Hamro Sanchar

मातृ भाषाबाट पढाई संचालन गर्न विद्यालयलाई कुशे गाउँपालिकाको अनुमति

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/७/३० गते
जाजरकोट

मातृ भाषाबाट पढाई संचालन गर्न कुशे गाउँपालिकाले एक विद्यालयलाई अनुमति दिएको छ । मगर तथा जनजाति समुदायको मातृ भाषा उत्थान गर्न गाउँपालिकाले विद्यालयलाई पढाई संचालन गर्न अनुमति दिएको हो ।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले कुशे गाउँपालिका–८ स्थित जय जनजाति प्राथमिक विद्यालयलाई अनुमति दिएको गाउँपालिकाले जनाएको छ । उक्त विद्यालयमा प्राथमिक स्तरको पढाई मगर भाषासंगै अंग्रेजी र नेपालीबाट पनि संचालन भई रहेको गाउँपालिकाले बार्षिक प्रगति समिक्षामा देखाएको छ । सुचना तथा संचारलाई व्यवस्थित गर्न गाउँपालिकाले एफएम रेडियोको भवन निर्माण गर्नुको साथै मेशिनरी सामाग्री जडान गरी रेडियो संचालनमा ल्याएको गाउँपालिकाले बार्षिक प्रगति समिक्षामा देखाएको छ । पर्यटन प्रवद्र्धन गर्न ८ वटा मन्दीर निर्माण गरेको कुशे गाउँपालिकाले आर्थिक बर्ष २०७७÷०७८ मा २९ दशमलब ४ किलोमिटर सडकको ट्रयाक खोलेको देखाएको छ । १३ वटा विद्यालय भवन, ७ वटा विद्यालय शौचालय निर्माण गर्नुको साथै ४ वटा विद्यालय भवन मर्मत गरेको बार्षिक प्रगति समिक्षामा देखाईएको छ ।

११ वटा खानेपानी योजना सम्पन्न गरी संचालनमा ल्याएको गाउँपालिकाले ४ वटा स्वास्थ्य चौकी भवन निर्माण गरेको बताएको छ । अर्गानिक गाउँपालिका बनाउन रासायनिक मल तथा बिषादी आयातमा रोक लगाएको गाउँपालिकाले आब २०७८÷०७९ मा सार्वोतम पिठो उद्योग संचालन गर्ने लक्ष्य लिएको छ ।

नेपाल सरकार र प्रदेश सरकारको वित्तिय समानिकरण, शसर्त अनुदान, राजश्व बाडँफाड, समपुरक, विशेष अनुदान, गाउँपालिकाको आन्तरिक आम्दानी, संचित कोष र कार्यसंचालन कोष गरी आव २०७७÷०७८ मा गाउँपालिकाको कुल आम्दानी ३९ करोड ६१ लाख ४६ हजार रहेको बार्षि प्रगति समिक्षामा देखाईएको छ । चालु तर्फ २६ करोड ९० लाख २७ हजार र पुँजीगत तर्फ ११ करोड १५ लाख ४६ हजारगरी जम्मा ३८ करोड ५७ लाख ३ हजार खर्चगरी ९७ दशमलब ३१ प्रतिशत वित्तिय प्रगति हासिल गरेको गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँपालिकाको पशुपन्छी शाखाबाट आब २०७७÷०७८ मा १ हजार ९०६ पशुलाई औषधि उपचार गरिएको छ । ५०० कुकुरलाई रेविज विरुद्धको खोप लगाईएको छ । किसानहरुलाई १२५ वटा बाख्रा र ४ वटा बोका बितरण गरेको छ । २५ घरधुरीलाई ४ थुमा मेशिनरी औजार हस्तारण गर्नुको साथै ७५ वटा भेडा वितरण गरिएको छ । सुनौला हजार दिनका आमाहरुलाई ४०० कुखुरा वितरण गरेको छ । ३ हजार ४४७ पशुको बिमा गरेको छ । त्यसैगरी कृषि शाखाबाट बाली पकेट कार्यक्रम अन्तरगत मकै र भट्टमासको पकेट संचालन गरेको छ । पकेट कार्यक्रम अन्र्तगत ४ वटा तालिम संचालन गरेको गाउँपालिकाले २५ सय किसानहरुको सूचिकरण गरेको छ । मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तरगत कुशे–८ मा ५५० घरधुरीलाई टिमुर, सून्तला, कागतीका विरुवा वितरण गरेको छ । आब २०७७÷०७८ मा २८ वटा कृषक समुह दर्ता भएका छन् । गाउँपालिकामा जम्मा दर्ता भएका कृषक समुह १४२ वटा रहेका छन् । २२५ जना सुनौला हजार दिनका आमालाई उन्नत तरकारीको विउ वितरण गरेको छ ।

रकम असुली ५, गालीगलौज १ र कुटपिट १ गरी आब २०७७÷०७८ मा न्यायिक समितिमा परेका जम्मा ७ वटै उजुरीको फर्छौट भएको गाउँपालिकाको बार्षिक प्रगति समिक्षामा देखाईएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाबाट गाउँपालिकाले १७१ जना जोखिममा रहेका बालबालिकालाई खाद्यन्न वितरण गरेको छ । २३ वटा बाल क्लब सुचीकृत गरेको छ । ३०७ जनालाई ७०० को दरले अपाङ्ग छात्रबृति वितरण गरेको छ । स्वास्थ्य चौकी प्रमुख मार्फत ७३० जना गर्भवति आमाहरुलाई पोषण प्याकेट वितरण गरेको छ । पालिकाका सवै मावि र निमाविमा स्यानिटरी प्याड वितरण गरेको छ । पालिकाका केही वडाहरुमा एकल महिलाहरुलाई उन्नत जातका बाख्रा वितरण गरेको छ । बालबालिका सम्बन्धि ३ वटा कार्यविधि र एक वटा निर्देशिका निर्माण गरिएको छ ।

५८७ जना जेष्ठ नागरिक, २३५ जना दलित जेष्ठ नागरिक, १५६ जना एकल महिला जेष्ठ नागरिक, २७२ जना विधुवा र २ हजार २६६ जना बालबालिकालाई गाउँपालिकाले आब २०७७÷०७८ मा सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाले आब २०७७÷०७८ मा ९९ जनाको जन्म दर्ता गरेका छन् भने, १७ जनाको मृत्यु दर्ता गरेको छ । ४१ जनाले बिवाह दर्ता गरेका छन् ।

प्रतिकृया दिनुहोस्