Hamro Sanchar

भेरी नगरपालिकाको प्राथमिकतामाः– विपन्न नागरिकलाई निशुल्क स्वास्थ्य बीमा, निशुल्क कानुनी सेवा, नगर बस संचालनमा ल्याउने

डिजिटल संचार संवाददाता प्रकाशित : २०७९/३/१३ गते

भेरी नगरपालिकाले ११ औं नगरसभामा ६८ करोडको बजेट प्रस्तावित गरेको छ । शुक्रवार प्रस्तुत गरिएको बजेट तथा नीति, कार्यक्रममा विपन्न नागरिकहरुलाई भेरी नगरपालिकाले निशुल्क कानुनी सेवा दिनुको साथै स्वास्थ्य बीमा गर्ने भनिएको छ ।

भेरी नगरपालिकाका नगर उपप्रमुख सिता जैसीद्धारा ११ औ नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमा विपन्न नागरिकहरुलाई निशुल्क स्वास्थ्य बीमा गर्नुको साथै निशुल्क कानुनी सेवा संचालन गरिने उल्लेख गरिएको छ । त्यसैगरी उक्त नीति तथा कार्यक्रम र बजेटमा दरबन्दी कायम गरी नगर प्रहरी नियुक्ति गर्ने, नगर बस संचालन ल्याउनुको साथै अटो रिक्सा संचालनको अनुमति दिने जस्ता नीति तथा कार्यक्रमहरु प्रस्तुत गरिएको छ ।

नगरप्रमुख चन्द्रप्रकाश घर्तीको अध्यक्षतामा सुरु भएको ११ औं नगरसभामा आगामी आर्थिक बर्षका लागि नगरपालिकाले ६८ करोड ४० लाख ३१ हजार ८ सय ५० रूपैयाँको बजेट प्रस्तुत गरिएको छ । जसमा ९ करोड ८ लाख पुँजीगत तर्फको बजेट रहेको छ भने, चालुतर्फ ५ लाख ४० हजार विनियोजन गरिएको छ । नेपाल सरकारबाट वित्तिय समानीकरण अनुदान १२ करोड ६० लाख, सशर्त अनुदान चालुतर्फ २७ करोड ५ लाख, राजश्व बाँडफाँडबाट ११ करोड ६७ लाख ४९ हजार, बिशेष अनुदान २० लाख गरी जम्मा ६० करोड ६० लाख ४९ हजार रहेको छ भने, कर्णाली प्रदेश सरकारबाट वित्तिय समानीकरण अनुदान १ करोड २८ लाख ४५ हजार, राजश्व बाँडफाँडबाट १० लाख ९७ हजार ८ सय ५०, सशर्त अनुदान पुँजीगत ४ करोड ७० लाख गरि जम्मा ६ करोड ८४ लाख ३९ हजार ८ सय ५० रहेको छ । नगरपालिकाको आफ्नै आन्तरिक श्रोतबाट १ करोड ६५ लाख आम्दानी हुने अनुमान गरिएको छ ।

भौतिक पूर्वाधार तर्फ सात वटा वडा कार्यालय भवन निर्माण, बाह्रै महिना चल्नेगरी सडकको स्तरोन्नती गर्ने, खानेपानी, ढलनिकास जस्ता योजनाहरुको निर्माण गर्ने नीति तथा कार्यक्रम अनुसारको योजना छनौट गरी बजेट विनियोजन गरिएको छ । नगर अस्पताल, रंगशाला, कर्भड हल निर्माण क्रमागत योजनालाई निरन्तरता दिने व्यवस्था गरिएको छ । विपद ब्यवस्थापनका लागि आकस्मिक कोष स्थापना, बालबालिकासँग मेयर, महिलासँग उपमेयर, मेयर स्वास्थ्य घुम्ती शिवीर, बालमैत्री नगरपालिका, जातिय छुवाछुत तथा भेदभावमुक्त नगरपालिका, पूर्ण सरसफाईयुक्त नगरपालिका घोषणा अभियानलाई निरन्तरता दिने भनिएको छ ।

आर्थिक विकास तर्फ पर्यटनको विकास, सित भण्डारण, हाट बजार स्थापना, जैविक मल उत्पादन जस्ता नयाँ योजनालाई समावेश गरिएको छ भने, किसानहरुको लागि निशुल्क कल सेन्टरलाई निरन्तरता दिने भनिएको छ । नगर विकास गुरुयोजना निर्माणलाई नगर सभामा प्रस्तावित गरिएको छ ।

 

भेरी नगरपालिकाको ११ औं नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेटको पूर्णपाठ

प्रतिकृया दिनुहोस्