Hamro Sanchar

अनलाईन खबरमा प्रकाशित समाचार पढेपछि नरेशको सोचाईमा परिवर्तन

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/१/७ गते
जाजरकोट

छेडागाड नगरपालिका–११ सालटाकुरा ढुङ्गीलका नरेश थापा गत साउन १७ गते मलेसियाबाट घर फर्केका हुन् । हाल उनले आफ्नो घर नजिकै कुखुराको दाना उद्योग संचालनमा ल्याएका छन् । दैलेख जिल्लाको पाथीहाल्नामा रहेको कुखुराको दाना उत्पादन उद्योग कर्णाली प्रदेशकै पहिलो उद्योग हो भने, थापाले संचालन गरेको कुखुराको दाना उत्पादन उद्योग कर्णाली प्रदेशकै दोस्रो उद्योग हो । थापाले आफ्नो उद्योगको नाम ‘हातेमालो कृषि दाना उद्योग’ राखेका छन् ।

२०७२ सालदेखि गत साउन १७ गते भन्दा केही दिन पहिलासम्म नरेश मलेसियाको एक कम्पनीमा सेक्युरेटी गार्ड थिए । मलेसियाको एक कम्पनीको सेक्युरेटी गार्ड भएता पनि नरेशले नेपालको स्थिति र अबस्थाकाबारेमा अनलाईन मार्फत जानकारी लिने गरेका थिए । कोभिड–१९ को प्रभावले सरकारले गरेको बन्दाबन्दीले नेपालमा पारेको अबसरकाबारेमा अनलाईन मार्फत दैनिक जानकारी लिएपनि दैनिक ड्युटी गर्नु, मासिक तलब बुझ्नु, घरमा पैसा पठाउनु नै थापाको मुख्य सोचाई थियो । एक दिन अनलाईन खबरमा प्रकाशित भएको समाचारले उनको सोचाईमा परिवर्तन ल्याई दिएको थियो । पूर्वी नेपालको समाचाले पश्चिम नेपालका तर, मलेसियाको एक कम्पनीमा सेक्युरेटी गार्ड नरेशको सोचाईलाई परिवर्तन गरेको थियो । सरकारले नेपालमा गरेको बन्दाबन्दीले पूर्वी नेपालको एक पोल्टी फर्मले कुखुराको दाना नपाएर करोडौंको घाटा ब्यहोर्नु परेको समाचार नरेशले अनलाईन खबरमा पढेका थिए । उक्त समाचारमा करोडौंको घाटा सहन बाध्य भएको पाल्टी फर्मका संचालक हटअट्याक भएर मृत्यु भएको सन्देशले नेपालमा फर्केर कुखुराको दाना उत्पादन गर्ने उद्योग संचालन गर्ने नरेशको सोच बनेको थियो ।

गत साउन १७ गते घरमा पुगे लगतै नरेशले कुखुराको दाना उद्योगलाई समुह मार्फत संचालन गर्ने सोच बनाए । ५ सदस्य हातेमालो कृषि दाना उद्योग समुह गठन गरेर नरेश उक्त समुहको सचिब भएका छन् । दाना उद्योगमा आबश्यक पर्ने मेशिन, ग्रिण्डर मिक्चर, बोरी सिलाउने मेशिन, डिजिटल काँटा र जेनिरेटरगरी ५ लाख बराबरको सामाग्री सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटद्धारा संचालित अबसर परियोजनाले सहयोग गरेको छ भने, उद्योगको भौतिक संरचना निर्माण गर्नुको साथै मेशिन जडानमा नरेशले व्यक्तिगत लगानी गरेका छन् । उद्योग संचालनका लागि आबश्यक पर्ने मकै, १० प्रकारका भिटामिन, चुन ढुङ्गा, हड्डीको धुलो, ढुटो, तिल, तोरी, सुर्यमुखी, भट्टमासको पिना लगाएतका कच्चा पदार्थ खरिदमा व्यक्तिगत १४ लाख लगानी गरिसकेको नरेशले जानकारी दिएका छन् । कोभिड–१९ को प्रभाव अझैपनि यथावत रहेको जानकारी दिदै नरेशले सरकारले नेपाललाई फेरी बन्दाबन्दी गरेपनि मोटर साईकलको प्रयोगबाट कुखुराका चल्ला ल्याउन सकिने तर, कुखुराको दाना ल्याउन नसकिने तर्क गर्ने गरेका छन् । आफुले संचालन गरेको उद्योगले जिल्लाका कुखुरा व्यबसायी किसानहरुले दानाको लागि चिन्ता गर्नुपर्ने अबस्थाको अन्त्य भएको नरेशले दावी गरेका छन् । कुखुराको दाना उत्पादन उद्योगले मकै, तोरी, तिल, सुर्यमुखी, भट्टमासको उत्पादनलाई बृद्धी गर्न किसानहरुलाई आकर्षित गर्ने नरेशले भनाई राखेका छन् ।

जाजरकोटका किसानहरु कुखुरा पालन व्यबसायमा आकर्षित भईरहेको वेला नरेशले दाना उत्पादन उद्योगलाई संचालनमा ल्याएका छन् । बिगत ८ बर्ष पहिलेदेखि कुखुरा पालन व्यबसाय सरु गरेका जिल्ला किसानहरुले हाल जाजरकोटका किसानहरुले धनगढी, चिसापानी, बर्दिया, कालिकोट लगाएतका बजारमा कुखुरा पठाउने गरेको जय कृष्ण पोल्टी सप्लायर्सका प्रोपराईटर जय बहादुर खत्रीले जानकारी दिए । कोभिड–१९ को प्रभाबमा गरिएको लकडाउनले कुखुरा पालन ब्यबसाय खस्किएको जानकारी दिदै खत्रीले भने–‘कुखुराको दाना, चल्ला, औषधी लगाएतको ब्यापारमा प्रति महिनामा एक करोड भन्दा माथिको कारोबार गर्दै आएको जय कृष्ण पोल्टी सप्लायर्सले हाल बार्षिक ३५ सय क्वीन्टल दाना बिक्री वितरणमा खुम्चीनु परेको छ, बार्षिक ३५ सय क्वीन्टल दानाको मुल्य २ करोड ३० लाख १२ हजार रुपैया अहिले पनि सप्लायर्सले कर्णाली फिड इण्डष्ट्रीज प्राली वागेश्वरी–४ खजुरा बाँकेलाई बुझाई रहेको छ, जिल्लामै संचालन भएको उद्योगले गुणस्तरीय दाना उत्पादन गर्न सकेमा हामीले बाहिरको दाना ल्याएर विक्रि गर्नु कुनै रहर छैन ।’

कोरोनाको प्रभावले जिल्लाको ब्यापार जति खुम्चिएको भनेतापनि खत्रीले बार्षिक साढी दुई करोड भन्दा माथिको दानाको व्यापार गरी रहेका छन् भने, चल्ला, औषधी, भ्याक्सिन र भाँडागरी तीन करोड भन्दा माथिको बार्षिक कारोबार गरी रहेका छन् । खत्री जस्तै जिल्ला सदरमुकाम खलंगामा कुखुराको दाना व्यापार गर्ने व्यापारी प्रमोद जंग शाह र किशोर केसी हुन् ।

नरेशले संचालन गरेको हातेमालो कृषि दाना उद्योगले दानामा गुणस्तरता दिन सकेमा बजारको खोजीमा भौतारिनु पर्ने अबस्था छैन् । कुखुराको दाना उद्योग संचानमा नरेशसंग संलग्न हातेमालो कृषि दाना उद्योग समुहका अध्यक्ष विमल थापा, कोषाध्यक्ष तुल्सी टमट्टा, सदस्य सिता टमट्टा र कर्णबहादुर चलाउनेका घरमा रहेका बालबालिकाहरुको बचाउ, संरक्षण, विकास र सहभागी जस्ता चार पिल्लर भित्रका बाल अधिकारको ग्यारेन्टी गर्न अबसर परियोजनाले दाना उत्पादन उद्योगलाई सहयोग गरेको पाँचतार युवा संरक्षक मञ्च जाजरकोटका कार्यकारी निर्देशक छवी पन्तले जानकारी दिएका छन् ।

३१ बर्षिय नरेश थापाको घरमा ६६ बर्षिय बुवा नरबहादुर थापा, २५ बर्षिय श्रीमति अस्मिता थापा, ८ बर्षिय बर्षा थापा र ६ बर्षिय रितु थापा दुई छोरी छन् । नरेशकी छोरी बर्षाले नीजि विद्यालयमा कक्षा १ मा पढिरहेकी छन् भने, रितुले नर्सरीमा पढिरहेकी छन् । कुखुराको दाना उत्पादनलाई मुख्य पेशा बनाएका नरेशले जीवनमा जग्गा जमिन खरिद गर्ने, राम्रो ठाउँमा घर बनाउने जस्ता कुनै सोच राखेका छैनन् । दुई वटा छोरीको रुची र क्षमता अनुसारको पढाईमा लगानी गर्ने सोच रहेको थापाले बताए । छोरा र छोरीलाई हेर्ने र बुझ्नेमा आफ्नो समान दृष्टीकोण रहेको बताउदै नरेशले छोराको आशामा अब तेस्रो सन्तान नजन्माउने जानकारी दिएका छन् । १० बर्षको उमेरमा आमा गुमाएका नरेशले घरभित्रको चुलोचौको, ढिक्की जाँतोदेखि मेलापातको स्याला, सोटर, दाउरा घास, खेतबारीमा गरिने कृषिकर्मका सबै कामको अनुभव गरी सकेका छन् । औपचारिक शिक्षा एसएलसी पास नरेशले मलेसियाको कम्पनीमा ५ बर्ष ४८ घण्टाको सफल ड्युटी गरेर बहादुर नेपालीको परिचय दिईसकेका छन् ।

प्रतिकृया दिनुहोस्