Hamro Sanchar

प्रेस काउन्सिल नेपालद्धारा भुकम्प प्रभावित पत्रकारलाइ इन्टरनेटमा सहुलियत प्रदान

प्रकाशित : २०८१/१/१३ गते

जाजरकोट
जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित पत्रकार तथा सञ्चार माध्यमलाई प्रेस काउन्सिल नेपालले इन्टरनेटमा सहुलियत प्रदान गरेको छ । मिडिया विकास कोष अन्तरगत एक सय भन्दा बढि पत्रकार तथा सञ्चारगृहलाई प्रेस काउन्सिले इन्टरनेट शुल्क बापत ६ लाख रुपैयाँ सहयोग गरेको हो ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सदस्य ठाकुर बेल्वासे सहितको टोलीले जाजरकोट र रुकुम पश्चिममा पुगेर सहायता प्रदान गरेको थियो । काउन्सिलका पदाधिकारी तथा कर्मचारीको तर्फबाट नेपाल सरकार भुकम्प प्रभावित राहत कोषमा तीन दिनको तलब योगदान गरेको अध्यक्ष बस्नेतले बताएका थिए । भूकम्प प्रभावित पत्रकारको साथमा काउन्सिल रहेको भन्दै उनले मिडिया विकास कोषबाट लाभ लिन सवै जिल्लाका पत्रकारलाइ आग्रह गरेका थिए । दुरदराजमा बसेर गरिएको पत्रकारिताले साँच्चिकै समाज रुपान्तरणका लागि ठुलो सहयोग पुगेको उनको भनाइ थियो ।

मिडिया विकास कोष सहायता वितरण कार्यक्रममा अध्यक्ष बस्नेतले काउन्सिलले छिट्टै मिडिया हाउसको सूचिकृत प्रक्रिया अनलाइनबाट गर्न लागेको जानकारी दिए । काउन्सिलले रुकुमपश्चिमका १९ जना पत्रकार, ८ वटा सामुदायिक रेडियो एफएम र ६ वटा छापा तथा अनलाइन पत्रिकालाई सहुलियत वितरण गरेको छ । त्यसैगरी जाजरकोटका २४ जना पत्रकार, ५ वटा सामुदायिक रेडियो एफएम र १० वटा अनलाइन तथा छापा माध्यमलाई सहुलियत वितरण गरिएको काउन्सिलका शाखा अधिकृत महेन्द्रराज सिंहले जानकारी दिएका छन् । काउन्सिलले जाजरकोट र रुकुमपश्चिम जिल्लाका सञ्चार गृहको अनुगमन तथा निरीक्षण गर्नुका साथै आचारसंहिता जागरण सञ्चालन गरेको थियो ।

गत कात्तिक १७ गते मध्येराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाइ गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमका पत्रकार तथा सञ्चारगृहहरु प्रभावित भएका थिए । सामुदायिक रेडियो एफएम, अनलाईन तथा पत्रिकाको प्रकाशन तथा प्रसारण केही समयको लागि अबरुद्ध भएका थिए । केही समयपछि टेन्टबाट प्रसारण सेवा सुरु गरिएका सामुदायिक रेडियो एफएमहरु अहिले पनि एउटै टावर र एउटै घरको कोठाबाट दुई वटा रेडियो संचालनमा रहेका छन् ।

 

 


Tagged
प्रतिकृया दिनुहोस्