्षामा देखाएको छ । त्यसैगरी कोरोना कोषमा स्वीकृत ८० लाख बार्षिक बजेटमध्ये ७० लाख ६७ हजार ७३९ खर्चगरी ८८ दशमलब ३४ प्रतिशत वित्तिय प्रगति हासिल गरेको नगरपालिकाले जानकारी दिएको छ ।

भौतिक प्रगति तर्फ नलगाड नगरपालिकाले आब २०७७÷०७८ मा २६ दशमलब ७१ किलोमिटर नयाँ सडक निर्माण गरेको छ भने, ६७ दशमलब ३७ किलोमिटर सडक मर्मत तथा सडक सफा गरेको छ । त्यसैगरी नगरपालिकाले ३४ दशमलब ८९ किलोमिटर घोरेटो बाटो निर्माण गरेको छ । नगरपालिकाले खानेपानी योजनाका ९ वटा क्याचमेन्ट, ३ वटा ईन्टेक, ४ वटा ट्यांकी, ४ वटा विपिटी, २ वटा डिटि र ९५ वटा धारा निर्माण गर्नुको साथै २२ दशमलब ५५ किलोमिटर पाईप लाईन विस्तारगरी खानेपानी संचालन गरेको बार्षिक प्रगति समिक्षामा देखाईएको छ ।

त्यसैगरी नगरपालिकाले ८ वटा स्वास्थ्य संस्थाका भवन, २ वटा वडा कार्यालय भवन निर्माण गरेको छ भने, ७ वटा वडा कार्यालयका भवन निर्माणाधिन अबस्थामा रहेका छन् । १८ वटा विद्यालयका भवनको निर्माण कार्य सम्पन्न भएको छ भने, स्वास्थ्य संथाका १ वटा र नगर पालिकाको १ वटा प्रशासनिक भवन निर्माणाधिन अबस्थामा रहेको छ । २१ वटा विद्यालयका शौचालय र ८ वटा मठ मन्दिरको निर्माण कार्य सम्पन्न गरेको छ । सहकारीका २ वटा भवन निर्माणाधिन अबस्थामा रहेका छन भने, ५ किलोमिटर विद्युत लाईन विस्तार गर्नुको साथै ३ वटा लघु जलविद्युत आयोजनाका पावर हाउस मर्मत गरेको छ ।

२ दशमलब ४ किलोमिटर विद्यालय घेरावार निर्माण गरेको नगरपालिकाले विद्यालयमा ५९ जोडा फर्निचर निर्माण गरेको छ । १५० मिटर ढल निकासको नाली निर्माण सम्पन्न गरेको छ । ५ वटा काठेपुल निर्माण गरेको नगरपालिकाले ४ वटा विद्यालयको फिल्ड निर्माण कार्य सम्पन्न गरेको छ । २ वटा स्वास्थ्य प्लान्ट पिट निर्माण गरेको नगरपालिकाले २ वटा ट्रष्टवृज निर्माण र १ उप–पशुसेवा केन्द्रको भवनको निर्माण कार्य सम्पन्न गरेको छ ।

नगरपालिकाले २ दशमलब ८ किलोमिटर आरसीसी सिंचाई कुलो निर्माण गरेको छ भने, पाईप सिंचाई अन्तरगत २ वटा क्याचमेन्ट, २ वटा ईन्टेक, १ वटा ट्यांकी, १ वटा डिटी, १८ दशमलब ३२ किलोमिटर पाईपलाईन विस्तार गरी सिंचाई आपुर्ती गरेको छ । २ हजार ९०८ घनमिटर तारजाली तथा तटबन्धनको निर्माण कार्य सम्पन्न गरेको छ । त्यसैगरी फोहर खाडल निर्माण गर्नुको साथै १७१ सेट सोलार खरिद गरी वितरण गरेको छ ।

आब २०७७÷०७८ मा नगरपालिकाले ४ वटा ऐन, ३ वटा निर्देशिका, २ वटा कार्यविधि, १ वटा नियमावली र १ वटा मापदण्डगरी ११ वटा कानुन निर्माण गरेको छ । आब २०७७÷०७८ मा ३ वटा नगर सभा सम्पन्न गरेको नगरपालिकाले १६ पटक कार्यपालिकाको बैठक सम्पन्न गरेको छ । जटिल प्रकृतिका ३१ जना विपन्न नागरिकलाई उपचार गर्न आर्थिक सहायता प्रदान गरेको छ । विपदबाट पूर्ण र आंशिक रुपमा घर क्षेति भएका ७२ घरपरिवारलाई राहत वितरण गरेको छ ।

४७३ जनालाई गरिएको पीसिआर परीक्षणबाट ७ जनालाई र ३०३ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट १४९ जनालाई कोरोना पोजेटिभ देखिएको थियो । ३ जनाको मृत्यु भएको थियो भने, बाँकी सबैको सामान्य उपचारपछि घर फर्किएका थिए ।

बजार अनुगमनमा ३३२ व्यापारिक फर्महरु तथा पसलहरुको अनुगमन गरी ८७ हजार मूल्य बरावरको म्याद नाघेका सामानहरु नष्ट गरेको नगरपालिकामा दर्ता भएका व्यापारिक फर्महरु २७६ वटा रहेका छन् । आब २०७७÷०७८ मा ४ वटा घ वर्गका नयाँ निर्माण लाईसेन्स वितरण गरेको छ भने, १५ वटा घ वर्गका ईजाजतपत्र नविकरण गरेको छ । ३९ जनालाई अपाङ्ग परिचयपत्र वितरण गरेको छ । प्रदेश सरकारको खाता छोरीको सुरक्षा जीवन भरिको कार्यक्रम अन्तरगत आब २०७७÷०७८ मा २०९ जना बालिकाको वैंक खाता खोलेको छ ।

नगरपालिकामा सुचीकृत भएका २ हजार २१५ जना बेरोजगारमध्ये १ हजार ५६६ पुरुष र ६४९ जना महिला रहेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ३७८ जनालाई ३९ हजार ८४० दिनको रोजगार प्रदान गरेको छ ।

नलगाड नगरपालिकाले ९१० जना सुनौला हजार दिनका आमाहरुलाई लोकल तोरीको तेल, आयोडिन नुन, भेली, लोकल (माऊँ) कुखुरा र कम्पोजिट विऊँ प्याकेज वितरण गरेको छ । आब २०७७÷०७८ मा संस्थागत सुत्केरी हुने आमाहरुको संख्या ४६१ जना रहेको छ भने, चार पटक गर्भजाचँ गर्ने महिलाहरुको प्रतिशत ६६ पुगेको छ ।

न्यायिक समितिमा परेका ३२ वटा उजुरीमध्ये २१ वटा उजुरीको मिलापत्र भएको छ । ५ वटा उजुरी पेशीमा रहेका छन् भने, ६ वटा उजुरीको छलफल हुन बाँकी रहेको छ । आब २०७७÷०७८ मा १ हजार ६५५ जनाको जन्म, २४९ जनाको मृत्यु, १५६ जनाको बसाई–सराई, २६६ जनाको बिवाह, ५ जनाको सम्बन्ध विच्छेदका घटना दर्ता भएका छन् ।

प्रतिकृया दिनुहोस्