Hamro Sanchar

भेरी नगरपालिकाद्धारा विद्यालय कर्मचारीलाई रैथाने बालीको परिकार बनाउने तालिम

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/३/१३ गते
जाजरकोट

भेरी नगरपालिकाले विद्यालय कर्मचारीलाई रैथाने बालीको परिकार बनाउने तालिम दिएको छ । दिवा खाजा कार्यक्रम संचालन भएका विद्यालय कर्मचारीहरुलाई नगरपालिकाको कृषि शाखाले रैथाने बालीको परिकार बनाउने सम्बन्धि तालिम दिएको हो ।

भेरी नगरपालिका–३ स्यालामा संचालन गरिएको उक्त तालिम मंगलबार र बुधबार गरी दुई दिनसम्म संचालन गरिएको थियो । भेरी नगरपालिका वडा नं. ५, ६, ७, ८ र ९ नम्बर वडा भित्रका दिवा खाजा कार्यक्रम संचालन भएका विद्यालय कर्मचारीहरुलाई उक्त तालिम दिईएको नगर कृषि शाखा प्रमुख यज्ञ अधिकारीले जानकारी दिए । शाखा प्रमुख अधिकारीले दिएको जानकारी अनुसार नगरपालिकाका बाँकी रहेका अन्य वडाका विद्यालय कर्मचारीहरुलाई आगामी बर्षमा रैथाने बालीको परिकार बनाउने तालिम दिने लक्ष्य राखिएको छ ।

उक्त तालिममा १८ जना सहभागी भएको प्रशिक्षक शिला नेपालीले जानकारी दिईन । दुई दिनसम्म चलेको तालिममा रैथाने बाली कोदोको नमकिन, बिष्कुट, पेनकेक, हलुवा, मःम, मकैको विष्कुट, फापरको केक, कालो चामलको खिर बनाउने तरिका सिकाईएको प्रशिक्षक नेपालीले बताईन । तालिममा काँक्रा र आलुको अचार बनाउने तरिका पनि सिकाईएको प्रशिक्षक नेपालीले बताएकी थिईन ।

विद्यालय दिवा खाजा कार्यक्रमको खाद्य आपुर्ति गर्ने सम्झौता गरेका सहकारीहरुलाई रैथाने बालीको परिकार बनाउने तालिमले विस्तापित गर्ने नगर प्रमुख चन्द्र प्रकाश घर्तीले भनाइ राखेका थिए । दिवा खाजा व्यवस्थापनको सम्झौता गरेका सहकारीले म्याद गुर्जिएका रुपैडियाबाट ल्याएको चाउचाउ खुवाउने गरेको बताउदै नगर प्रमुख घर्तीले रैथाने बालीको परिकार बनाउने सीप सिकेपछि रैथाने बालीको आपुर्ति गर्ने जिम्मा सम्बन्धित विद्यालयलाई नै दिनसकिने बताएका थिए । रैथाने बालीको परिकारबाट मानव शरिरलाई आबश्यक पर्ने सम्पूर्ण पोषण तत्व प्राप्त हुने जानकारी दिदै नगर प्रमुख घर्तीले रैथाने बालीको स्थानीय उत्पादनले बजार पाउनेमा विश्वास व्यक्त गरेका थिए । गाउँमा पाईने सिस्नु र ढिडो खानालाई काठमाडौंका पाँचतारे होटलमा जानुपर्ने, पाँचतारे होटलहरुमा पाईने पिजा वा शहर बजारमा पाईने चाउमिन गाउँ गाउँमा पाईने गरेको बताउदै नगर प्रमुख घर्तीले रैथाने बालीकै परिकारलाई आधुनिकीकरण गरेर उपभोग गर्नुपर्नेमा जोड दिएका थिए ।

उक्त तालिमबाट सिकेको सीपलाई सम्बन्धित विद्यालयमा लागु गर्ने तालिमका सहभागीहरुले भनाई राखेका थिए । तालिका सहभागीहरुलाई नगरपालिकाले प्रमाण पत्र वितरण गरेको थियो । तालिमको समापन पश्चात सहभागीहरुलाई रैथाने बालीबाट बनाईएका परिकारहरु खाना दिइएको थियो ।

प्रतिकृया दिनुहोस्