Hamro Sanchar

नेपाल रेडक्रस सोसाईटीद्धारा जाजरकोटमा ३५० अस्थायी आबास निर्माण

एक हजार ६२३ घरपरिवालाई बहुउदेश्य नगद सहयोग हस्तान्तरण

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/११/५ गते
जाजरकोट

नेपाल रेडक्रस सोसाइटीले जाजरकोटमा ३५० वटा अस्थायी आबास निर्माण गरेको छ । नेपाल रेडक्रस सोसाइटीले जाजरकोटका ३५० भुकम्प प्रभावितहरुको अस्थायी आबास निर्माण गरेको हो ।

९ महिनाको लागि अन्तर्राष्ट्रिय रेडक्रस महासंघको आर्थिक सहयोगमा “कर्णाली भुकम्प प्रतिकार्य कार्यक्रम” संचालन गरेको नेपाल रेडक्रस सोसाईटीले जाजरकोट जिल्लाका सात पालिका र ७७ वटा वडाहरुको भुकम्पीय क्षेतीको द्रुत सर्वेक्षण, विस्तृत अध्ययन सर्वेक्षण, गैर खाद्य विभिन्न राहत सामाग्रीहरु वितरण गरेको छ । टेन्ट, त्रिपाल, ब्लाङकेट, विस्तरा, डोरी, बाल्टिन, किशोरी किट, सरसफाइ सम्बन्धिका सामाग्री, सोलार बत्ति लगाएतका १२ प्रकारका ४ करोड, ४५ लाख, ८५ हजार ६०० लागतको राहत सामाग्री वितरण गरेको “कर्णाली भुकम्प प्रतिकार्य कार्यक्रम” संयोजक प्रकाश कार्कीले जानकारी दिएका थिए ।

अस्थायी आबास निर्माण, सरसफाई, स्वास्थ्य, सामुदायिक संलग्नता, जवाफदेहीता संरक्षण तथा लैङ्गिक सामावेशिकरणका क्षेत्रमा काम गर्न “कर्णाली भुकम्प प्रतिकार्य कार्यक्रम” लाई जिल्ला विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन समितिले भेरी नगरपालिका दिएको थियो । नगर विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन समितिले दिएको कार्यक्षेत्र अनुसार वडा नं. १ का २५० र वडा नं. ३ का १०० गरी जम्मा ३५० घरधुरीमा कार्यक्रमले अस्थायी आबास, शौचालय निर्माण गर्नुको साथै पानी टंकीको व्यवस्था गरेको कार्यक्रम संयोजक कार्कीले जानकारी दिए ।

त्यसैगरी कार्यक्रमले भेरी नगरपालिका वडा नं. १ मा ६३३, वडा नं. २ मा ६९० र वडा नं. ३ मा ३०० गरी जम्मा एक हजार ६२३ घरपरिवारमा प्रतिपरिवार १५ हजारका दरले बहुउदेश्य नगद सहयोग गरेको संयोजक कार्कीले बताएका छन् । अस्थायी आबासको लागि ५० हजार, शौचालयको लागि १५ हजार, पानी टंकीको लागि ७ हजार र बहुउदेश्य नगद सहयोग १५ हजार गरी प्रति परिवारमा ८७ हजारको प्याकेज रहेको कार्कीले जानकारी दिएका थिए । अस्थायी आबास, शौचालय, खानेपानी टंकी र बहुउदेश्य नगद सहयोगका क्षेत्रमा नेपाल रेडक्रस सोसाइटीले ४ करोड ४२ लाख ९५ हजार खर्च गर्ने लक्ष्य लिएको संयोजक काकीले वताएका छन् । अस्थायी संरचना निर्माण सम्बन्धि वडा नं १ मा ९८ प्रतिशत, वडा नं. ३ मा ९७ प्रतिशत काम सम्पन्न भएको नेपाल रेडक्रस सोसाइटी जाजरकोटले जनाएको छ ।

अस्थायी आबास सहितका विभिन्न संरचनाहरु निर्माण गर्न नेपाल रेडक्रस सोसाइटीले “कर्णाली भुकम्प प्रतिकार्य कार्यक्रम” संचालन गरेको जानकारी दिदै जिल्ला शाखा, जाजरकोटका सभापति हरि बहादुर बस्नेतले ९ महिनापछि उक्त कार्यक्रमको समय सकिने बताएका थिए । कार्यक्रमको समय सकिए लगतै नेपाल रेडक्रस सोसाइटीले पुर्ननिर्माण सम्बन्धिको कार्यक्रम संचालन गर्ने तयारीमा रहेको सभापति बस्नेतले जानकारी दिए ।

राष्ट्रिय जनगणना–२०७८ अनुसार ३७ हजार ४६६ घरधुरी रहेको जाजरकोट जिल्लामा गत कातिक १७ गतेको भुकम्प पछि ४५ हजार ८६८ घरधुरी संख्या पुगेको नेपाल रेडक्रस सोसाइटीले जनाएका छ । जाजरकोट जिल्लाका ४५ हजार ८६८ घरधुरी संख्या मध्ये गत कातिक १७ गतेको भुकम्पले २४ हजार १७७ पूर्णरुपमा, १३ हजार ६८४ बस्न नमिल्ने र ८ हजार ७ घर सामान्य क्षेती भएको नेपाल रेडक्रस सोसाइटीले संकलन गरेको तथ्याङ्कमा देखाईएको छ ।

भुकम्पीय विपद व्यवस्थापन तथा प्रतिकार्यको लागि नेपाल रेडक्रस सोसाइटीले हालसम्म संचालन गरेका कृयाकलाप तथा कार्यप्रगतिको जानकारी गर्न शुक्रबार जिल्ला स्तरीय समन्वय बैठकको आयोजना गरिएको थियो । उक्त बैठकमा जिल्ला समन्वय समितिका प्रमुख काली बहादुर खत्री, भेरी नगरपालिकाका उपप्रमुख सिता जैसी, प्रमुख जिल्ला अधिकारी सुरेश सुनार लगाएत विभिन्न कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुख तथा प्रतिनीधि, विकास साझेदार निकायका प्रमुख तथा प्रतिनीधि, नागरिक समाज, पत्रकारहरुको सहभागिता रहेको थियो ।


Tagged
प्रतिकृया दिनुहोस्