Hamro Sanchar

नलगाड नगरपालिकाको समिक्षा बैठक सम्पन्न

संस्थागत सेवाप्रवा, सुशासन, पूर्वाधार, कृषि–सहकारी, रोजगार, शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष उपलब्धी हासिल

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/१०/२० गते
जाजरकोट

नलगाड नगरपालिकाको समिक्षा बैठक सम्पन्न भएको छ । १४ गतेदेखि सुरु गरिएको समिक्षा बैठक १६ गते सम्पन्न भएको थियो ।

बैठकले नगरपालिका स्थापना कालदेखि हाल (५ बर्ष) सम्म गरेका कामको समिक्षा तथा प्रगति मुल्याङकण गरेको थियो । स्थापनाकालमा नगरपालिकाको प्रशासनिक केन्द्रको स्थान तोक्न नगरबासीले गरेको विवाद देखि नगरपालिको नामाकरणको ऐतिहासिक पृष्टभुमि समिक्षा बैठकमा प्रस्तुत गरिएको थियो । संघियता कार्यान्वयनको पहिलो अनुभवमा पाँच बर्षिय कार्यकाल पाईलट परियोजनाका रुपमा रहेको समिक्षा बैठकका सहभागीहरुले भनाई राखेका थिए । सहभागीहरुकानुसार तीन दिनसम्म चलेको समिक्षा बैठकले नगरपालिकाका जनप्रतिनीधि र कर्मचारीहरुलाई विगत पाँच बर्षसम्म गरेका काम कारबाहीको पुर्नमुल्याङ्कण गराउनुको साथै आगामी दिनको लागि नयाँ उर्जा भर्ने काम गरेको छ ।

उक्त समिक्षा बैठकमा नगरपालिकाका सबै वडा कार्यालय र विषयगत शाखाबाट प्रस्तुत गरिएको प्रगति समिक्षामा संस्थागत सेवा प्रवाह, सुशासन, पूर्वाधार, कृषि–सहकारी, रोजगार, शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरेको देखाईएको थियो । संस्थागत विकासमा सुशासन र सरल सेवा प्रवाहमा जोड दिदै आएको नगरपालिकाले आर्थिक विकासमा कृषि–सहकारी र रोजगारीलाई जोड दिदै आएको छ । समाजिक विकासमा शिक्षा–स्वास्थ्यका साथै लैङ्गिक समानता, विपद व्यवस्थापनलाई प्राथमिकता दिदै आएको छ ।

“सम्वृद्ध र सफा नगरः दिगो विकास र सुशासनको लहर ।” भन्ने दीर्घकालिन सोच लिएको नगरपालिकाले पञ्चबर्षिय ६ वटा नीतिहरु लिएर कार्यसम्पादन गरेको समिक्षा बैठकमा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर सिंहले जानकारी दिएका थिए । नागरिकको सहज जीवनयापन सञ्चालन गर्न र समुन्नत नगर निर्माणका लागि आवश्यक भौतिक पूर्वाधारहरुको दिगो विकास र विस्तार गर्ने । स्थानीय उत्पादनमा जोड दिनुको साथै कृषिको विविधीकरण, व्यवसायीकरण गर्दै रोजगारीको अवसरहरु सिर्जना गर्ने । सामाजिक न्यायको प्रवद्र्धन गर्नुको साथै शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा नागरिकको सहज पहुँच स्थापित गर्ने । स्थानीय कला, धर्म, संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने । सार्वजनिक श्रोतको प्रभावकारी परिचालन मार्फत आर्थिक अनुशासन कायमगरी सुशासन कायम गर्ने र सामाजिक न्याय र समानता कायम गर्न जनशक्तिको सशक्तीकरण मार्फत सेवा प्रवाहको नागरिक समक्ष सुसूचित हुने व्यवस्था गर्ने । नगरपालिकाका पञ्चबर्षिय नीतिहरु रहेका थिए ।

संस्थागत सेवा प्रवाह तथा सुशासनको क्षेत्रमा हासिल गरेका उपलब्धीहरु
संस्थागत सेवा प्रवाहलाई व्यवस्थित गर्नुको साथै सुशासन कायम गर्न नगरपालिकाले स्थापना देखि हालसम्ममा २८ वटा ऐन, नियमावली, कार्यविधि, निर्देशिका, मापदण्ड तथा नीतिहरुगरी ७८ वटा कानुनहरु पारित गरी कार्यान्वयन ल्याएको छ । आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन तथा वातावरण व्यवस्थापन, संस्थागत सेवा प्रवाह तथा सुशासन समिति र विधायन समिति गरी ६ वटा विषयगत समितिहरुको व्यवस्था गरेको छ भने, लेखा समितिको गठन गरेको छ । लेखा समिति कार्यसञ्चालन नियमावली–२०७८ पारित गरि लागु गरेको छ । हालसम्म ८३ पटक नगर कार्यपालिकाको वैठक सम्पन्नगरी ७६३ वटा निर्णयहरु गर्न सफल भएको छ ।

सुशासन कायम गर्न नगरपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन–२०७४, आर्थिक ऐन, विनियोजन ऐन, नगरपालिकाको राजपत्र प्रकाशन सम्वन्धी कार्यविधि–२०७४, नगरपालिकाको निर्माण व्यवसाय ऐन–२०७७, नगर प्रहरी गठन तथा सञ्चालन ऐन–२०७६, करार कर्मचारी व्यवस्थापन सम्वन्धी कार्यविधि–२०७५, कर तथा गैरकर राजश्व सम्वन्धी ऐन–२०७५, वैठक तथा तालिममा सहभागीलाई दिईने भत्ता सम्वन्धी मापदण्ड, नगरपालिकाको कार्यसञ्चालन निर्देशिका–२०७८, नगर सभा सञ्चालन नियमावली–२०७४, नगर कार्यपालिका कार्यसञ्चालन नियमावली–२०७४, नगर कार्यपालिका कार्यविभाजन नियमावली–२०७४, नगर कार्यपालिका निर्णय वा आदेश वा अधिकारपत्रको प्रमाणीकरण नियमावली–२०७४, नगरपालिकाको वैठक सञ्चालन सम्वन्धी कार्यविधि–२०७४, सार्वजनिक परिक्षण कार्यविधि–२०७४, स्थानीय कानुनको निर्माणको परामर्श र सेवा शुल्क सम्वन्धी मापदण्ड–२०७४ पासगरी कार्यान्वयनमा ल्याएको छ भने, नगरपालिको आर्थिक सहयोगमा सामुदायिक रेडियो नलगाड एफएम संचालनको प्रक्रियामा रहेको छ ।

भौतिक पूर्वाधार विकासमा हासिल गरेका उपलब्धीहरु
पाँच बर्षको कार्यकालमा नलगाड नगरपालिकाले भौतिक पूर्वाधारको क्षेत्रमा स्थानीय पूर्वाधार व्यवस्थापन ऐन–२०७७, आयोजना व्यवस्थापन कार्यविधि–२०७४ तथा मर्मत सम्भार कोष सञ्चालन कार्यविधि–२०७६ पारित गरि लागु गरेको छ । ९० दशमलब ५१ किलोमिटर नयाँ सडकको ट्रयाक खोलि स्तरोन्नति गर्ने काम गरेको छ । १८६ दशमलब ३७ किलोमिटर सडकको मर्मत तथा सफा गर्ने काम सम्पन्न गरेको छ । १३ नम्बर वडाको प्रशासनिक केन्द्र बाहेक अन्य सबै वडाको प्रशासनिक केन्द्रमा सडक सञ्जाल विस्तार गरीसकेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम, मूख्यमन्त्री रोजगार कार्यक्रमबाट १८० दशमलब २६ किलो मिटर घोरेटो बाटो निर्माण गरेको छ ।

पाँच बर्षमा नगरपालिकाले ४ वटा ट्रसवृज, २ वटा झोलुंङ्गे पुल, १९ वटा काठेपुल र नलगाड नगरपालिका–६ को पुर्सुली खोलामा १ वटा पक्की ढलान पुल निर्माण गरेको छ । छेडागाड खोलामा रहेको वेली व्रिजलाई नगर कार्यपालिकाको वैठकबाट नलगाडको झुम्रेखोला र नलगाड खोलामा निर्माणको लागि माग सहितको निर्णय गराईएको साथै उक्त निर्णय अनुसार पुल निर्माणको कार्यसम्पन्न भएको छ ।

नगरपालिकाले पाँच बर्षको समयमा ५ वटा वडा कार्यालयको भवन, १२ वटा स्वास्थ्य संस्थाको भवन, ५ वटा सामुदायिक स्वास्थ्य क्लिनिक भवन, ३६ वटा पक्की विद्यालय भवन, १ वटा पशुसेवा चौखाको भवन, १ वटा नलगाड बहुमुखी क्याम्पसको भवन, २ वटा सहकारी संस्थाका भवनगरी ६१ वटा संस्थागत भवनको निर्माण कार्य सम्पन्न गरेको छ । १ वटा नगर कार्यपालिकाको कार्यालय भवन, ७ वटा वडा कार्यालयहरुको भवन, १ वटा स्वास्थ्य संस्थाको भवनको निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

नलगाड नगरपालिका–५ मा १३ किलोवाटको लघुजलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरेको गरेको नगरपालिकाले पाँच बर्षको समयमा नगरपालिका भित्रका विभिन्न लघु जलविद्युत आयोजनाबाट ३९ दशमलब ९ किलोमिटर विद्युत लाईन विस्तार गरिएको समिक्षा बैठकमा प्रगति विवरण प्रस्तुत गरिएको थियो । आ.व. २०७४।०७५ देखि हालसम्म नगरपालिकाले ३६ पटक लघु जलविद्युत आयोजनाको मर्मत सम्भार गरेको छ । विद्युत नभएको क्षेत्र नलगाड–१, ६, १०, ११ र १२ नम्बर वडा लगाएतका विभिन्न ठाँउका गरिब तथा विपन्न घरपरिवारलाई १ हजार २०३ सेट सोलार सेट वितरण गरेको छ । नगरपालिकाले वडा नं.१० का ३०३ घरपरिवारलाइ फलामे चुलो वितरण गरेको छ ।

पाँच बर्षमा नगरपालिकाले ५ दशमलब ६९ किलोमिटर पक्की सिचाई कुलो निर्माण गरेको छ भने, ५७ दशमलब ७२ किलोमिटर पाईप सिचाई निर्माण गर्नुका साथै ७ वटा क्याचमेन्ट, २ वटा ईन्टेक, २ ट्यांकी, १ डिटि, १ विपिटि र १ पोखरी सिचाईको निर्माण गरेको छ ।

भौतिक पूर्वाधार विकासले पारेको प्रभाव
सडक निर्माणले निर्माण सामाग्री, खाद्यान्न, जडिबुटि लगायतका सामानहरु ढुवानी गर्न, एक ठाउँदेखि अर्को ठाउँसम्म आवतजावत गर्न सजिलो हुुनुका साथै समयको बचत हुने गरेको समिक्षा बैठकले निष्कर्ष निकालेको छ । गाउँ गाउँमा निर्माण गरिएका खानेपानी योजनाले सुरक्षित र शुद्धपानी पिउने तथा शौचालयको प्रयोग गर्नेको संख्यामा वृद्धि हुनुको साथै व्यक्तिगत, घरायसी र वातावरणीय सरसफाईमा सुधार आएको छ । स्वास्थ्य संस्था भवन निर्माणगरी बर्थिङ्ग सेन्टर लगायतका सेवा सुचारु गर्दा नागरिकले नजिकैबाट स्वास्थ्य सेवा पाउनुको साथै नियमित गर्भ जाँच गराउने, खोप लगाउने र स्वास्थ्य संस्थामा बच्चा जन्माउने महिलाको संख्यामा वृद्धि भएर नवजात शिशुको मृत्यु दर घटेको छ । साथै कोभिड–१९ को महामारीको समयमा स्वास्थ्य सेवा लिन र दिन सहज भएको छ । विद्यालय भवन निर्माणले धुलो, धुईरो र खुला आकाश मुनि पठन–पाठन गर्ने समस्यामा कमि आएको छ । नियमित विद्यालय आउने र पढाई प्रति रुचि राख्ने विद्यार्थीहरुको संख्यामा वृद्धि भएको छ । विद्यालय तथा स्वास्थ्य संस्थामा घेराबार निर्माणले फोहरमैला हुने, छाडा पशु चौपाया छाड्ने र जग्गा अतिक्रमण गर्ने जस्ता समस्यामा कमि आएको छ । धेरै विद्यालयहरु हरित विद्यालयको रुपमा परिणत भएका छन् । पाइप तथा कुलो सिचाई निर्माण गर्दा वेमौसमी तरकारी, नगदेबाली, फलफुल, सागपात लगायत अन्य खाद्यान्न बाली उत्पादनमा वृद्धि भएको छ । लाइन बिस्तारले विभिन्न वडाका नागरिकहरु विद्युतको पहुचमा जोडिनुको साथै मोबाइल, ल्यापटप, टेलिभिजन, इन्टरनेट, आरामिल संचालनमा ल्याएका छन् । विभिन्न खोला तथा नदिहरुमा काठ, ट्रस तथा झोलुङ्गे पुलको निर्माणले मानिस तथा पशु चौपायाहरु छिटो छरितो, सजिलो र सुरक्षित रुपमा खोलामा वारपार गर्ने गरेका छन । नगरपालिकाका बिभिन्न वडाहरुमा आफ्नै वडा कार्यालय र स्वास्थ्य भवन निर्माण भएपछि सेवा प्रवाह गर्न सजिलो भएको छ । साथै प्रत्येक महिनामा भाडा तिर्नुपर्ने समस्याबाट मुक्त भई कार्यालयलाई आर्थिक भार घटेको छ ।

कृषि विकासमा हासिल गरेका उपलब्धीहरु
पाँच बर्षको समयमा नगरपालिकाले कृषि व्यवसाय प्रर्वद्धन ऐन–२०७५, कृषि ऐन–२०७७ पारित गरी कार्यान्वयनमा ल्याएको छ । कृषि तथा पशुपंक्षी विकास रणनीतिक योजना–२०७६, कृषि स्रोत व्यक्तिको विकास तथा परिचालन कार्यविधि–२०७६, कृषि तथा पशुपंक्षी विकास पकेट क्षेत्र सञ्चालन सम्वन्धी कार्यविधि–२०७६, भकारो सुधार कार्यक्रम सञ्चालन कार्यविधि–२०७६, सामुदायिक कृषि प्रसार सेवा केन्द्र स्थापना तथा सञ्चालन कार्यविधि–२०७८ र हाटबजार व्यवस्थापन तथा सञ्चालन कार्यविधि–२०७८ पारित गरि कार्यान्वयनमा ल्याएको छ ।

स्थानीय हावापानी सुहाउदो सम्भाव्यता र आबश्यकताको आधारमा १२ वटा बालीबस्तुको पटेक क्षेत्र पहिचान गरी बालीबस्तुको विस्तार गरिएको छ । मह, तरकारी, सुन्तला, मकैं, धान, कागति, टिमुर, आलु, मसलाबालीमा प्याज, लसुन, अलैची, पशुपालन, स्याउ, ओखर, नास्पति जस्ता फलफुलहरुको पकेट क्षेत्र घोषणा गरेको नगरपालिकाले पकेट क्षेत्रमा लगानी विस्तार गरेको छ । अर्गानिक कृषिमा जोड दिदै आएको नगरपालिकाले १५ रोपनी जग्गामा रैथाने कालो धानको खेति विस्तार गरेको छ । कृषिलाई आधुनिकिकरण गर्न नगरपालिकाले ५० प्रतिशत अनुदानमा २२ वटा मिनिटिलर, ७ वटा धान, ७ वटा मकैं थ्रेसर मेसिन र ५ वटा धान काट्ने मेसिन वितरण गरेको छ । कृषि उपजहरुको बजार सुनिश्चित गर्न कृषि क्षेत्र विकास कार्यक्रमको सह लगानीमा दल्लीमा हाट बजार स्थापना गर्ने तयारी गरिएको छ । कृषि प्रविधि प्रदर्शन, अनुसन्धान तथा प्रसार गर्न नगरपालिकाले कृषक सिकाई केन्द्र स्थापना गरेको छ । नविनतम प्रविधिको उच्चतम प्रयोग गरिएको सिकाई केन्द्रमा दैनिक ५ देखि १० जना कृषकले प्रविधिको अवलोकन गर्ने गरिरहेका छन् । कृषि पेशालाई मर्यादित र सम्मानित गर्न प्रत्येक बर्ष नगर प्रमुख उत्कृष्ट पुरस्कारको व्यवस्थागरी उत्कृष्ट किसान र सहकारीलाई सम्मान गर्ने गरिएको छ । ३२६ वटा मौरी सहित र ७४५ वटा आधुनिक घारहरु नगरपालिकाले कृषि शाखाबाट वितरण गरेको छ । आलु बालीमा कृषक पाठशाला कार्यक्रम संचालन गर्नुको साथै बेमौसमि तरकारी खेतीका लागि २१ वटा पक्की टनेन निर्माण गरेको छ । फलफुल बगैचा सुदृढिकरण गर्न नगरपालिकाले १०० वटा आरी, १०० वटा सिकेचर, १० वटा फलामको स्पेयर टंकी वितरण गरेको छ । साना किसानहरुको आयआर्जन बढाउन नगरपालिकाले २९४ वटा सिल्पाउलिन प्लाष्ट्रिक वितरण गरेको छ । करेसाबारी सम्बन्धिको तालिम दिएर नगरपालिकाले ३०० वटा हजारी, २५० वटा थोपा सिंचाई सेट, ४३ क्वाईल गार्डेन पाईप, ३०० वटा स्पेयर टंकी, कृषि सिंचाईका लागि १३८ क्वाइल प्लाष्ट्रिक पाईप वितरण गरेको छ । ४३ जना कृषकहरुलाई बेमौसमी तरकारी खेति सम्बन्धि प्याकेजमा कार्यक्रम प्रदान गरेको नगरपालिकाले १७२ वटा कृषक समुहका झण्डै १ हजार भन्दा बढि कृषकहरु स्वरोजगार बनेका छन । मह, सुन्तला र लसुनलाई नगरपालिकाले आत्मनिभर बालीका रुपमा सुचीकृत गरेको छ ।

पशुपन्छी विकासमा हासिल गरेका उपलब्धीहरु
पशुपन्छी व्यवसाय प्रर्वद्धन ऐन–२०७७ पारित गरी लागु गरेको नगरपालिकाले कृषि तथा पशुपन्छी सम्वन्धी रणनीतिक योजना तयार गरी लागु गरेको छ । भैसी र बाख्रा पालन पकेट क्षेत्र घोषणा गरी नगरपालिकाले लगानी विस्तार गरेको छ । विदेशबाट फर्किएका बेरोजगार युवाहरुलाई बाख्रापालन व्यवसाय गर्न ५० हजारको दरले अनुदान दिने वइवस्था गरेको छ ।

सहकारी तथा व्यापार क्षेत्रमा हासिल गरेका उपलब्धीहरु
सहकारी ऐन–२०७५ जारी गरि हालसम्म नगरपालिकाले १२ वटा सहकारी दर्ता गरेको छ । नलगाड नगरपालिकामा ३४ वटा सहकारीहरु संचालनमा रेहेका छन् । उद्योग तथा व्यवसाय दर्ता सम्वन्धी ऐन–२०७७ तथा व्यापारिक फर्म दर्ता सम्वन्धी कार्यविधि–२०७६ जारी गरि २६८ वटा व्यापारिक फर्म दर्ता भएका छन् । निर्माण व्यवसाय ऐन–२०७७ तथा घ वर्गको ईजाजतपत्र वितरण सम्वन्धी कार्यविधि–२०७५ जारी गरि नगरपालिकाले ८ वटा नयाँ घ वर्गको ईजाजतपत्र वितरण गरेको छ भने, सवारी साधन सञ्चालन सम्वन्धी मापदण्ड–२०७७ जारी गरि ११ वटा अटो व्यवसायहरु दर्ता गरेको छ । ६ वटा सडकहरुमा नगरपालिकाले अटो रिक्सा सञ्चालनको अस्थायी रुट परमिट दिएको छ ।

संस्था दर्ता ऐन–२०७५ तथा संस्था दर्ता नियमावली–२०७५ जारी गरि हालसम्म नगरपालिकाले ४१ वटा क्लव तथा समुह दर्ता गरेको छ । बजार अनुगमन निर्देशिका–२०७५ जारी गरि हालसम्म ३२१ भन्दा वढी पसलहरुको अनुगमन गरी ३ लाख मूल्यभन्दा वढीको म्याद नाघेका सामानहरु नष्ट गरेको छ । नगरपालिकाका सम्पूर्ण सहकारी संस्थाहरुका संचालक समितिका अध्यक्ष र प्रवन्धकहरुलाई सहकारी सम्बन्धि तालिम दिएको छ । स्थानीय उद्योग बाणिज्य संघसंग समन्वय र सहकार्यगरि नगरपालिकाले नियमित बजार अनुगमन तथा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नेे गरेको छ ।

शिक्षा क्षेत्रका हासिल गरेका मूख्य उपलव्धीहरु
शिक्षा ऐन–२०७६, शिक्षा नियमावली–२०७६ पारित गरी लागु गरेको नगरपालिकाले पाँचौ नगर सभाबाट आर्थिक वर्ष २०७६÷०७७ देखि लागु हुनेगरी २० वटा बालविकास केन्द्रको स्थापना गरी बालबालिकाहरुको पठनपाठनमा सहजीकरण गर्नुको साथै २० जनाले रोजगारी प्राप्त गरेका छन । जनता प्राथमिक विद्यालय पीपलचौरमा विशेष स्रोत कक्षा सञ्चालन गरिएको । उक्त स्रोत विद्यालयमा नलगाड नगरपालिकाका अपाङ्गता भएका बालकालिकाहरुको लागि आवास सुविधा सहितको अपाङ्गमैत्री भवन निर्माण गरिएको छ । सो विद्यालय दिर्घायुको लागि विशेष कक्षा सञ्चालन सम्वन्धी कार्यविधि–२०७८ पारित गरि लागु गरिएको छ । विद्यालयमा शैक्षिक गुणस्तर सुधारको लागि लेखा व्यवस्थापन तालिम, विषयगत शिक्षकहरुको नियमित तालिमको व्यवस्था गरेको छ । शुन्य दरवन्दी भएका ५ विद्यालयहरुमा नगरपालिकाबाट शैक्षिक गुणस्तर सुधार अनुदान प्रदान गरेको छ । हालसम्म ३६ वटा विद्यालयहरुको पक्की भवन निर्माण कार्यसम्पन्न गरेको छ । बालविकास शिक्षिका, विद्यालय कर्मचारीहरुको मासिक तलवभत्ता आव. २०७८।७९ को दोश्रो चौमासिक देखि १५ हजार कायम गरेको छ । वडा नं. १ देखि १३ सम्मका ४७ विद्यालयका कच्ची भवन निर्माण तथा मर्मत गरेको छ । १४ वटा विद्यालयहरुलाई नमुना विद्यालय घोषणा गरी शैक्षिक सुधारको कामलाई अगाडी बढाएको नगरपालिकाले १३ विद्यालयमा टकिंग टिचर प्रणाली लागु गरेको छ । ६ विद्यालयहरुमा प्रतिविद्यार्थी एक ल्यापटपको व्यवस्था गरी कम्प्युटर शिक्षाको अभ्यास गरेको छ । प्रत्येक माध्यामिक विद्यालयहरुमा विद्युतिय (ई) हाजिरी लागु गरेको छ । माध्यामिक तहका छात्राहरुलाई निशुल्क स्यानिटरी प्याड वितरण गरेको छ । माध्यामिक तहका ३ वटा विद्यालयमा विज्ञान प्रयोगशाला, ४ वटा विद्यालयमा आईसिटि र ३ वटा विद्यालयमा पुस्तकालय व्यवस्थापन गरेको छ ।

स्वास्थ्य क्षेत्रमा हासिल गरेका मुख्य उपलब्धीहरु
आधारभुत स्वास्थ्य तथा सरसफाई ऐन–२०७५, आधारभुत सामुदायिक स्वास्थ्य सेवा केन्द्र सञ्चालन कार्यविधि–२०७८ र स्वास्थ्य नीति–२०७८ पारित गरि नगरपालिकाले लागु गरेको छ । नगरपालिकाको वडा नं. १, ५, ६, ८, ९, १० र १२ मा दरवन्दी सहित आधारभुत स्वास्थ्य सेवा केन्द्रको स्थापना गरी स्वास्थ्य सेवा प्रवाहको थालनी गरेको छ । वडा नं. ३ को कट्के, वडा नं. १० को रावतगाउँ, वडा नं. १३ को सिउनमा दरवन्दी सहित आधारभुत सामुदायिक स्वास्थ्य सेवा केन्द्रको स्थापना गरी स्वास्थ्य सेवा प्रवाह गरेको छ । वडा नं. १३ को खातिगुर्तामा दरवन्दी सहित सामुदायिक स्वास्थ्य एकाईको स्थापना गरी सञ्चालन ल्याएको छ । वडा नं. ३ को कैना र वडा नं. ११ को चौखामा दरवन्दी सहित ल्याव प्रयोगशाला स्थापना गरेको छ । वडा नं. २ को स्वास्थ्य चौकी डाँडागाउँ क मा बर्थिङ्गसेन्टरको सुरुवात गरेको नगरपालिकाले वडा नं. १ अनापानीमा बर्थिङ्गसेन्टर संचालनको प्रक्रियालाई अगाडी बढाएको छ । स्वास्थ्य संस्थामा सुत्केरी हुने आमाहरुलाई नगरपालिकाले थप १ हजार प्रोत्साहन भत्ताको सुविधा थप गरेको छ । जसले गर्दा आ.व. २०७४।०७५ मा स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्या १६४ रहेकोमा आव. २०७७।०७८ मा ४६१ जना पुगेको छ । नगरपालिकाले आकस्मिक कोष सञ्चालन निर्देशिका–२०७८ जारी गरि मुटु, मृगौला, क्यान्सर, टाउको र मेरुदण्डको सर्जरी, अल्जाईमर्स रोग लागेका विरामीलाई २० हजारको दरले आर्थिक सहायता उपलव्ध गराउने गरेको छ । संरक्षक नभएका जोखिममा परेका बालबालिका र ७० वर्ष माथिका जोखिममा परेका जेष्ठ नागरिकको लागि दश हजारको दरले औषधी उपचार रकम उपलव्ध गराउने गरको नगरपालिकाले घाईतेहरुको उपचारको लागि १५ हजार एम्वुलेन्स सेवा तथा उपचार खर्च उपलव्ध गराउने व्यवस्था गरेको छ । कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन गर्न नगरपालिकाले कोरोना कोष सञ्चालन कार्यविधि–२०७६ जारी गरि कोरोना रोकथाम, नियन्त्रण तथा उपचार गरेको छ । ५८३ भन्दा बढीलाई क्वारेन्टिन राख्नुको साथै २६५ भन्दा बढि संक्रमितहरुलाई आईसोलेसनमा राखेर नगरपालिकाले उपचार गरेको छ । वडा नं. ७ को दल्लीमा २२ करोड ३ लाख लागत अनुमानमा १५ सैयाको प्राथमिक अस्पताल निर्माणको काम निर्माण कम्पनीसंग सम्झौता गरी निर्माण कार्य प्रारम्भ भएको छ । वडा नं. १ को जुरेलीमा आधारभुत सामुदायिक स्वास्थ्य सेवा केन्द्रको भवन निर्माणको बोलपत्र आव्हान गरी सम्झौता प्रक्रियामा रहेको छ । उपचार नपाएर अकालमै कसैले पनि ज्यान गुमाउनु पर्ने अबस्थाको अन्त्य गर्न नगरपालिकाले एम्वुलेन्स सेवा सञ्चालन निर्देशिका–२०७७ जारी गरि सुलभ दररेटमा एम्वुलेन्स सेवा संचालनमा ल्याएको छ । प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा करार सेवामा मेडिकल अधिकृत भर्ना गरी विशेषज्ञ सेवा उपलव्ध गराएको छ । स्वास्थ्य संस्थाको मासिक, चौमासिक, अर्धवार्षिक र बार्षिक समिक्षा वैठक, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि तालिम गराउदै आएको नगरपालिकाले घर घरमा झण्डा सुत्केरीको हातमा अण्डा कार्यक्रम संचालन गरी गर्भवती महिलाहरुको घरमा हरियो रंगको झण्डा गाड्ने गरेको छ । नगरपालिका भित्रका १२ वटा स्वास्थ्य संस्थाको भवन निर्माण गरेको नगरपालिकाले ५ वटा गाउँघर तथा खोप क्लिनिक भवन निर्माण गरेको छ । मानसिक स्वास्थ्य परामर्श केन्द्र नेपालको सहयोगमा द्धन्द प्रभावितहरुको मनोसामाजिक कार्यक्रम सञ्चालन गरेको नगरपालिकाले हालसम्म १०८ जनालाई स्वास्थ्य उपचारको लागि आर्थिक सहायता उपलव्ध गराएको छ । महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई मासिक ४०० को दरले प्रोत्साहन भत्ताको व्यवस्था गरेको छ ।

खेलकुद तथा संस्कृतिक क्षेत्रमा हासिल गरेका उपलब्धीहरु
खेलकुद क्षेत्रको विकास गर्न नगरपालिकाले नगर प्रमुख खेलकुद प्रतियोगिता सञ्चालन गर्ने गरेको छ । खेलकुद व्यवस्थापन तथा सञ्चालन कार्यविधि–२०७७ पारित गरि लागु गरेको छ । विभिन्न क्लवहरुमा नगरपालिकाले खेलकुदका सामाग्रीहरु वितरण गर्ने गरेको छ । स्थानीय संस्कृतिको संरक्षण तथा सम्र्वद्धन गर्न नलगाड साँस्कृतिक महोत्सव आर्थिक वर्ष २०७४।७५ देखि प्रत्येक बर्ष संचालन गर्ने गरिएको छ । धर्म, सँस्कृतिको संरक्षण गर्न नगरपालिकाले हालसम्म २८ वटा देउताको थान तथा मन्दिर निर्माण गरेको छ ।

खानेपानी तथा सरसफाई क्षेत्रमा हासिल गरेका उपलब्धीहरु
जलश्रोत कार्यविधि–२०७५, सरसफाई नीति–२०७५, नमुना बस्ती विकास कार्यक्रम निर्देशिका–२०७५ र नलगाड नगरपालिकाको सरसफाई सम्वन्धी कार्यविधि–२०७५ पारित गरी नगरपालिकाले लागु गरेको छ । नगर प्रमुखको संयोजकत्वमा नगर स्तरीय सरसफाई समिति र वडा अध्यक्षको संयोजकत्वमा वडा स्तरीय सरसफाई समिति गठन गर्नुको साथै टोलस्तरीय सरसफाई समिति गठन गरी सरसफाईका कामलाई नगरपालिकाले अगाडी बढाएको छ । ९ वटा क्याचमेन्ट, ९१ वटा ईन्टेक, ४७ वटा ट्यांकी, २ वटा डिटि, ३१ वटा विपीटि, ३६६ वटा धारा निर्माण गरि ३४७ दशमलब ७ किलो मिटर पाईप लाईन विस्तार गरेको छ । नमुना बस्तीका १३ स्थानमा महिला र पुरुषहरुको लागि फरक–फरक कोठा भएको सार्वजनिक शौचालयको निर्माण गरेको छ । वडा नं. ७ मा २ करोड ७८ लाख लागतमा भेरीखोला मुहान देखि काडादल्ली बफेलगाउँ खेगनकोट खानेपानी आयोजना पहिलो र ६४ लाख लागत अनुमानमा भेरीखोला मुहान देखि काडादल्ली बफेलगाउँ खेगनकोट खानेपानी आयोजना दोस्रो सम्झौता भई निर्माणाधिन अवस्थामा रहेको छ । नमुना बस्तीहरुमा सरसफाई सम्वन्धी सचेतनामुलक होर्डिङ्ग बोर्ड राखिएको छ । बजार क्षेत्र, विद्यालय, स्वास्थ्य संस्थाहरुमा कुहिने र नकुहिने फोहोर राख्ने डस्टविन वितरण गरेको छ । नगरपालिकाको नेतृत्वमा दल्ली, कालीमाटी, तल्लुवगर, कैना, बगरा लगायतका ठाउँमा पटक–पटक सरसफाई अभियानको थालनी गर्ने गरेको छ । नमुना बस्ती विकास कार्यक्रमबाट नगरपालिकाले २०० लिटरका ४६४ वटा ड्रम वितरण, शौचालय निर्माण तथा जुठेन खाडल व्यवस्थापन गर्न ४०७ वोरा सिमेन्ट, बाल्टी, हिलटेंक, फलामे चुलो वितरण गरेको छ ।

लैङ्गिक समानता तथा समावेशीकरणका क्षेत्रमा हासिल गरेका उपलब्धीहरु
लैङ्गिक हिंसा निवारण कोष कार्यविधि–२०७७, अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण सम्वन्धी कार्यविधि–२०७५, बालविवाह आचारसंहिता–२०७५, अनाथ तथा जोखिमयुक्त बालबालिकाहरुको लागि सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि ऐन–२०७५ पारित गरि नगरपालिकाले कार्यान्वयनमा ल्याएको छ । सामुदायिक संस्था परिचालन तथा व्यवस्थापन कार्यविधि–२०७४ जारी गरि हालसम्म २९ महिला समुहहरु दर्ता गरेको छ । लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम, अपाङ्ग पुर्नस्थापना कोष, लैङ्गिक हिंसा निवारण कोष, आकष्मिक कोषको नगरपालिकाले स्थापना गरेको छ । प्रदेश सरकारको अनुदानमा सञ्चालित वैंक खाता छोरीको सुरक्षा जीवनभरीको कार्यक्रम अन्तरगत ४२९ भन्दा बढी छोरीहरुको वैंक खाता खोलेको छ । उपभोक्ता समिति लगायत हरेक समितिहरुमा महिलाहरुको ३३ प्रतिशत सहभागिता अनिवार्यता गरेको छ । आर्थिक वर्ष २०७८।७९ मा ५९ जना जेष्ठ नागरिक तथा १९ जना बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । आत्मनिर्भर बनाउन विभिन्न सीपहरु महिला बालबालिका तथा समाजकल्याण उपशाखा सञ्चालन गरेको छ । वडा नं. ४ मा अपाङ्गता भएका बालबालिकाहरुको लागि न्यानो कपडा तथा आवास सहितको अपाङ्गमैत्री संरचना निर्माण गरेको छ । जेष्ठ नागरिकहरुको लागि आँखा शिविर, मानसिक स्वास्थ्य शिविर, नाक कान घाटी शिविर, पाठेघर शिविर सञ्चालन गरी १ हजार ८३५ भन्दा बढीलाई विशेषज्ञ स्वास्थ्य सेवा नगरपालिकाले प्रदान गरेको छ । हालसम्म २४२ जनालाई अपाङ्ग परिचयपत्र वितरण गरेको नगरपालिकाले लघु उद्यम विकास कार्यक्रमबाट आ.व.२०७७।७८ मा ९३ जना नयाँ लघु उद्यमी महिलाहरु सिर्जना गरिएको छ भने, ४५ जना महिलाहरुलाई स्तरोन्नति तालिम दिएको छ । १६ जना महिलाहरुलाई प्रविधि हस्तान्तरण गरेको छ ।

बातावरण तथा विपद व्यवस्थापन क्षेत्रमा हासिल गरेका उपलब्धीहरु
नगर विपद जोखिम न्युनीकरण ऐन–२०७५, प्राकृतिक श्रोत तथा वातावरण संरक्षण ऐन–२०७७, विपद व्यवस्थापन कोष संचालन निर्देशिका–२०७४, राहत वितरण सम्वन्धी (मापदण्ड) कार्यविधि–२०७८, कोरोना नियन्त्रण तथा सञ्चालन कार्याविधि–२०७६ पारित गरि नगरपालिकाले कार्यान्वयनमा ल्याएको छ । नगर प्रमुखको संयोजकत्वमा विपद व्यवस्थापन समिति, वडा अध्यक्षको संयोजकत्वमा वडा स्तरीय विपद व्यवस्थापन समिति गठन गरि कार्यसम्पादनलाई अगाडी बढाएको छ । नगर स्तरीय तिव्र प्रतिकार्य टोलि, कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति र वडा स्तरीय तिव्र प्रतिकार्य टोली गठन गरी कार्यसम्पादन गरेको छ । २८ साउन २०७५ को बाढीले क्षति भएका पुल, बाटो, विद्युत लगायतका अन्य करोैडौको संरचना निर्माण गर्नुको साथै नलगाड १ देखि १३ सम्मका जग्गा क्षति भएका ६७१ जनालाई राहत वितरण गरेको छ । नगरपालिका भित्र विपदबाट पूर्ण क्षेति भएका प्रति घरपरिवारलाई राहत साम्रगी सहित १५ हजारका दरले र आँशिक घर क्षति भएका घरपरिवारलाई राहत सामाग्री सहित प्रतिघर ८ हजारका दरले रकम उपलव्ध गराउने व्यवस्था रहेको छ । विपदको कारणले मृत्यु हुने परिवारलाई प्रतिव्यक्ति २५ हजारका दरले राहत उपलव्ध गराउनुको साथै गैर प्राकृतिक कारणले मृत्यु भएका प्रति घरपरिवारलाई १५ हजारका दरले राहत उपलव्ध गराउने व्यवस्था गरेको छ । घाईतेलाई १५ हजारसम्मको एम्वुलेन्स सेवा उपलव्ध गराईने व्यवस्था गरेको छ । हालसम्ममा २१० भन्दा बढि आंशिक क्षति र पूर्ण क्षति भएका घर, घट्टको नगद राहत नगरपालिकाले उपलव्ध गराएको छ । नगरपालिकाको विभिन्न ठाउँमा १६ दशमलब ३८ किलो मिटर ढल निकास गर्नुको साथै ३ हजार ८९२ घन मिटर तारजाली तथा तट्वन्ध निर्माण गरेको छ । नरपालिकाको वाड नं. १२, ७, ३ र १३ मा २६ हजार ४५३ भन्दा बढि फलफुलका विरुवाहरु रोपिन गरेको छ । वडा नं. २ मा आँप, वडा नं. ३ मा सुन्ताला, वडा नं. ५ मा कागति, वडा नं. ६, ९ र १० मा टिमुर, वडा नं. १३ मा स्याउगरी एकलाख भन्दा बढि विरुवा रोपन गरेको छ । नगरपालिकाको विभिन्न ठाउँमा खानेपानीका मुहान संरक्षण गरेको छ । विपद व्यवस्थापन तथा उद्धार सम्वन्धी तालिमहरु सञ्चालन गरेको छ । हालसम्ममा विपद व्यवस्थापन समितिको २६ पटक वैठक सम्पन्न भएको छ । कोभिड–१९ को संक्रमणबाट प्रभावित ७९१ जनालाई आव २०७६।७७ मा खाद्यान्न वितरण गरेको नगरपालिकाले आव २०७७।७८ मा प्रयास कार्यक्रमसंगको समन्वयमा ५०५ घरधुरीलाई राहत वितरण गरेको थियो । विपदबाट क्षति भएका स्थानहरुमा १९ वटा काठेपुल निर्माण गरी नगरपालिकाले अल्पकालिन रुपमा आवातजावतमा सहज गराएको थियो । वडा नं. ७ र १२ मा कुहिने र नकुहिने गरी फोहोर व्यवस्थापन खाल्डोहरु निर्माण गरेको छ । विपदबाट क्षति भएका योजनाहरुको मर्मत सम्भारको लागि मर्मत सम्भार कोष, राहत वितरण तथा संरचना निर्माणको लागि विपद व्यवस्थापन कोष, कोरोना रोकथाम तथा नियन्त्रण कोषको स्थापना तथा बजेटको व्यवस्था गरेको छ ।

प्रतिकृया दिनुहोस्