Hamro Sanchar

रैथाने परिकार सम्बन्धि होटल व्यवसायीलाई तालिम सम्पन्न

डिजिटल संचार संवाददाता प्रकाशित : २०७९/३/१ गते
जाजरकोट

जाजरकोटको जिल्ला सदरमुकाममा रैथाने बालीको परिकार सम्बन्धि होटल व्यवसायीहरुलाई दुई दिने तालिम सम्पन्न भएको छ । कृषि विकास कार्यालय, जाजरकोट र भेरी नगरपालिकाको कृषि विकास शाखाको संयुक्त आयोजनामा होटल व्यवसायीहरुलाई दुई दिने रैथाने परिकार सम्बन्धि तालिम सम्पन्न भएको हो ।

भेरी नगरपालिका, कुशे गाउँपालिका र नलगाड नगरपालिकाका झण्डै २० जनालाई रैथाने बालीको मःम, केक, नम्किंन लगाएतका परिकार बनाउने दुइ दिने तालिम दिएको कृषि विकास कार्यालय, जाजरकोटका प्रमुख रविन धितालले जानकारी दिए । कोदो, माटे, फापर, चिनो, कागुनो लगाएतका रैथाने बालीहरुको परिकार बनाउने तालिम दिएको कार्यालय प्रमुख धितालले जानकारी दिए ।

जीवनशैलीमा आएको परिवर्तनले रैथाने वालीको संरक्षण गर्न र अर्गानिक कृषि पद्धतिलाई स्थायित्व दिन चुनौतिहरु थपिएको भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्तीले बताएका थिए । रैथाने वालीको परिकार सम्बन्धिको दुई दिने तालिमको समापन कार्यक्रममा बोल्दै नगर प्रमुख घर्तीले पहिले पहिले पाँचतारे होटलहरुमा मात्र खाना पाईने पिजा, कफि लगाएतका परिकारहरु दुर दराजमा बस्ने सामान्य किसानहरुको घरमा खान पाईने, पहिले पहिले गाउँका किसानहरुको घरमा मात्र खान पाईने सिस्नो ढिडो अहिले पाँचतारे होटलहरुमा मात्र पाईने गरेको भनाई राखेका थिए । गाउँको पूर्खाले हिजो खादै आएको आहार विहारनै अहिलेको उत्कृष्ट हाईजेनिक खाना भएको चर्चा गर्दै दुई दिने तालिम समापनका प्रमुख अथिति नगर प्रमुख घर्तीले रैथाने बालीबाट बनाईने खानाका परिकारहरुलाई प्रस्कृत गरेर खानु र खुवाउनुनै अहिलेको महत्वपूर्ण विषय भएको बताए ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा विशेषगरी कृषि पेशामा संलग्न किसानहरुले दिएको भोटबाट आफुले नगरप्रमुख पदको चुनाव जितेको बताउदै नगर प्रमुख घर्तीले नाटकीय ढंगबाट आफ्नो कार्यकक्षमा प्रस्तुत हुने ढुलो जमात भएता पनि पूर्णरुपमा किसानहरुकै भरोसाबाट आफु अगाडी बढ्ने गरेको बताए । कृषि पेशामा व्यस्त किसानहरुलाई आफुसंग आएर नाटकीय रुपमा प्रस्तुत हुने समय नभएको बताउदै नगर प्रमुख घर्तीले आगामी पाँच बर्षे कार्यकालमा नगरपालिकाले किसान मैत्री कार्यक्रम संचालन गर्ने बताएका थिए । संसारमा ठुला ठुला बैज्ञानिक आविस्कार भएका छन् नगर प्रमुख घर्तीले भने–“विज्ञान, प्रविधिमा अद्भुत विकास गर्नसक्ने मान्छेले पोषणयुक्त भोजनको लागि कृतिम अन्न उत्पादन गर्न सकेको छैन, समुन्नत राष्ट्र निर्माण गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नका लागि आज पोषणयुक्त भोजनको आबश्यक परिरहेको छ ।”

कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउने सरकारको नीति तथा कार्यक्रम अनुसार रैथाने बालीको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने कृषि विकास कार्यालय प्रमुख धितालले भनाई राखेका थिए । होटल व्यवसायिहरुलाई अर्गानिक तथा रैथाने परिकार सम्बन्धिको तालिमले किसानहरुले उत्पादन गरेको रैथाने बालीलाई बजारीकरण गर्न मद्दत पुग्ने कार्यालय प्रमुख धितालले विश्वास व्यक्त गरेका थिए । खेतको आलीदेखि भातको थालीसम्म निश्चित बालीबस्तुको मुल्य श्रृङखला भएजस्तै रैथाने परिकार सम्बन्धिको तालिम अर्गानिक प्रदेश निर्माणको मुल्य श्रृङखला भित्रकै एउटा पाटो भएको कार्यालय प्रमुख धितालले भनाई राखेका थिए ।

होटल व्यवसायलाई अर्गानिक तथा रैथाने परिकार सम्बन्धिको आधारभुत तालिम ५ दिने कोर्ष भएको जानकारी दिदै प्रशिक्षक रमा भण्डारीले समय अभावका कारण ५ दिनको कोर्षलाई २ दिनमै पुरा गर्नुपरेको जानकारी दिएकी थिईन् । आफु नियमित रुपमा प्रशिक्षार्थीको सम्पर्कमै रहने वताउदै प्रशिक्षक भण्डारीले कतिपय परिकारहरु बनाउने तरिका ईन्टरनेटको सहायतामा युटुवबाट पनि सिक्न सकिने भनाई राखेकि थिईन ।

प्रमाण पत्र लिएर प्रदर्शन गर्नलाई भन्दा पनि प्राप्त तालिमबाट सिकेको सीपलाई जीवन व्यवहारमा लागु गर्ने तालिमकी सहभागी शिला नेपालीले भनाई राखेकी थिईन । अर्गानिक तथा रैथाने बालीका विभिन्न परिकारहरु बनाएर व्यवसाय संचालन गर्न आफु लागिपर्ने नेपालीले बताएकी थिईन । उक्त तालिमका सहभागीहरुलाई नगर प्रमुख घर्तीले प्रमाण पत्र हस्तान्तरण गरेका थिए भने, कार्यक्रमको संचालन टोपेन्द्र विश्वकर्माले गरेका थिए । कार्यक्रमको समन्वय तथा सहजीकरण भेरी नगरपालिकाको कृषि विकास शाखा प्रमुख यज्ञ अधिकारीले गरेका थिए भने, औपचारिक कार्यक्रमको औचित्य पुष्टी सागर प्रसादले गरेका थिए ।

प्रतिकृया दिनुहोस्