Hamro Sanchar

जाजरकोटको खलंगामा होमस्टे प्रवद्र्धन तथा आधारभुत व्यवस्थापन तालिम सम्पन्न

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/१/१६ गते
जाजरकोट

जिल्ला सदरमुकाम खलंगामा ५ दिने होमस्टे प्रवद्र्धन तथा आधारभुत व्यवस्थापन तालिम सम्पन्न भएको छ । स्थानीय महिलाहरुलाई स्वरोजगार बन्न सक्ने क्षमताको विकास गराउन ५ दिने होमस्टे प्रवद्र्धन तथा आधारभुत व्यवस्थापन तालिम सम्पन्न भएको हो ।

कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा उक्त तालिम दरबार होमस्टे जाजरकोटले संचालन गरेको दरबार होमस्टेका अध्यक्ष तथा संचालक विश्व विक्रम शाहले जानकारी दिए । एकल स्वामित्वमा रहेको दरबार होमस्टेलाई बहुँस्वामित्व तथा सामुदायिक होमस्टे बनाएर अगाडी बढ्ने योजनामा रहेको अध्यक्ष शाहले बताएका थिए ।

प्रदुषित विश्व वातावरणले मान शरिरलाई निकै कमजोर बनाउदै लिएको बताउदै भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्तीले मानव स्वास्थ्यलाई स्वस्थ तथा हराभरा बनाई राख्न प्रकृतिको लयलाई पकड्न आवश्यक रहेको भनाई राखेका थिए । रसायनिक मिसावटमुक्त तथा हाईजेनिक खानपिनबाट मानव स्वास्थ्यलाई स्वस्थ राख्न होमस्टेले ठुलो मद्दत गर्ने नगर प्रमुख घर्तीले बताएका थिए । होमस्टेका माध्यामबाट आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्नुको साथै स्थानीयलाई स्वरोजगार बन्न निकै ठुलो योगदान पुग्ने नगर प्रमुख घर्तीले भनाई राखेका थिए । आर्थिक सवलीकरणको महत्वपूर्ण क्षेत्र होमस्टे भएको बताउदै नगर प्रमुख घर्तीले आर्थिक बिकासको क्षेत्रमा नगरपालिकाले पर्यटन, कृषि उत्पादन, उद्योग, बाणिज्य रोजगार जस्ता क्षेत्रमा जोड दिदै आएको जानकारी दिदै ५ दिने होमस्टे प्रवद्र्धन तथा आधारभुत व्यवस्थापन तालिम समापनका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख घर्तीले दबार होमस्टेसंग मिलेर नगरपालिकाले पर्यटन प्रवद्र्धन सम्बन्धका कामका योजनाहरुलाई संचालन गर्ने भनाई राखेका थिए ।

  

सिंङ्गो पृथ्वीनै पर्यटकीय स्थल भएको बताउदै बारेकोट गाउँपालिकाका अध्यक्ष बीर बहादुर गिरीले निश्चित अबधिका लागि सबै मानव पर्यटक भएको भनाई राखेका थिए । पर्यटनका थुपै आयामहरु मध्ये पर्या–पर्यटन महत्वपूर्ण रहेको बताउदै अध्यक्ष गिरीले इतिहास, प्राकृतिक सुन्दरता र सामाजिक संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने बताएका थिए । इतिहासको खोजी गर्ने, प्राकृतिक सुन्दरता र सामाजिक संस्कृतिसंग रमाउनलाई होमस्टे महत्वपूर्ण आधार बन्ने अध्यक्ष गिरीले भनाई राखेका थिए । मनोरन्जनका लागि आउने कुनै पति अतिथि पाहुनाहरुलाई होमस्टेले नयाँ संस्कृति, सभ्याता र संस्कार दिन सक्नु पर्नेमा अध्यक्ष गिरीले जोड दिएका थिए ।

“अतिथिः देव भव” नै पर्यटनको मुल मन्त्र भएको बताउदै डिभिजन वन कार्यालय प्रमुख राधाकृष्ण दासले होमस्टेको महत्वपूर्ण पक्ष भनेको अतिथि सत्कार (हस्पिटालिटी) भएको भनाई राखेका थिए । पहिलो प्रभाव नै अन्तिम प्रभाव हुने बताउदै कार्यालय प्रमुख दासले जिल्ला सदरमुकाम खलंगामा संचालन हुन लागेको पहिलो दरबार होमस्टेले प्रहिलो प्रभाव दिन सक्नुपर्नेमा जोड दिएका थिए ।

रैथाने बालीको प्रवद्र्धन गर्नुको साथै रैथाने बालीका खानाका परिकारहरु बनाएर अतिथिहरुलाई भोजन गराउनु नै होमस्टेको पहिलो सर्त रहेको ५ दिने तालिमको प्रशिक्षक रचना बाँठाले भनाई राखेकी थिईन । होमस्टेबाट पर्यटन प्रवद्र्ध गर्नुको साथै रोजगारीको लागि विदेशमा जान नसक्ने महिला दिदी बैनीहरुलाई स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न मद्दत गर्ने प्रशिक्षक बाँठाले बताएकी थिईन । होमस्टे व्यवस्थापनमा सरसफाई र सुरक्षाका सबै सुचकहरु पुरा गरेको हुनुपर्नेमा तालिमको प्रशिक्षक, होमस्टे महासंघ कर्णाली प्रदेश ईन्चार्ज तथा केन्द्रिय उपाध्यक्ष बाँठाले जोड दिएकी थिईन । उक्त तालिमको समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ, जाजरकोटका सचिव भरत प्रसाद शर्मा, उद्योग बाणिज्य संघ, जाजरकोटका पूर्व अध्यक्ष कर्ण बहादुर खत्रीले आ–आफ्नो भनाई राखेका थिए भने, प्रमुख तथा विशेष अतिथिले तालिमका सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्नुको साथै प्रशिक्षकलाई सम्मान गरेका थिए ।

उक्त ५ दिने तालिममा लालसरी बुढाथोकी, सिता शाह, विजया नगरकोटी, सर्मिला हमाल, तारा शाह, गिता शाह, निर्मला नेपाली, निता शाह, हेमा शाह, नरिन्ता कुमारी शाह, विमला पुन, एलिजा विक लगाएतका १३ जनाले भाग लिएका थिए ।


Tagged
प्रतिकृया दिनुहोस्