Hamro Sanchar

१० बर्ष बित्यो अझै सम्पन्न भएन दुई जिल्ला जोड्ने भेरी नदीको पुल निर्माणको काम

बद्री पन्त प्रकाशित : २०७८/१०/११ गते
जाजरकोट

जाजरकोट र रुकुम पश्चिमलाई जोड्ने भेरी नदीको पुल निर्माण कार्य सुरु गरेको १० बर्ष वितेको छ । १० बर्षसम्म उक्त पुल निर्माणको कामले पूर्णता पाउन सकेको छैन् ।

मध्यपहाडि लोकमार्ग आयोजनाको पूर्व–पश्चिम जोड्ने भेरी नदीमा मोटरेवल पुल निर्माणको काम थालेको १० वर्ष पुग्दा पनि काम अलपत्र परेको छ । ठेकेदारको लापरबाहीले पुल लामो समयदेखि अलपत्र परेको हो । रुकुमपश्चिमको चौरजहारी र जाजरकोटको कुदु जोड्ने भेरी नदी पुल निर्माण अलपत्र परेको छ । मध्यपहाडी लोकमार्ग आयोजना अन्र्तगतको उक्त पुल १० बर्ष देखि निर्माण अलपत्र परेको हो ।

पुल निर्माणमा भएको ढिलाईले रुकुम र जाजरकोट दुई जिल्लाको सडक सञ्जाल जोडिन सकेको छैन । २०६९ मा पुल निर्माणको ठेक्का सम्झौता गरिएको थियो । निर्माण कार्यको जिम्मा लिएको वाईपी कन्ट्रक्सन प्रा.ली. ललितपुरको लापरबाहीले अहिलेसम्म दुई वटा पिलरको आधा काम पनि भएको छैन । १३ करोड ४७ लाख लागतमा उक्त पुल निर्माणको ठेक्का पाएको वाईपीले ३ वर्षभित्रमा पुल निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । पिलर ठड्याउने डिजाइन नमिलेको बहाना गराएर निर्माण कम्पनीले काम बिचमै अलपत्र छोडेको छ । हालसम्म ठेकेदारलाई कारबाहीको दायरामा ल्याई निर्माणको काम छिटो सक्नु पर्ने हो । पुल निर्माणमा भएको ढिलाईले दुइ जिल्लाको विकास निर्माणमा बाधा पुगेको चौरजहारी नगरपालिकाका नगर प्रमुख बिशाल शर्माको भनाई छ ।

बर्षौ वितिसक्ता पनि ठेक्दारको चरम लापरबाहीका कारण पुल निर्माण अलपत्र परेको भेरी नगरपालिका–१३ का वडा अध्यक्ष गोपालबहादुर बटालाले बताएका छन् । लामो समयदेखि पुल नबन्दा व्यापार व्यवसायमा समेत ठुलो असर परेको उद्योग वाणिज्यसंघ चौरजहारीका अध्यक्ष प्रेम सुनारको भनाइ रहेको छ । छिटोछरीतो पुल निर्माणका लागि सम्बन्धित पक्षलाई पटक पटक अनुरोध गरेता पनि व्यवसायीले अटेरी गर्दा समस्या भोग्नु परेको अध्यक्ष सुनारको बताए ।

१ सय मिटर लम्बाइ रहेको उक्त पुल नबन्दा स्थानीयहरु सकसपूर्ण लामो यात्रा गर्न बाध्य भएका छन । त्यस्तै पुल निर्माणको काम अलपत्र पर्दा चौरजहारीमा नया“ शहर निर्माण आयोजनाको काम समेत प्रभावित बनेको छ । भेरी पुल नबन्दासम्म रुकुमको चौरजहारी र जाजरकोट समुन्द्र पारीका दुई भिन्न देश जस्तै भएको नगर प्रमुख शर्माले बताए । सरकारले ठेक्का तोड्ने भन्दा पटक–पटक म्याद थप्दा समेत ठेकेदारले पुल निर्माणको काम नगरेको देखिन्छ, उनले भने ।

मध्यपहाडी लोकमार्ग आयोजनाले जाजरकोट र रुकुम खण्डमा कालो पत्रेको काम अन्तिम चरणमा पुगेको छ तर, पुल नबन्दासम्म रुकुम–जाजरकोट सीधा यातायात सम्बन्ध विस्तार हुन सकेको छैन । यसबाट दुवै जिल्लाको विकास निर्माणमा ठुलो बाधा पुर्याएको बताईएको छ । पुल बने पूर्व इलामको चियाभन्ज्याङ्ग हुँदै पश्चिम दारचुला झुलाघाटसम्मको मध्यपहाडी लोकमार्ग आयोजनाको दूरी छोटिने छ । यो पुल निर्माण भए पूर्व–पश्चिम जाजरकोट, दैलेख, बागलुङ्ग, काठमाडौं लगायत जिल्लाको यात्रा सहज हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्