Hamro Sanchar

अति पीडित कमान खड्काको प्राथमिकतामा

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/८/२५ गते
जाजरकोट

राहत वितरणमा नेकपा (एकीकृत समाजवादी) जाजरकोट अध्यक्ष कमान बहादुर खड्काले अति पीडितलाई पहिलो प्राथमिकतामा राखेका छन् । मृतकका परिवार, सुत्केरी तथा गर्भवति महिला, जेष्ठ नागरिक, भौगलिक विकटता र आर्थिक रुपमा विपन्न नागरिकलाई अध्यक्ष खड्काले राहत वितरण गरेका छन् ।

नेकपा (एस) मार्फत चाईना फाउन्डेसनको राहत सामाग्री मात्र नभएर अध्यक्ष खड्काले आफ्नो व्यक्तिगत लगानीमा खरिद गरिएका त्रिपाल, कम्मल, जकेट, सुइटर, कुर्ती लगाएतका न्यानो कपडाहरु लिएर भुकम्प पीडितहरुको घरदैलोसम्म पुग्ने गरेका छन् । पार्टी सदस्यता संख्या र मतदान केन्द्रमा आफुले प्राप्त गरेको भोट संख्यालाई आधार नबनाई बढि पीडितहरुलाई आधार बनाएर राहत वितरण गर्ने गरेको अध्यक्ष खड्काले दावी गरेका छन् ।

गत कातिक १७ गते मध्ये रातमा गएको भुकम्पबाट सबैभन्दा बढि पीडित मृतकका आफन्तहरु, पूर्णरुपमा घर भत्किएका परिवार, सुनौला हजार दिनभित्रका आमा र बालबालिका, ८० बर्षभन्दा माथिका जेष्ठ नागरिक, कठिन तथा विकट भुगोलका नागरिक र आर्थिक रुपमा विपन्न नागरिकहरु छन् अध्यक्ष खड्काले भने–‘हामी र हाम्रो पार्टीले स्वयमसेवक परिचालन गरेर भत्किएका संरचनाहरुको जोखिम हटाउने, अस्थायी आबास निर्माण गर्ने कामसंगै भुकम्प पीडितहरुलाई राहत वितरण गर्ने काममा अव्यस्त भएका छौं ।’

अध्यक्ष खड्काले भौगलिक रुपमा नलगाड–१ चिउरी, जुरेली, पुवाडाँडा, भेरी नगरपालिका–१ घोयलनेटा, डौरीकाँडा, ११ को कटिगाउँलाई पहिलो प्रामिकतामा राखेर राहत वितरण गरेका छन् । त्यसैगरी मृतकका घरपरिवारमा रहेका स्कुले बालबालिकाहरुलाई प्राथमिकतामा राखेका अध्यक्ष खड्काले स्कुल ड्रेस, कापी, कलम लगाएतका शैक्षिक सामाग्रीको साथै न्यानो कपडाहरु वितरण गरेका छन् । त्यसैगरी कतिपय भवन भत्किएका विद्यालयमा पुगेर अध्यक्ष खड्काले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरेका छन् ।

नलगाड, भेरी र छेडागाड नगरपालिकाका ३ हजार भुकम्प पीडितहरुलाई आफुले राहत वितरण गरेको अध्यक्ष खड्काले जानकारी दिएका छन् । आफु र आफ्नो पार्टीको पहलमा ३० लाख भन्दा बढिको राहत सामाग्री वितरण गरेको अध्यक्ष खड्काले बताएका छन् । अध्यक्ष खड्काले दिएको जानकारी अनुसार आफ्नै व्यक्तिगत लगानीमा राहत सामाग्री खरिद गरेर बारेकोट, कुशे, जुनीचाँदे र शिवालय गाउँपालिकामा अझै एक हप्ता भन्दा बढिको समय लगाएर राहत वितरण गर्ने योजना बनाएका छन् ।

खड्का नेकपा (एस) का जिल्ला अध्यक्ष मात्र नभएर व्यापारी र निर्माण व्यवसायी पनि हुन् । राजनीति, निर्माण तथा व्यापार जस्ता आफ्ना सम्पूर्ण पेशा व्यवसायलाई किनारामा राखेर भुकम्पको पीडाले विच्छिप्त भएका जिल्लाबासीको पीडासंग आफुलाई एकाकार गराउन अझै आफुले एक हप्ता भन्दा बढिको समय राहत वितरणमा विताउने योजनामा रहेको खड्काले बताएका छन् ।

भुकम्पीय विपदले जिल्लाका सामुदायिक रेडियो, पत्रिका, अनलाईन जस्ता संचार गृहमा पुर्याएको क्षेतीप्रति दुःख व्यक्त गर्दै अध्यक्ष खड्काले जिल्लाका भुकम्प पीडित पत्रकारहरुलाई जकेट, कम्मल, प्रेसर कुकर, साबुन, मन्जन लगाएतका राहत सामाग्री हस्तान्तरण गरेका छन् ।


Tagged
प्रतिकृया दिनुहोस्