Hamro Sanchar

जाजरकोटमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको ८६.४३ प्रतिशत बार्षिक प्रगति

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/३/२४ गते
जाजरकोट

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई जाजरकोटले ८६.४३ प्रतिशत बार्षिक प्रगति हासिल गरेको छ । परियोजना कार्यान्वयन एकाईले संचालन गरेका विभिन्न जोन, ब्लक र पकेटहरुको गरिएको बार्षिक समिक्षाबाट उक्त प्रगति देखिएको हो ।

परियोजना कार्यान्वयन एकाईले सनिबार जिल्ला सदरमुकाम खलंगामा बार्षिक प्रगति समिक्षा गरेको थियो । चालु आर्थिक बर्षमा परियोजना कार्यान्वयन एकाईले प्रवाह गरेको बस्तु तथा सेवाका बिषयमा बार्षिक प्रगति समिक्षामा जानकारी गराईएको थियो ।

बार्षिक प्रगति समिक्षामा परियोजना कार्यान्वयन एकाईले आर्थिक बर्ष २०७९÷०८० मा ८६.४३ प्रतिशत प्रगति हासिल गरेको कार्यालय प्रमुख दिपेन्द्र पोखरेलले जानकारी दिएका दिए । पशु अस्पताल तथा पशु सेवा कार्यालय मार्फत बाख्रा व्लक विकास कार्यक्रम अन्तरगत ९५.२४ प्रतिशत, जिल्लाका सात वटै स्थानीय तह मार्फत पकेट विकास कार्यक्रम अन्तरगत ८७.०९ प्रतिशत, जोन विकास कार्यक्रम अन्तरगत ८२.४ प्रतिशत र कृषि विकास कार्यालय, जाजरकोट मार्फत संचालित तरकारी, स्याउ, ओखर, मकै लगाएतका विभिन्न व्लक विकास कार्यक्रम अन्तरगत ८१.८ प्रतिशत प्रगति हासिल भएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई जाजरकोटमा कार्यरत कृषि अधिकृत मिना महतराले बार्षिक प्रगति समिक्षामा जानकारी गराएकी थिईन । जाजरकोट जिल्लामा परियोजना संचालन भएदेखि हालसम्म १६ हजार ७५४ जनाले प्रत्यक्ष रोजगारी पाएको जानकारी दिदै कार्यालयले चालु आर्थिक बर्षमा १ हजार ७९० जनाले प्रत्यक्ष रोजगारी पाएको जनाएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियजनाले आर्थिक बर्ष २०७९÷०८० मा परियोजना कार्यान्वयन एकाईले हासिल गरेका मुख्य उपलब्धिहरु कार्यालय प्रमुख पोखरेलले बार्षिक प्रगति समिक्षामा जानकारी गराएका थिए भने, जिल्लाका सात वटै पालिकाहरुबाट संचालित पकेटहरुको बार्षिक प्रगतिको जानकारी पालिकाका कृषि शाखा प्रमुखहरुले गराएका थिए ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका ४ वटा संभागहरु मध्ये परियोजना कार्यान्वयन एकाईले जाजरकोट जिल्लामा जोन, पकेट र ब्लक गरि तीन वटा संभागलाई कार्यान्वयनमा ल्याएको छ । जिल्लाका सात वटा स्थानीय तहहरु मध्ये ४ वटा स्थानीय तहमा सुन्तला जोन कार्यान्वयनमा रहेको छ भने, ओखर जोन ५ वटा स्थानीय तहमा र मौरी जोन तीन वटा स्थानीय तहमा कार्यान्वयनमा रहेको छ । जोन कार्यक्रमबाट जिल्लाका ५०० घरधुरीलाई सेवा प्रदान गरिएको कार्यालयले जनाएको छ ।

परियोजना कार्यान्वयन एकाई जाजरकोट मार्फत विनियोजित बजेटबाट आर्थिक बर्ष २०७९÷०८० मा सुन्तला जोन तर्फ ५ मेट्रिक टन क्षमताका ३ वटा सेलार स्टोर निर्माण गरी संचालनमा ल्याएको कार्यालयले जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार ओखर जोन तर्फ २१ वटा साना सिंचाई र ९ वटा बगैचामा थोपा सिंचाई जडान गरिएको छ । त्यसैगरी मौरी जोन तर्फ ६ वटा समुह÷सहकारी र फर्मलाई विभिन्न आधुनिक सामाग्री हस्तान्तरण गरिएको छ ।

परियोजना कार्यान्वयन एकाईले कृषि समुह÷सहकारी र फर्महरुलाई कृषि उत्पादन सामाग्रीहरु, प्राविधिक सहयोग, प्रयोगशाला सेवाहरु, कृषि औजार तथा उपकरणहरु, साना सिंचाई पूर्वाधारका साथै उत्पादनोपरान्त तथा कृषि व्यवसाय सेवा, पूर्वाधार निर्माणमा सहयोग गर्दै आएको कार्यालय प्रमुख पोखरेलले बताएका छन् । परियोजना कार्यान्वयन एकाईबाट संचालनमा रहेका विभिन्न बाली बस्तुको उत्पादन तथा उत्पादकत्व बृद्धि, प्रशोधन तथा बजारीकरणमा सहयोग गर्ने उदेश्यका साथ परियोजना संचालनमा रहेको कार्यालय प्रमुख पोखरेलको भनाई रहेको छ ।

व्यवसायिक रुपमा सुन्तला र ओखर खेतीमा आकर्षित हुदै गएका जाजरकोटका किसानहरु मौरी पालन व्यवसायमा पनि त्यतिकै लालाहित भएका छन् । ओखर र सुन्तला खेती र मौरी पालनका लागि जाजरकोट जिल्लाको अनुकुल हावा, पानीले कृषि पेशामा किसानहरुको आकर्षण बढ्दै गएको छ ।

प्रतिकृया दिनुहोस्