Hamro Sanchar

जाजरकोटका ३७ हजार घरधुरीमा विद्युतिकरण गर्न तीन अर्बको ठेक्का सम्झौता

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/५/११ गते
जाजरकोट

जाजरकोट जिल्लाका ७७ वटै वडाका सबै घरधुरीमा विद्युतिकरण गर्न तीन अर्ब लागतको ठेक्का सम्झौता भएको छ । विद्युत प्राधिकरणको प्रसारण लाईन वितरण, विस्तार तथा स्तरोन्नति आयोजनासंग निर्माण कम्पनीले जाजरकोट जिल्लाका सबै घरधुरीलाई विद्युतिकरण गर्न ३ अर्बको ठेक्का सम्झौता गरेको हो ।

जिल्लाका ३७ हजार ४६६ घरधुरीलाई विद्युतिकरण गर्न आयोजनासंग सिइपिएल, एसपिआर, टुण्डी जेभी निर्माण कम्पनीले ३ अर्ब लागतको ठेक्का सम्झौता गरेको आयोजना प्रमुख केशव श्रेष्ठले जानकारी दिएका छन् । दुई बर्षभित्रै जिल्लाका सबै घरधुरीलाई विद्युतिकरण गरिसक्ने गरी ठेक्का सम्झौता भएको आयोजना प्रमुख श्रेष्ठले बताएका छन् ।

आयोजनाले जिल्लामा ७२ किलोमिटर ३३ केभी, १७० किलो मिटर ११ केभी, ३५५ किलोमिटर ४ सय भोल्टको लाइन विस्तार गर्ने नेपाल विद्युत प्राधिकरण जाजरकोट वितरण केन्द्रका प्रमुख अभिषेकराज कलवारले जानकारी दिएका छन । जिल्ला भरी प्रसारण लाईन विस्तार गर्न १३५ वटा ट्रान्सफर्मर जडान गरिने आयोजनाले जनाइएको छ ।

कोहलपुरदेखि सुर्खेतको मैनतडासम्म १३२ केभी प्रसारण लाइन आगामी ८ महिनाभित्रै पु¥याउने लक्ष्य प्राधिकरणले राखेको छ । चालु अवस्थामा रहेको ३२ केभी प्रसारण लाइन १३२ केभी प्रसारण लाइनले विस्थापित गर्ने बताईएको छ ।

१३२ केभी प्रसारण लाइन प्रसा।ण भएपछि मात्र जिल्लामा विद्युत् सेवा भरपर्दो हुने जिल्लाबासीले अपेक्षा राखेका छन् । जाजरकोटको दानी पिपलदेखि सुर्खेतको मैनतडासम्म ४०० केभी प्रसारण लाइन तथा सब स्टेसनको काम यसै आर्थिक वर्षमा सम्पन्न गरिने विद्युत प्राधिकरणले जनाएको छ । १३२ केभी प्रसारण लाइन र चार सय केभी प्रसारण लाइन मैनतडामा जडान गरिने प्राधिकरणको भनाइ छ ।

जिल्लाको पूर्वी भागसंगै तल्लो डोल्पालाई विद्युतीकरण गर्न नलगाडको चौखामा सब स्टेसन निर्माण कार्य चलिरहेको छ । बारेकोट र कुशे गाउँपालिकालाई विद्युतीकरण गर्न समाइला सब स्टेसन निर्माण गर्न ठेक्का खोल्ने कामको अन्तिम चरणमा पुगेको बताईएको छ । त्यस्तै पश्चिम जाजरकोटको छेडागाड नगरपालिका, शिवालय र जुनीचाँदे गाउँपालिकालाई विद्युतीकरण गर्न छेडागाडको वडावनमा सब स्टेसन निर्माण कार्य भईरहेको छ ।

नलगाडको चौखामा निर्माण कार्य सुरु गरिएको सब स्टेसनको निर्माण कार्य सम्पन्न भए लगतै ताँसुगाड जलविद्युत आयोजना निर्माण कार्य अगाडी बढाईने बताईएको छ । ताँसुगाड जलविद्युत आयोजनाले १०६ मेगावाट विद्युत् उत्पादन क्षमता भएको डोल्पाको जगदुल्ला जलविद्युत आयोजनाको निर्माण कार्यमा सघाउने बताईएको छ ।


Tagged
प्रतिकृया दिनुहोस्