Hamro Sanchar

जाजरकोटमा ९ करोड भन्दा बढिको खाद्यन्न भुकम्पले पुरिएर नष्ट

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/८/७ गते
जाजरकोट

जाजरकोट जिल्लामा ९ करोड भन्दा बढि लागतको खाद्यन्न नष्ट भएको छ । गत कातिक १७ गते राति गएको भुकम्पले पुरिएर ९ करोड भन्दा बढि लागतको खाद्यन्न नष्ट भएको हो ।

बारेकोट गाउँपालिका–१ रामिडाडाँलाई केन्द्रविन्दु बनाएर गएको भुकम्पले ९ हजार ७९४ घरहरु पूर्णरुपमा ध्वस्त बनाएको थियो । २४ हजार ७०७ घरहरु बस्न नमिल्नेगरी चर्काएका थियो । पूर्णरुपमा ध्वस्त भएका र बस्न नमिल्नेगरी चर्काएको गरी जम्मा ३४ हजार ५०१ घरहरुमा भण्डारण गरि राखिएको ९ करोड २६ लाख ५८ हजार ९०० लागतको खाद्यन्न नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ ।

६.४ म्याग्निच्युटको भुकम्पले भत्किएका ३४ हजार ५०१ घरहरुमा भण्डारण गरिएको धान, मकै, गहुँ, र कोदो जस्ता अन्न तथा खाद्यन्न पुरिएर नष्ट भएको कार्यालयले जनाएको छ । कार्यालयका सुचना अधिकारी टोपेन्द्र विश्वकर्माले दिएको जानकारी अनुसार भत्किएका घरहरुमा भण्डारण गरिएर राखिएको २८ लाख २८ हजार ७२५ किलो धान, मकै, गहुँ, र कोदो जस्ता अन्न तथा खाद्यन्न पुरिएर नष्ट भएको छ । प्रारम्भिक तथ्याङ्क अनुसार पुरिएर नष्ट भएको खाद्यन्नलाइ मुल्य सुची अनुसार ९ करोड २६ लाख ५८ हजार ९०० लागतको खाद्यन्न नष्ट भएको छ विश्वकर्माले भने– प्रतिकिलो धानको मुल्य ३६, प्रतिकिलो मकैको मुल्य २८, प्रतिकिलो गहुँको मुल्य ४५ र प्रतिकिलो कोदोको मुल्य २५ रुपैयाका दरले नष्ट भएको खाद्यन्नको जम्मा मुल्य रकम ९ करोड २६ लाख ५८ हजार ९०० हुन आएको छ । भुकम्पको प्रभावित क्षेत्रमा भोकमारीको समस्या आउन सक्ने अनुमान गरिएको छ । उक्त भुकम्पबाट जाजरकोट जिल्लामा मात्र प्रत्यक्ष प्रभावित जनसंख्या ९० हजार ५६७ रहेको छ ।


Tagged
प्रतिकृया दिनुहोस्