Hamro Sanchar

दिपेन्द्र मावि कुशे–६ घरङ्गामा सार्वजनिक परीक्षण

प्रकाशित : २०८१/३/१ गते

जाजरकोट
कुशे गाउँपालिका–६ घरङ्गा स्थित दिपेन्द्र माध्यामिक विद्यालयमा सार्वजनिक परीक्षण गरिएको छ । सामाजिक विकास कार्यालय, जाजरकोटको आयोजनामा बुधबार दिपेन्द्र मावि कुशे–६ घरङ्गामा सार्वजनिक परीक्षण गरिएको हो ।

आब २०८०÷०८१ मा संचालित विद्यालय पूर्वाधार विकास आयोजनाहरुको सामाजिक विकास कार्यालय, जाजरकोटले सार्वजनिक परीक्षण गर्ने क्रममा बुधबार दिपेन्द्र मावि घरङ्गामा सार्वजनिक परीक्षण गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर बहादुर शाहीको अध्यक्षतामा आयोजना गरिएको उक्त सार्वजनिक परीक्षण कार्यक्रममा जवाफदेही सरकार र जिम्मेवार नागरिक बनाउन सार्वजनिक परीक्षण कार्यक्रमको आयोजना गरिएको नागरिक समाज, जाजरकोटका संयोजक राजेन्द्र विक्रम शाहले भनाई राखेका थिए । सार्वजनिक सरोकारका बिषयमा हरेक नागरिकले जान्न र बुझ्न पाउने अधिकारको व्यवस्था नेपालको संविधान र कानुनले गरेको बताउदै सार्वजनिक परीक्षण कार्यक्रमका सहजकर्ता समेत रहेका शाहले नागरिक गुनासोलाई कम गर्न सार्वजनिक परीक्षण गर्ने गरिएको बताएका थिए । विद्यालय पूर्वाधार निर्माण प्रक्रियाको जानकारी लिनुको साथै पूर्वाधार निर्माणमा गुणस्तरीयता कायम गर्न सार्वजनिक परीक्षण कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्नेमा शाहले विश्वास व्यक्त गरेका थिए । आयोजनाको पारदर्शिता कायम गर्नुको साथै सुशासन प्रवद्र्धन गर्न सार्वजनिक परीक्षण कार्यक्रमको भुमिका माथि रहने शाहले बताएका थिए ।

यस बर्ष घरङ्गाको दिपेन्द्र माविमा बनेको ४ कोठे भवनको कुल लागत ५० लाख रहेको जानकारी दिदै सामाजिक विकास कार्यालयका ईन्जिनियर प्रेम बहादुर नेपालीले २.५ प्रतिशत कन्टन्जेन्सी, १.५ प्रतिशत कर कट्टी गरी बाँकी हुन आउन सबै रकम कार्यालयले विद्यालयको खातामा भुक्तानी दिने व्यवस्था गरेको जानकारी दिएका थिए ।

उक्त सार्वजनिक परीक्षण कार्यक्रममा आफ्नो भनाई राख्दै कुशे गाउँपालिका–६ का वडा अध्यक्ष धन बहादुर सिंहले संघीयता कार्यान्वयन पछिनै गाउँको विकासले गति लिएको जानकारी दिदै, कुशे गाउँपालिकामा पहिलो पटक आयोजना गरिएको सार्वजनिक परीक्षण कार्यक्रमले जनता र सरकारका बीचमा रहेको दुरीलाई हटाउनेमा विश्वास व्यक्त गरेका थिए ।

उक्त सार्वजनिक परीक्षण कार्यक्रमका सहभागीहरुले विद्यालयले कार्यालयसंग सम्झौता गरेपश्चात भवन निर्माणको काम सुरु गर्नु पहिले अविभावकहरुको भेला गरि उक्त भवनको लागत स्टामेटको जानकारी गराउनुको साथै कामदारहरुको ज्याला निर्धारण गरिएको भनाई राखेका थिए । तराइका जिल्लालाई आधार बनाएर कर्णाली प्रदेशका सबै जिल्लामा एउटै लागु हुनेगरी बनाईएको लागत स्टामेटलाइ परिवर्तन गर्नुपर्ने सहभागीहरुले भनाई राखेका थिए ।

दिपेन्द्र माध्यामिक विद्यालय कुशे–६ घरङ्गाका प्रधानाध्यापक दिप बहादुर शाहीले उक्त विद्यालय भवन निर्माण गर्दा देखिएका चुनौति, आएका समस्याका बिषयमा भनाई राखेका थिए । सार्वजनिक परीक्षणको अन्तमा ४ बुँदे सामुहिक प्रतिवद्धता पत्रमा हस्ताक्षर गरिएको थियो ।


Tagged
प्रतिकृया दिनुहोस्