News Portal

घरघरमै खानेपानी धारा र शौचालय बनेपछि भुकम्प पीडित खुशी

डिजिटल संचार संवाददाता२०८१ पौष २८
१३१ पटक

जाजरकोट
रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाका वडानं. ११, १३ र १४ मा एक घर एक धाराको अबधारणा अनुसार खानेपानी योजना निर्माण गरिएको छ । खानेपानी धारासंगै घरघरमा शौचालय बनेपछि भुकम्प पीडितहरु खुशीले गद्गद भएका छन् ।

गत बर्ष गएको जाजरकोट भुकम्पबाट आठबिसकोट नगरपालिकाका यिनै वडाले सबैभन्दा बढि मानविय तथा भौतिक क्षेति व्यहोर्नु परेको थियो । पृथ्वीको लागि सबै भन्दा ठुलो विपदनै भुकम्प भएको हुदा गत बर्षको भुकम्पले मानव निर्मित आबास, सडक, खानेपानी, सिंचाइ लगाएतका संरचनाहरु भत्किएका थिए । खानेपानीका मुहानहरु एक ठाउँबाट अर्को ठाउँमा सरेका थिए । कतिपय ठाउँमा मुहाननै सुकेका थिए ।

गत बर्षको भुकम्पले मानव निर्मित सबै संरचनाहरु ध्वस्त भएपछि पानी विनाका निपाने बनेका मानव बस्तिहरु भेरी नदीबाट गाग्रीमा बोकेर दुषित पानी पिउन बाध्य भएका थिए । भुकम्पले चिराचिरा परेको आठबिसकोट नगरपालिका–११–१३ र १४ नम्बर वडामा संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ) को आर्थिक सहयोगमा मेसि कोप्र्स नेपाल र पहाडी क्षेत्र विकास अभियान, जाजरकोटको प्राविधिक सहयोगमा एकीकृत पुनर्लाभ कार्यक्रम संचालन भएको थियो ।

कार्यक्रमले आठबिसकोटको वडा नं. ११, १३ र १४ मा १४ वटा खानेपानी योजना निर्माण गरेको पहाडी क्षेत्र बिकास अभियान, जाजरकोटका कार्यक्रम संयोजक रत्न डाँगीले जानकारी दिए । कार्यक्रम संयोजक डाँगीले दिएको जानकारी अनुसार १४ वटा खानेपानी आयोजनाबाट १ हजार ६६ घरधुरीमा रिडिङ्ग मेशिन जडित धारा निर्माण गरिएको छ । ९ वटा विद्यालयमा बालमैत्री खानेपानी धारा निर्माण गर्नुको साथै छात्रा तथा अपाङ्गतामैत्री शौचालय निर्माण गरिएको छ । विद्यालयमा निर्माण गरिएका बालमैत्री खानेपानी धारा, छात्रा तथा अपाङ्गता मैत्री शौचालयबाट २ हजार २३३ जना विद्यार्थीहरु लाभाम्बित भएको कार्यक्रम संयोजक डाँगीले बताए । त्यसै गरी कार्यक्रमले उक्त तीन वटा वडामा ७०० नीजि शौचालय मर्मत र ४९० नीजि शौचालय निर्माणमा सहयोग गरेको कार्यक्रम संयोजक डाँगीले बताएका छन् ।

रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाका उप–प्रमुख धन कुमारी शाही सहितको टोलीले सनिबार विहानै देखि बेलुकासम्म एकीकृत पुनर्लाभ कार्यक्रमले निर्माण गरेका खानेपानी योजना, विद्यालय तथा नीजि धारा, शौचालयहरुको अनुगमन गरेको थियो । वडानं. ११ को चौर स्थित समावेशी टोलबाट सुरु गरिएको अनुगमन फारुल्ला, चिसापानी, भल्म, बाँके ज्युलासम्मका खानेपानी आयोजना, मर्मत तथा नवनिर्मित शौचालयहरुको अनुगमन गरिएको थियो ।

आठबिसकोट–११ को छ्यारछ्यारे सामावेशी खानेपानी तथा सरसफाइ आयोजना महिलाहरुमात्र उपभोक्ता समितिमा बसेर निर्माण गरिएको आयोजना हो । उपभोक्ता समितिमा महिलाहरु मात्र बसेर निर्माण गरिएको छ्यारछ्यारे सामावेशी खानेपानी आयोजना नमुना आयोजनाका रुपमा रहेको स्थानीय कपिलदेव शर्माले भनाइ राखेका थिए ।

आयोजना निर्माण पश्चात खानेपानीको अभावमा बर्षाको उर्लिदो भेलको दुषित भेरी नदीको पानी गाग्रीमा बोकेर खानुपर्ने अबस्थाको अन्त्य भएको आयोजना उपभोक्ता समितिका अध्यक्ष लाल कुमारी खड्काले भनाइ राखेकी थिइन् । भुकम्पले क्षेतविच्छेद भएको समावेशी टोलको तर्फबाट केपिलदेव शर्माले नगर उपप्रमुख शाहीसंग थोरै गुनासो त धेरै भरोसामुलक भनाइ राखेका थिए । फारुला चिसापानी खानेपानी आयोजनाको उपभोक्ता समितिका अध्यक्ष दयाराम घर्तीले पानीको अभावमा छट्पटाइ रहेका भुकम्प प्रभावित बस्तिहरुमा खानेपानी आयोजना निर्माणको लागि सहयोग गर्ने सहयोगी दाता, विकास साँझेदार निकाय, स्थानीय तह र जनप्रतिनीधिहरुलाइ धन्यवाद दिएका थिए ।

कहालीलाग्दो भुकम्पीय विपदको वेला नगरबासी सबैको घरदैलोमा पुग्न नसकेकोमा दुख व्यक्त गर्दै उपप्रमुख धन कुमारी शाहीले भुकम्पले भत्किएका संरचनाहरुको पुनर्निर्माणमा सहयोग गर्ने युनिसेफ, पहाडी क्षेत्र विकास अभियान, मेसि कोप्र्स नेपाल लगाएतका सबै साँझेदार निकायलाइ धन्यवाद दिएकी थिइन् । भुकम्पले ढलेका संरचनाहरुलाइ उठाउन नगरपालिका र सरकारले मात्र नसक्ने बताउदै उपप्रमुख शाहीले साँझेदार निकायसंगको सहकार्यलाइ निरन्तरता दिने भनाइ राखेकी थिइन् ।

वडा नं. ११ का वडा अध्यक्ष प्रेम बहादुर पुन, १३ का वडाअध्यक्ष टेक बहादुर थापा, १४ का वडाअध्यक्ष हुकुम बहादुर पुनले आयोजना निर्माणमा सहयोग गर्ने दातृ निकायलाइ धन्यवाद दिएका थिए । वडाबासीलाइ खानेपानी खुवाउन समयमै योजनाको निर्माण कार्य पुरा गर्ने निर्माण तथा उपभोक्ता समितिप्रति खुशी व्यक्त गरेका थिए ।

त्यसैगरी पहाडी क्षेत्र विकास अभियान, जाजरकोटका अध्यक्ष प्रदिप जंग शाह, कार्यकारी निर्देशक रण बहादुर कार्कीले आयोजनालाइ दिगोपनको लागि मर्मत तथा सम्मारको लागि महत्वपूर्ण सुझावहरु दिएका थिए ।

उक्त अनुमनमा आठबिसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गौतम, प्रशासन सहायक त्रिपुरा चन्द मल्ल लगाएतको टोली सहभागी भएको थियो ।

प्रतिकृया दिनुहोस्