Hamro Sanchar

भारी बिसाएर थकाई मेटाउदै महिला किसानहरु

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/३/२९ गते
जाजरकोट

यो तस्वीर जिल्ला सदरमुकाम खलंगाको रानागाउँ स्थित बिपी बाटिका नजिकै खिचिएको हो । मोर्निङ्ग वाक गरिरहेका बिशाल चन्द ठकुरीले यस तस्वीरलाई आफ्नो मोवाईलको क्यामेरामा कैद गरेका थिए ।

बिशाल चन्द ठकुरीको मोवाईलको क्यामेरामा कैद गरिएको उक्त तस्वीर भेरी नगरपालिका–६ भेरेका महिला किसानहरुको हो । बारीमा उत्पादन गरेको कृषि उपजलाई डोकोमा बोकेर खलंगा बजारतिर ल्याउदै गरेको तस्वीरमा महिला किसानहरु मात्र देख्न सकिन्छ । डोकोमा बोकेर ल्याएको तरकारीको भारीलाई विसाएर महिला किसानहरुले थकाई मेटाई राखेको तस्वीरले बताई रहेको छ ।

घरभित्र र घर बाहिर महिलाहरुको कार्यबोझलाई घटाउन महिला अधिकारकर्मी र महिला अधिकारका क्षेत्रमा काम गर्ने संघ÷संस्थाहरुले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएका छन् । बालबालिकाहरुको बृद्धिविकासमा महिलाहरुले प्रयाप्त समय दिन सकुन भन्ने उदेश्य राखेर महिलाहरुको घरभित्र र घरबाहिरको कार्यबोझ घटाउन सरकारले पनि कार्यक्रम केन्द्रित गर्ने गरेको छ । तर, बारीमा उत्पादन गरेको तरकारीलाई विक्रि गर्न भेरेका महिला किसानहरु डोकोमा बोकेर दैनिक खलंगा पुग्ने गरेका छन् । डोकोमा तरकारीको भारी बोकेर भेरेदेखि खलंगा पुग्न त्यहाँका महिलाहरुलाई तीन घण्टाको समय लाग्ने गरेको छ । तरकारीको भारीसंग तीन घण्टामा खलंगा पुगेर घर फर्कन त्यहाँका महिलालाई दुईदेखि साढी दुई घण्टाको समय लाग्ने गरेको छ । खलंगा आउदा जादैमा दैनिक साढी पाँच घण्टाको समय खर्चिने गरेका त्यहाँका महिलाहरुले बाँकी समय घरमा पुगेपछि आ–आफ्ना बालबच्चाको स्यारसम्मार गर्ने, खेती, किसानी र पशुचौपायको लालन पालनमा खर्चिने गरेका छन् ।

खलंगादेखि भेरेसम्म यातायात संचालन गर्न मोटरबाटोको सुविधा नभएको पनि होईन् । खलंगादेखि छिप्रेना, काफलचौर हुदै भेरेसम्म यातायात संचालन गर्न सकिने मोटर बाटोको सुविधा छ । खलंगाको रानागाउँदेखि विपी बाटिका, नेटी बजार हुदै भेरेसम्म यातायात संचालन गर्न सकिने अर्को मोटरबाटोको सुविधा छ तर, सार्वजनिक तथा नीजि यातायात संचालनमा नआउदा त्यहाँका किसानहरुले कृषि उपजको बजारीकरण गर्न सास्ती खेपि रहेका छन् । किसानहरुको कृषि उपजलाई बजारीकरणमा सहजता पैदा गर्न सरकारी अनुदानमा जिल्लाका विभिन्न सहकारीहरुले प्राप्त गरेका ढुवानीका गाडीहरु यात्रुहरु ओसार पसार गर्नमै व्यस्त देखिन्छन । सरकारी अनुदानका ढुवानी गाडीहरु भेरेको तरकारी ढुवानी गर्ने काममा लागेको देखिदैन ।

प्रतिकृया दिनुहोस्