Hamro Sanchar

जन्म दिनमा शिक्षक गौतमद्धारा एक लाख राशीको “शिक्षा सहायता कोष” स्थापनाको घोषणा

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/४/२१ गते
जाजरकोट

शान्ति शिक्षा मन्दीर क्षेत्रपाटी काठमाडौंका प्रधानाध्यापक सुदाम गौतमले एक लाख राशीको “शिक्षा सहायता कोष” स्थापनाको घोषणा गरेका छन् । आफ्नो जन्म दिनको खुशीयालीमा शिक्षक गौतमले एक लाख राशीको “शिक्षा सहायता अक्ष्यकोष” स्थापनाको घोषणा गरेका हुन् ।

शान्ति शिक्षा मन्दीर नमुना विद्यालयलाई कर्मथलो बनाएर काठमाडौं कार्यरत शिक्षक गौतम जाजरकोट नलगाड नगरपालिका–२ का स्थायी बासिन्दा हुन् । ३४ बर्ष पुरागरी ३५ बर्षमा प्रवेश गरेको शुभ–अबसरमा शिक्षक गौतमले सनिबार एक लाख राशीको “शिक्षा सहायता कोष” स्थापनाको घोषणा गरेका थिए ।

आजभन्दा ५ बर्ष पहिला नलगाड नगरपालिकामा दर्ता गरिएको नलगाड डिभेल्पमेन्ट फाउण्डेशनको नाममा “शिक्षा सहायता अक्ष्यकोष” स्थापना गरिने शिक्षक गौतमले बताएका छन् । कोष स्थापना तथा संचालन सम्बन्धि तत्कालै कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याउने तयारीमा जुटेको शिक्षक गौतमले बताएका छन् । उक्त कोषको बार्षिक रुपमा आम्दानी हुने व्याज दरबाट हरेक बर्ष नलगाड नगरपालिका भित्र रहेका अविभावक बिहिन, असहाय, जेहेन्दार, आर्थिक रुपमा विपन्न, शारिरिक रुपमा अपाङ्गता भएका बालबालिकाहरुको पढाई खर्च व्यवस्थापन गर्नुको साथै पठन, पाठनमा उत्कृष्ट विद्यार्थी तथा शिक्षकहरुलाई सम्मान सहित पुरस्कृत गर्ने कार्यमा लगानी गरिने शिक्षक गौतमले बताएका छन् ।

समाज सेवा तथा मानव सेवामा समर्पित गर्ने पवित्र उदेश्य राखेर नलगाड डिभेल्पमेन्ट फाउण्डेशनको दर्ता गरिएको शिक्षक गौतमले जानकारी दिएका छन् । नलगाड डिभेल्पमेन्ट फाउण्डेशनको अध्यक्ष समेत रहेका गौतममले नाफा रहित नलगाड डिभेल्पमेन्ट फाउण्डेशनले नलगाड नगरपालिका विभिन्न विद्यालयहरुमा अध्ययनरत बालबालिकाहलाई विभिन्न समयमा झोला वितरण, कापी, कलम लगाएतका शैक्षिक सामग्री वितरण गर्दै आएको जानकारी दिएका छन् । आगामी असोज महिना भित्रै साधारण सभा गरी नलगाड डिभेल्पमेन्ट फाउण्डेशनको नयाँ गति पैदा गर्ने योजनामा रहेको जानकारी दिदै गौतमले नलगाड डिभेल्पमेन्ट फाउण्डेशनको नाममा स्थापना गरिने “शिक्षा सहायता अक्ष्यकोष” को रकम राशी बृद्धिमा सहयोग गर्न देश तथा विदेशमा रहेका शिक्षा प्रेमी, समाज तथा मानव सेवीहरुलाई अपिल गरेका छन् ।

नलगाड नगरपालिकाको शैक्षिक विकासमा योगदान गर्नुको साथै समाज सेवा र मानव सेवामा अग्रसर रहने उदेश्यले स्थापना गरिएको नलगाड डिभेल्पमेन्ट फाउण्डेशनमा आम युवा विद्यार्थीहरुलाई गोलवन्द हुन गौतमले आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्