News Portal

भौतिक बस्तुप्रति आकर्षित बाल मनोबिज्ञान

९२१ पटक

कुनै पनि कुराले आकर्षित गर्न नसकेका अबोध बालबालिकाहरुलाई भौतिक बस्तुले मात्र आकर्षित गर्ने गर्दछ । भौतिक बस्तुमा रमाउन बानी लागेको बाल मनोबिज्ञानलाई नत मातृ स्नेहीताले रोक्न सक्छ । नत घरका आमा, बुवा, दाजु, भाईको प्यारले नै छेक्न सक्छ । शारीरिक रुपमा स्वस्थ र पेटमा भोक लागेको छैन भने, भौतिक बस्तुलाई खेलौना बनाएर बालबालिकाहरु जतिपनि रमाउन सक्छन् । वातावरणिय ब्यबस्थापनमा रमाउन थालेका बालबालिकाहरु घरका आमा, बुवा, दाजु, भाई सबैको प्यारलाई भुल्न तयार हुन्छन भन्ने कुराको सबुत प्रमाणका रुपमा छेडागाड नगरपालिका–४ खातीजेवा स्थित प्रारम्भिक बाल बिकास केन्द्रलाई लिन सकिन्छ ।

जतिवेला विरेन्द्र आधारभुत विद्यालय, खातीजेवाको प्रारम्भिक बाल बिकास केन्द्रको आफ्नै भवन थिएन, खेलमैदान र बालमैत्री शैक्षिक सामाग्री थिएन्, त्यतिवेला बाल बिकास केन्द्रमा छोड्न आएका अविभावकसंगै बालबालिकाहरु घर फर्कने गरेको बालविकास केन्द्रकी शिक्षिका शिला शर्माले बताउने गरेकी छन् । बिहान १० बजेदेखि दिउसो १ बजेसम्म बालबालिकालाई बाल बिकास केन्द्रमा रोक्न निक्कै गाह्रो हुन्थ्यो शिक्षिका शर्माले भनिन्–‘अहिले बाल विकास केन्द्रको आफ्नै भवन बनेको छ, बालमैत्री खेल मैदान र शैक्षिक सामाग्री भएपछि बालविकास केन्द्रका बालबालिकाहरु बेलुका ६ बजेसम्म कक्षा कोठामै बसेर रमाउन तयार हुन्छन् ।’ बाल बिकास केन्द्रको बालमैत्री बाताबरणले बालबालिकाहरुको सर्वाङ्गीक बिकासमा टेवा पुग्ने बताउदै शिक्षिका शर्माले बाल विकास केन्द्रको बालमैत्री बाताबरण निर्माणले गुणात्मक सिकाई उपलब्धी हासिल भएको बताईन् । बालमैत्री बाताबरणले ३५ देखि ४० जना बालबालिका रहेको बाल विकास केन्द्रमा हाल ५० देखि ५८ जना बालबालिका नियमित रुपमा बाल बिकास केन्द्रको कक्षा कोठामा आउने गरेको शिक्षिका शर्माले जानकारी दिईन् ।

सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटद्धारा संचालित अबसर परियोजनाको १० लाख ५४ हजार ५ सय ६३, छेडागाड नगरपालिकाको ७ लाख ५० हजार अनुदान र २ लाख ५० हजार जनश्रमदान गरी जम्मा २० लाख ५४ हजार ५ सय ६३ रुपैयामा विरेन्द्र आधारभुत विद्यालय, खातीजेवामा बाल तथा अपाङ्गमैत्री प्रारम्भिक बाल विकास केन्द्रको आधुनिक भवन निर्माण गरिएको छ । बाल तथा अपाङ्गमैत्री प्रारम्भिक बाल विकास केन्द्रको कक्षा कोठामा प्रयाप्त मात्रामा बालमैत्री शैक्षिक सामाग्रीहरुको व्यवस्थापन गर्नुको साथै भाषा, सृजना, निर्माण, अभिनय जस्ता क्षेत्रहरु विभाजन गरेर बालबालिकाहरुलाई मनोरञ्जन दिनुको साथै शैक्षिक सिकाई गर्ने गरिएको छ । बालमैत्री खेलमैदान, खानेपानी धारा र सौचालयले बालबालिकाहरुको बाल सुलभलाई बिहानदेखि वेलुकासम्म आकर्षित गर्ने गरेको छ ।

नगरपालिका र अबसर परियोजनाको अनुदानमा सन् २०२० मा छेडागाड नगरपालिका–१ सोरारी स्थित कालिका मावि र छेडागाड–४ खातीजेवा स्थित बिरेन्द्र आधारभुत बिद्यालयमा बाल तथा अपाङ्गमैत्री प्रारम्भिक बाल बिकास केन्द्रको भवन निर्माण गरिएको पाँचतारा युवा संरक्षक मञ्चका ईन्जिनियर मधुराज उपाध्यायले जानकारी दिए । ईन्जिनियर उपाध्यायले दिएको जानकारी अनुसार छेडागाड नगरपालिकाका दर्जनौ बाल बिकास केन्द्रका भवनहरुको मर्मत गर्ने काम सम्पन्न भएको छ ।

अबोध बालबालिकाहरु कुनैपनि सिमामा बाँधिएका हुदैनन् । सबै सिमाहरु भन्दा स्वतन्त्र अबोध बालबालिकालाई भोक र रोग बाहेक अरु कुराले सताउदैन् । नाँच्दै, गाउँदै, रमाउदै र विभिन्न प्रकारका मनोरञ्जनबाटै बालबालिकाहरुले जीवन उपयोगी ज्ञान हासिल गरि रहेका हुन्छन् । काँचो माटो जस्तै बालबालिकालाई विभिन्न बुट्टा भरिएको पाको ईट्टा बनाउने जिम्मेवारी सरकार, गुरु आमा र अविभावक सबैको हो । बालमैत्री शैक्षिक पूर्वाधार र सामाग्रीको व्यवस्थापन गर्ने जिम्मेवारी सरकारको हो भने, बालमैत्री शिक्षण गर्नु, बाल मनोबिज्ञानमा बिज्ञता हासिल गर्नु गुरु आमाको जिम्मेवारी हो । दैनिक घरदेखि बालबिकास केन्द्र र बालबिकास केन्ददेखि घरसम्म बालबालिकालाई जान र आउन सक्ने ब्यबस्थापन गर्नु अविभावकको जिम्मेवारी हो ।

प्रतिकृया दिनुहोस्