News Portal

खुल्लाचौरमा पढ्नुपर्ने बाध्यताबाट जाजरकोट प्राविधिक शिक्षालयका बिद्यार्थीहरु मुक्त

भेरी नगरपालिकाले निर्माण गर्यो अस्थायी पूर्वाधार र खानेपानी योजना

१०२१ पटक

भेरी नगरपालिकाले जाजरकोट बहुप्राविधक शिक्षालयको अस्थायी पूर्वाधार तथा खानेपानी योजना निर्माण गरेको छ । २५ लाख ३५ हजार लागतमा भेरी नगरपालिकाले जाजरकोट बहुप्राविधक शिक्षालयको ट्रष्ट भवन निर्माण गरेको छ भने, २० लाख २९ हजार ९५९ रुपैया लागतमा खानेपानी योजना निर्माण गरेको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले भेनपा–५ काफलचौरमा संचालन गरेको जाजरकोट बहुप्राविधिक शिक्षालयको नगरपालिकाले २५ लाख ३५ हजार लागतमा अस्थायी पूर्वाधार निर्माण गरेको छ । प्राविधिक शिक्षालयको व्यवस्थापन समिति मार्फत निर्माण गरिएको तीन कोठे ट्रष्ट भवन निर्माण भएपछि शिक्षालयका विद्यार्थीहरुले खुल्लाचौरमा पढ्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् । ३ बर्ष अघि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट संचालनको स्विकृती पाएको जाजरकोट बहुप्राविधिक शिक्षालयले भवन तथा पुर्वाधार बिना नै गत पुसदेखि पठनपाठन संचालन गर्दै आएको आएको थियो । भवन बिना नै संचालन गरिएको प्राविधिक शिक्षालयका विद्यार्थीहरु खुल्ला चौरमा कार्पेट विछ्याएर सिकाई गरी रहेका थिए भने, शिक्षकले बाँसको पोलमा सेतोपाटी झुण्ड्याएर पढाई गरिरहेका थिए ।

नगरपालिकाले शिक्षालयको तीन कोठे ट्रष्ट भवन निर्माण गरिदिएपछि बर्षात हुदा र चर्को घाम लाग्दा शिक्षालयको पढाई बन्द गर्नुपर्ने अबस्थाको अन्त्य भएको भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्तीले बताएका छन् । २२ रोपनी जग्गा बाहेक अरु कुनैपनि भौतिक पूर्वाधार बिनानै संचालन गरिएको प्राविधिक शिक्षालयमा पहिलो वर्ष वन विज्ञानमा ३७, सिभील ईन्जिनियरीङ्ग ४८ र पशु विज्ञान तर्फ २९ जना विद्यार्थीहरुले अध्ययन गरीरहेको शिक्षालय प्रमुख दानबहादुर ठकुरीले बताएका छन् । भवन र फर्निचर अभावमा प्राविधिक शिक्षालयले ल्याब प्रयोग गर्न सकिरहेको थिएन् । शौचालय नहुदा दिसा पिसाबको लागि जंगल धाउनुपर्ने, खानेपानीको अभावमा एक घण्टाको पैदल यात्रा गर्नुपर्ने अबस्थाको अन्त्य भएको नगर प्रमुख घर्तीले बताएका छन् ।

काफलचौरमा रहेको जाजरकोट बहुप्राविधिक शिक्षालय र बिजय माध्यामिक बिद्यालयमा २ वटा संयुक्त धारा संचालन हुनेगरी नगरपालिकाले खानेपानी योजना सम्पन्न गरेपछि घण्टौ समय लगाएर गांग्रीमा बोकेको पानी पिउनुपर्ने बाध्यता हटेको छ । प्राविधिक शिक्षालयमा ५ वटा र माविमा ५ वटा धारा एक साथ चल्नेगरी २ वटा संयुक्त धारा निर्माण भएको ईन्जिनियर नवराज शर्माले जानकारी दिएका छन् । वडा नम्बर ६ को भेरेमा रहेको खानेपानी मुहानबाट काफलचौरसम्म ८ किलोमिटर खानेपानी योजनाको लम्बाई रहेको छ ।

नेपाल सहरी शासकीय क्षमता एवं पूर्वाधार परियोजना (ल्ग्न्क्ष्ए) को २० लाख २२ हजार ९५९ रुपैया लागतमा मुहानमा ईन्टेक, एक ट्याङ्की र दुई वटा संयुक्त धारा निर्माण गर्नुको साथै ८ किलोमिटर पाईप लाईन खन्नुको साथै पुर्ने काम सम्पन्न भएको ईन्जिनियर शर्माले बताए । उक्त खानेपानी योजनाको लागि खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालयले ३२ र २५ एमएमको ८ हजार मिटर पाईप सहयोग गरेको ईन्जिनियर शर्माको भनाई रहेको छ । भेरेबाट काफलचौर पुर्याईएको पानीको क्षमता २४ घण्टामा १२ हजार ३०० लिटर रहेको प्राविधिकहरुले बताएका छन् ।

तीन बर्षमा ११ करोड खर्च गर्ने लक्ष्य लिएको नेपाल सहरी शासकीय क्षमता एवं पूर्वाधार परियोजना (ल्ग्न्क्ष्ए) ले चालु आर्थिक बर्षमा भेरी नगरपालिकामा १० प्रतिशत बजेट खर्च गर्ने भएको छ । १० प्रतिशतले हुन आउने १ करोड १४ लाख ७३ हजार ७६९ रुपैयाको बजेटबाट परियोजनाले चालु आवमा ६ वटा योजना सम्पन्न गर्ने भएको छ । परियोजनाले चालु आबमा सम्पन्न गर्ने योजनामा १९ लाख १४ हजार १८० रुपैया लागतमा भेनपा–३ को कर्भड हलदेखि जिल्ला अदालतसम्म सडक निर्माण, २० लाख २२ हजार ९५९ रुपैया लागतमा भेनपा–५ काफलचौर स्थित बहुँप्राविधक शिक्षालय खानेपानी योजना निर्माण, १९ लाख ९९ हजार ५४५ रुपैया लागतमा भेनपा–६ पाल्तेदेखि समालपाखा दहटोलसम्म सडक मर्मत तथा तटबन्ध निर्माण, १९ लाख ८३ हजार ६३४ रुपैया लागतमा भेनपा–७ मिथेङ्ग्रामा खड्केखोला खानेपानी योजना निर्माण, १९ लाख ७४ हजार ७२४ रुपैया लागतमा भेनपा–७ स्याउली बजारमा तटबन्ध निर्माण, १४ लाख ९८ हजार ७२७ रुपैया लागतमा भेनपा–१० सेरीपाखामा पौरी–सेरीपाखा खानेपानी योजना मर्मत गर्ने भएको छ ।

विश्व बैंकको आर्थिक सहयोगमा संचालित नेपाल सहरी शासकीय क्षमता एवं पूर्वाधार परियोजना (ल्ग्न्क्ष्ए) देशभरीका १२ वटा स्थानीय तहमा मात्र संचालित परियोजना हो । कर्णाली प्रदेशको रुकुमपश्चिमको मुसिकोट नगरपालिका र जाजरकोटको भेरी नगरपालिकामा मात्र संचालित परियोजनाले जाजरकोटको भेरी नगरपालिका छनौट गर्नुमा नगरप्रमुख चन्द्र प्रकास घर्तीको बिशेष भुमिका रहेको बुझिएको छ ।

परियोजनाले संचालन गरेका योजनाहरुको निर्माण कार्यमा सहभागी गराईने श्रमिकहरु कोभिड–१९ संक्रमण भएर सन्चो भएका व्यक्ति वा परिवारका सदस्य, कोरोना संक्रमणबाट मृत्यु भएका परिवारका सदस्यलाई पहिलो प्राथमिकतामा राखेको भेरी नगरपालिकाले जानकारी दिएको छ । त्यसैगरी ३० प्रतिशत अनिबार्य महिला श्रमिक हुनुपर्ने, सम्बन्धित वडाबासी हुनुपर्ने, आर्थिक हिसाबले विपन्न, अपाङ्ग, एकल महिला, दलित, अल्पसंख्यक, आदिबासी, जनजाति, विदेशबाट फर्केका व्यक्ति तथा परिवार सदस्य, वडा कार्यालयको बेरोजगारको सुचीकृत व्यक्ति हुनुपर्ने नगरपालिकाले बताएको छ । परियोजनाबाट संचालन गरिएका सबै योजनाहरुमा जनश्रमदान गर्नु नपर्ने मापदण्ड रहेको छ ।

प्रतिकृया दिनुहोस्