Hamro Sanchar

कृषि व्यबसायबाट कर्णालीमा उदाउदैः– सदामसिंह राठौंर

डिजिटल संचार संवाददाता प्रकाशित : २०७९/१०/१९ गते
जाजरकोट

कृषि व्यवसायबाट कर्णाली प्रदेशमा जाजरकोटका युवा सदामसिंह राठौर उदाउन थालेका छन् । कृषि उद्यमशिलताबाट अर्थोपाजन गर्न एग्रो प्राली संचालन गरेको दुई बर्षमै राठोर कर्णाली प्रदेशमा उदाउन थालेका हुन् । सदामसिंह राठौर जाजरकोट जिल्ला सदरमुका खलंगाका स्थायी बासिन्दा हुन् ।

राठौंरले श्रीमति जयन्ता शाहीको नाममा २० माघ २०७७ मा एग्रो प्राली दर्ता गरेर व्यवसाय सुरु गरेका हुन् । उनको एग्रो प्रालीको नाम–‘समृद्ध कर्णाली एग्रो प्राली’ हो । उत्पादन, संकलन र वितरण तथा बजारीकरण गर्ने उदेश्य राखेर दर्ता गरिएको उक्त एग्रो प्रालीलले दैलेख जिल्लाको गुराँस गाउँपालिका–७ स्थित लालीकाँडामा ७० रोपनी जग्गामा ९०० बिरुवा लगाएर व्यवसायिक किवी खेतीको सुरुवात गरेको छ । व्यवसायिक किवी खेतिसंगै उनले हलुवावेद, जाप्निज कटुज, नास्पति, आरु, सुन्तला, चाईनिज वेरी (काफल) लगाएतका दर्जनौ प्रजातिका फलफुलका बिरुवाहरु लगाएका छन् ।

राठौरलाई गतबर्ष लालीकाँडामा लगाएको २० हजार विरुवाबाट फलेको अकबरे खुर्सानीको बजारीकरण गर्न सकस पैदा भएको थियो । अकबरे खुर्सानीको बजारीकरणलाई सहज बनाउन राठौरले सुर्खेत वीरेन्द्रनगर नगरपालिका–३ एरी चोकमा अचार उद्योग संचालनमा ल्याएका थिए । ‘समृद्ध कर्णाली एग्रो प्राली’ द्धारा संचालनमा ल्याएको अचार उद्योगबाट राठौरले अकबरे खुर्सानी, बाँसको तामा, कागति, मुला, आँप, करेलाको अचार उत्पादन गर्दै आएका छन् । सिजन अनुसारको अचार उत्पान गर्दै आएका राठौंरले अचारमा प्रयोग गरिने लसुन, टिम्बुर लगाएतको मसलाहरु मध्ये लसुन जाजरकोटको नलगाडबाट खरिद गर्ने गरेका छन् भने, टिम्बुर काठमाडौंबाट खरिद गर्ने गरेको जानकारी दिएका छन् । अचार बनाउने मेशिन चलाउने दैनिक तीन जनाले उत्पादन गरेको अचारले बीरेन्द्रनगर बजारको मागलाई आपुर्ती गर्न नसकेको बताएका छन् । आगामी बर्षदेखि अचारको बजारलाई लुम्बिनी प्रदेशको नेपागञ्जमा बिस्तार गर्ने जानकारी दिदै राठौंरले त्यो भन्दा पछिल्लो बर्षदेखि अचारको बजार पश्चिम नेपालभर बिस्तार गर्ने बताएका छन् । गतबर्ष मात्र राठौंरले १५ लाख भन्दा बढिको अचार आफ्नै उद्योगबाट उत्पादन गरेर बजारमा पठाई सकेको बताएका छन् ।

लालीकाँडामा ७० रोपनी भन्दा बढि जग्गा प्रालीको नाममा खरिद गरेर व्यवसायिक किवी खेतीको सुरुवात गरेका राठौरले ‘समृद्ध कर्णाली एग्रो प्राली’ मा हालसम्म एक करोड १२ लाख लगानी गरिसकेको बताएका छन् । विरुवा लगाएको दुई बर्षमै १० क्वीन्टल (तीन लाख मुल्य भन्दा बढिको) भन्दा बढि एग्रो प्रालीको फर्मबाट उत्पादन भएको किवी बजारमा पठाई सकेका छन् । ‘समृद्ध कर्णाली एग्रो प्राली’ को व्यवसायिक किवी, हलुवाबेद, नास्पति, कटुज, आरु, सुन्तला, बेरी लगाएतका फलफुलको फर्म देखेपछि लालीकाँडाका किसानहरु लालाहित भएका छन् । ‘समृद्ध कर्णाली एग्रो प्राली’ को सिको गर्दै घर–घरमा ५० देखि १०० सम्म किवीको विरुवा नलगाउने लालीकाँडाका कोही पनि किसान छैनन् । व्यक्तिगत रुपमा किसानहरुले उत्पादन गरेको किवी ‘समृद्ध कर्णाली एग्रो प्राली’ ले खरिदगरी बजारीकरणमा किसानहरुलाई सहयोग गर्ने लक्ष्य राखेको राठौरले बताएका छन् । ‘समृद्ध कर्णाली एग्रो प्राली’ ले कृषि फर्म संचालनमा ल्याएपछि अहिले लालीकाँडामा खानेपानी, सिंचाई, मोटरबाटोको सुविधा पुगेको छ । पुरै गाउँलाई पुग्नेगरी केन्द्रिय विद्युत लाईन प्रसारण भएको छ ।

गत बर्ष दैलेख जिल्लाको कृषि विकास कार्यालयबाट ‘समृद्ध कर्णाली एग्रो प्राली’ ले १० लाख अनुदान लिएको जानकारी दिदै राठौरले कृषि फर्मबाट उत्पादन भएको किवीलाई भण्डारण गर्न सजिलो हुनेगरी प्रदेश सरकारसंग चिस्यान घर, फर्म र स्थानीय किसानहरुले उत्पादन गरेको कृषि उपजलाई बजारीकरणमा सरलता पैदा गर्न अनुदानमा ढुवानी गाडीको माग राखेका छन् । सदाबहार ५ जना र मौषमी ३५ जना गरी ४० जना कामदारले फर्ममा काम गरिरहेको जानकारी दिदै राठौरले कामदारहरुलाई कृषि प्राविधिक तालिम, औषधि, लगाएतका फर्ममा चाहिने अन्य कृषि औजार तथा उपकरणहरु सरकारले दिनुपर्ने बताएका छन् ।

कृषि उद्योग सम्बन्धिको व्यवसायिक योजना बनाएर अगाडी बढेका राठौर राजनीतिक दलका नेता, धनसम्पति जोड्न सफल निर्माण व्यवसायिहरुका अगाडी नमुनाका रुपमा आफुलाई प्रस्तुत गर्न सफल भएका छन् । कृषि पेशामा रहेका व्यक्तिहरुनै मतदाताको भोटले जनप्रतिनीधि बनेर जीवन स्तर बदलिएपछि गाउँ नफर्किने, कृषि पेशालाई घृणा गर्ने, निर्माण व्यवसायि पेशामा लागेर जोडेको सम्पतिलाई जिल्लामा लगानी नगरी ठुला शहर, बजारमा लगानी गर्ने परिपाटीको बिकास भईरहेको बेला २६ बर्षिय राठौरले उच्च पहाडको कृषि उत्पादनमा लगानी गरेर नयाँ उदाहरण प्रस्तुत गर्न खोजेका छन् । राठौर गाउँमा नभएर जिल्ला सदरमुकाममा जन्मिएका, सदरमुकाममै पढेका र हुर्दिएका तन्नेरी हुन् । जिल्ला सदरमुकामबासी, ठकुरी खानदानीका, कान्तिपुर जस्तो ठुलो संचार गृहको उप–सम्पादकको कान्छो छोरा, निजामति सेवामा रहेका राठौरलाई एग्रो प्राली दर्ता गरेर कृषि फर्म तथा उद्योग संचालन गर्नु कुनै बाध्यता थिएन । निजामति सेवामा रहेका राठौरले विकास र समृद्धि नेपाल सरकारको लक्ष्यलाई राम्रोसंग नजिकबाट बुझेका छन् । विकास र समृद्धिको मुख्य बाधक गरिबी, बेरोजगार र पछौटेपन हो भन्ने कुरालाई राम्रोसंग अध्ययन गरेका राठौंरको बुझाईमा गरिबी र बेरोजगारीको समस्यालाई समाधान गर्न हरेक नागरिक औद्योगिक उत्पादनसंग जोडिनुपर्ने रहेको छ । प्रत्येक नागरिकलाई औद्योगिक उत्पादनसंग जोड्न अरुलाई उपदेश दिनुभन्दा पहिला आफुलाईनै नमुनाका रुपमा प्रस्तुत गर्न राठोरले एग्रो प्रालीमा लगानी गर्न खोजीरहेका छन् । अबको केही बर्ष पछि जाजरकोट जिल्लामा वईन उद्योग संचालन गर्ने राठौरले लक्ष्य राखेका छन् ।


Tagged
प्रतिकृया दिनुहोस्