Hamro Sanchar

बारेकोटमा ५ वटा सडकको स्तरउन्नती गर्ने जिम्मा विश्व खाद्य कार्यक्रमले लियो

१ कुलो मर्मत, १ तटबन्धन र १ घेरावार निर्माणको काम सुरु

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/१०/२३ गते
जाजरकोट

विश्व खाद्य कार्यक्रमले बारेकोट गाउँपालिकामा ५ वटा सडकको स्तरउन्नती गर्ने जिम्मा लिएको छ भने, १ कुलो मर्मत, १ तटबन्धन र १ घेराबारको निर्माण सुरु गरेको छ । स्थानीय पूर्वाधार सहयोग कार्यक्रम मार्फत विश्व खाद्य कार्यक्रमले बारेकोटका उक्त आयोजनाहरु सम्पन्न गर्ने जिम्मा लिएको हो ।

आर्थिक बर्ष २०८०÷८१ को लागि विश्व खाद्य कार्यक्रमले बारेकोट गाउँपालिकाका ५ वटा सडकको स्तर उन्नती गर्न जिम्मा लिएको स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका ईन्जिनियर शैलेस शर्माले जानकारी दिएका छन् । ईन्जिनियर शर्माले दिएको जानकारी अनुसार कार्यक्रमले चालु आर्थिक बर्षमै बारेकोटमा १ विद्युत कुलो मर्मत, १ तटबन्धन र १ घेरावार निर्माण गर्न काम सुरु गरेको छ ।

बारेकोट–३ को वडा कार्यालयदेखि मुल्सामसम्मको सडक निर्माण गर्न स्थानीय पूर्वाधार सहयोग कार्यक्रमले निर्माण समितिसंग ८४ लाख ३३ हजार ७६० को योजना सम्झौता गरी निर्माण कार्य सुरु गरेको छ । वडा नं–७ को स्यालाखोला सडक स्तरउन्नतीमा कार्यक्रमले निर्माण समितिसंग ३२ लाख ४ हजार ३६३ को योजना सम्झौता गरी निर्माण कार्य सुरु गरेको छ । त्यसैगरी वडा नं–७ कै कार्कीज्युलादेखि वडा कार्यालयसम्मको सडक स्तरउन्नती गर्न कार्यक्रमले निर्माण समितिसंग ३१ लाख ९८ हजार ५४९ को योजना सम्झौता गरी निर्माण कार्य सुरु गरेको छ ।

बारेकोट–२ को लिम्सादेखि कुजेखोला हुदै रोकायगाउँ जोड्ने सडक स्तरउन्नती गर्न कार्यक्रमले निर्माण समितिसंग ५२ लाख ६९ हजार ८०० को योजना सम्झौता गरी निर्माण कार्य सुरु गरेको छ । वडा–२ कै सेरी सडक निर्माणमा कार्यक्रमले ३१ लाख ६६ हजार ३८० को योजना सम्झौता गरी निर्माण कार्य सुरु गरेको ईन्जिनियर शर्माले जानकारी दिएका छन् ।

त्यसैगरी कार्यक्रमले बारेकोट–३ को गाग्राखोला लघुजलविद्युत आयोजनाको कुलो मर्मत गर्न निर्माण समितिसंग २८ लाख ५८ हजार ११६ को योजना सम्झौता गरी निर्माण कार्य सुरु गरेको ईन्जिनियर शर्माले बताएका छन् । बारेकोट–४ मा रहेको जडिवुटी भवनको घेराबार गर्न कार्यक्रमले ६ लाख ८९ हजार १३३ को योजना सम्झौता गरी निर्माण कार्य सुरु गरेको छ । बारेकोट–८ को सेपुखोला तटबन्धन निर्माण गर्न कार्यक्रमले निर्माण समितिसंग १९ लाख २६ हजार ८१७ को योजना सम्झौता गरी निर्माण कार्य सुरु गरेको ईन्जिनियर शर्माले जानकारी दिएका छन् ।

स्थानीय पूर्वाधार सहयोग कार्यक्रम मार्फत विश्व खाद्य कार्यक्रमले सडक स्तरउन्नतीको जिम्मा लिएर गाउँपालिकालाई सहयोग गरेको बारेकोट गाउँपालिकाका अध्यक्ष बीर बहादुर गिरीले बताएका छन् । कार्यक्रमले सडक स्तरउन्नतीको काम सम्पन्न गरेपछि बाह्रै महिना गाडी चढ्ने बारेकोट बासीको सपना पुरा हुने अध्यक्ष गिरीले विश्वास व्यक्त गरेका छन् । पालिकाको सडक सञ्जालमा जोडिन नसकेको मुल्सामलाई सडक सञ्जालमा जोड्ने जिम्मा लिएर काम सुरु गरेकोमा अध्यक्ष गिरीले खुशी व्यक्त गर्दै कार्यक्रमलाई धन्यवाद दिएका छन् ।

गाउँपालिकाको प्रशासनिक केन्द्र लिम्सामा विद्युत आपुर्ती गर्दै आएको गाग्राखोला लघुजलविद्युत आयोजनाको कुलो वेला–वेलामा भत्किएर गाउँपालिकाले प्रवाह गर्ने नागरिक सेवालाई प्रभावित गर्ने गरेको बताउदै अध्यक्ष गिरीले कुलो मर्मत गर्ने जिम्मा कार्यक्रमले लिएपछि वेला–वेला आउने गरेको समस्याको स्थायी समाधान हुनेमा विश्वास व्यक्त गरेका छन् ।

सडक निर्माण तथा स्तरउन्नती, नहर तथा कुलो मर्मत, घेराबार निर्माण, तटबन्धन निर्माण लगाएतका आयोजनाहरु निर्माण गर्दै आएको विश्व खाद्य कार्यक्रमले गत बर्ष बारेकोटमा ४ वटा योजना निर्माण गरेको ईन्जिनियर शर्माले जानकारी दिएका छन् । विश्व खाद्य कार्यक्रमले गत कातिक १७ गते मध्ये राति गएको भुकम्पबाट प्रभावित अति विपन्न बारेकोटका ५३५ घरपरिवारलाई १५ हजारको दरले नगद सहायता रकम वितरण गरेको थियो ।

प्रतिकृया दिनुहोस्